काठमाडौं। शिक्षामा वैकल्पिक अभ्यास गरिरहेकाहरुको इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा हुने भएको छ। इकोभर्सिटीज अलायन्सको एसियाली भेला २०८१ वैशाख २९ देखि जेठ २ गतेसम्म हुने भएको हो।
उक्त भेला पहिलो दिन काठमान्डौंस्थित किङ्स कलेजमा हुनेछ भने बाँकी ४ दिन धादिङस्थित रोयल बिच क्याम्पमा हुनेछ। यो भेला इकोभर्सिटिज अलायन्स, किङ्स कलेज र कम्युनिभर्सिटी नेपालले संयुक्त रुपमा आयोजना गर्नेछन्। भेला कुनै खाकामा नबाँधीकन सरल रुपमा सञ्चालन हुने बताइएको छ।
इकोभर्सिटिज अलायन्स आजको मूलधारको शिक्षालाई पुनः परिकल्पना गरिनु पर्दछ भन्ने उद्देश्यले विभिन्न पहल गरिरहेका विश्वभरिका अभियन्ताहरुको समूह हो। यस समुहमा विभिन्न अभ्यासकर्ता संस्था र व्यक्तिहरु आवद्ध रहेका छन्। उनीहरु अहिले संसारमा व्याप्त आर्थिक, राजनीतिक र सामाजिक प्रणालीले पृथ्वीको विनास गरिरहेको र मानिस लगायतका अन्य प्राणीमाथि पनि अन्याय भएको मान्दछन्।
यसको विकल्पमा उनीहरुले एक अभियानको रुपमा आफूलाई स्थापित गराउन खोजेका छन। व्यक्ति, संस्था र समुदायले आफ्नो ज्ञान प्रणाली र सांस्कृतिक काल्पनिकीमाथि दावा गरिरहेका छन्। साथै आजको दिनको चुनौति सामना गर्न सिकाइको प्रक्रियालाई पुनः परिकल्पना गरिनु पर्दछ भन्ने कुरामा विश्वास गर्दछन्।
यो भेला विविध ठाउँ र परिप्रेक्ष्यमा सुरु भए पनि यी विभिन्न सिकाइका पहलहरुले हालको शिक्षा प्रणालीको आलोचना गर्दै नयाँ अभ्यास प्रस्तुत गर्दछन्। उनीहरुको अभ्यास दीगो विकासको सोच मात्र नभइ पर्यावरणीय, सामाजिक र सांस्कृतिक प्रणालीलाई पुनः उत्पन्न गर्ने सोचबाट निर्देशित छ।
यस भेला इकोभर्सिटी अलाइन्सका सदस्यहरु र अन्य सहभागीहरुको सिकाइ र अभ्यास साटासाट गर्नमा केन्द्रित रहनेछ। यस भेलामा उपस्थित हुनको लागि आवेदन भरेर नेपालमा पनि वैकल्पिक अभ्यास गरिरहेकाहरु र वैकल्पिक सोच राख्नेहरु सहभागी हुन सक्नेछन्।
यस भेलामा अहिलेसम्म नेपाल लगायत भारत, क्यानडा, इटाली, जापान, थाइल्याण्ड र मेक्सिकोमा सहभागीले आवेदन भरेका छन्। विदेशीहरुको लागि वैशाख ७ गतेसम्म आवेदनको म्याद रहेकोमा नेपाली सहभागीको लागि वैशाख १० सम्म रहेको थियो।