काठमाडौं। मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। राजा अल थानीलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधान एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, मुख्यसचिव बैकुण्ठ अर्याललगायत उपस्थित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कतारी अमिरको बिदाइ अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाल आएका कतारी राजाले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता गरेका थिए। भेटवार्तापछि राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गरेका थिए।
आज प्रधानमन्त्री दाहाल र कतारी राजा अल थानीसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो। उक्त वार्ताका क्रममा दुईदेशबीच आपसी सहकार्यसम्बन्धी ६ वटा विभिन्न विषयमा समझदारी भएको छ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। नेपालले सन् २००० जुलाई ११ मा दोहामा दूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा सन् २०११ अगस्तमा दूतावास स्थापना गरेको थियो।