काठमाडौं। बैंकले सर्वसाधारणसँग निर्धारित ब्याजदरमा निक्षेप लिएर त्यसमा केही प्रतिशत स्प्रेड कायम गरी तिनीहरूबाटै कर्जा लिएर पैसाको व्यवसाय गर्छन्। बैंकबाट कर्जा लिने ऋणीले समयमै साँवाब्याज बुझाएपछि बैंकको आम्दानीसँगै नाफामा वृद्धि हुने हो। तर, केही समययता ऋणीले बैंकबाट लिएको ऋण समयमै फिर्ता नगर्दा बैंकहरूमा खराब (निष्कृय कर्जा) कर्जा बढ्दो छ।
समग्र अर्थतन्त्रमा आएको मन्दीको प्रभाव व्यापार व्यवसायमा पर्दा ऋणीले समयमै बैंकको साँवाब्याज बुझाउन नसक्दा निष्कृय कर्जा (एनपिएल) बढेको हो। तर, पछिल्लो समय भने ऋणीले साँवाब्याज भुक्तानी गर्दा पनि बैंकको एनपिएल घटेको छैन। नियामकीय प्रावधानमा रहेर व्यवसाय गर्दा बैंकहरूको एनपिएल ‘कन्ट्रोल’ बाहिर जान थालेको देखिएको हो।
राष्ट्र बैंकले बैंकको एनपिएल बढ्न् आर्थिक मन्दीलाई दोषारोपण गरिरहँदा बैंकर भने नियामकीय प्रवधानको पाटोलाई एनपिएल वृद्धिको कारक मान्छन्। राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दा बैंकरहरूले अघिल्ला वर्षमा झै कर्जा असुलीमा जान नसक्नु वा कर्जा असुली भएर पनि एनपिएल घटाउन नसक्नुको मुख्य कारक हो।
आर्थिक मन्दीसँगै राष्ट्र बैंकले दिएको कर्जाको पुनरसंरचना तथा पुनतार्लिकीकरण, कर्जा नियमित भएको ६ महिनापछि मात्रै एनपिएल घटाउन पाउने र बैंकका ऋणी रहेका समूहमध्येका कुनै सदस्यको व्यवसाय बिग्रिँदा त्यसलाई पनि एनपिएलमा राखेर प्रोभिजन गर्नुपर्ने व्यवस्थाले बैंकहरूले एनपिएल व्यवस्थापन गर्न नसक्दा ‘कन्ट्रोल’ बाहिर जान थालेको बैंकरहरू नै बताउँछन्।
चालू वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूमा औषत ३.६५ प्रतिशत एनपिएल मौज्दात छ। गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा औषत ३.०३ प्रतिशत एनपिएल थियो। एक वर्षको अवधिमै वाणिज्य बैंकहरूको एनपिएल ०.६२ प्रतिशत बिन्दु थप भएको हो।
खराब कर्जा बढ्नुको चार कारण
बैंकको खराब कर्जा बढ्नु पहिलो कारक अर्थतन्त्रको मन्दीलाई नै मानिन्छ। आर्थिक मन्दीको प्रभावमै बैंकहरूमा एनपिएल बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन्।
‘समग्र अर्थतन्त्र अहिले मन्दीको अवस्थामा छ। अर्थतन्त्रको शिथिलताको प्रभाव बैंकहरूको कर्जा असुलीमा परेको हो,’ आर्थिक क्रियाकलाप विस्तार नहुँदासम्म बैंकहरूमा पनि पैसा जाने आस राख्न सकिँदैन,’ राष्ट्र बैंकका प्रवक्ता भट्टले भने, ‘अब लगानी सम्मेलनमार्फत केही आर्थिक गतिविधि बढ्ने र चौथो त्रैमासमा ऋणीसँग बैंकमा पैसा तिर्ने क्षमता वृद्धि हुने सम्भावना छ।’
अन्तिम त्रैमासमा सरकारको पुँजीगत खर्च बढ्दा बजारमा नगद प्रवाह बढ्ने, तेस्रो लगानी सम्मेलनमार्फत् विदेशी मुद्रा भित्रिनेलगायतका कारणले चौथो त्रैमासमा ऋणीले बैंकलाई पैसा तिर्ने ऋण क्षमता वृद्धि हुँदा एनपिएल घट्ने उनको अनुमान हो।
राष्ट्र बैंकले बैंकको एनपिएल बढ्न् आर्थिक मन्दीलाई दोषारोपण गरिरहँदा बैंकर भने नियामकीय प्रवधानको पाटोलाई एनपिएल वृद्धिको कारक मान्छन्। राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दा बैंकरहरूले अघिल्ला वर्षमा झै कर्जा असुलीमा जान नसक्नु वा कर्जा असुली भएर पनि एनपिएल घटाउन नसक्नुको मुख्य कारक हो।
यस पटक भने बैंकहरूको नियामकीय प्रावधानले एनपिएल म्यानेज गर्न नसकेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘आर्थिक मन्दीका कारण अहिले बैंकको रिकोभरी ज्यादै दयनीय अवस्थामा छ, ऋणीले बैंकको तिर्नु पर्ने साँवा ब्याज जम्मा गर्न नसकेको धेरै भइसक्यो। अघिल्ला वर्षमा बैंकहरूले तेस्रो त्रैमासमा अन्य त्रैमासमा भन्दा एनपिएल घटाउन थाल्थे। अहिले त्यो गर्न सकेनन्,’ संघका उपाध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘यसपटक पुनर्संरचना, ग्रुप एक्स्पोजर र एकपटक डिफल्ट भएको कर्जा ६ महिनासम्म नियमित भएपछि मात्रै एनपिएलबाट घटाउँन पाइने हुँदा पनि यसपटक बैंकहरूको एनपिएल व्यवस्थापन हुन नसकेको हो।’
राष्ट्र बैंकले गत असार मसान्तसम्म नियमति रहेको कर्जाको १० प्रतिशत ब्याज असुल गरेर चैत मसान्तसम्म पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउँने सुविधा यसअघि नै दिएको थियो। पुनर्संरचना तथा पुनर्तालिकीकरण गरिएको कर्जामा बैंकहरूले ५ प्रतिशत प्रोभिजन गर्दा एनपिएल थप गरेको छ।
साथै, राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले एकपटक साँवाब्याज अनियमित भएर निष्कृय कर्जाको वर्गीकरण गरी सूक्ष्म निगरानी, कमसल वा शंकास्पदमा राखेर सोहीअनुसार प्रोभिजन गरिसकेको भए उक्त कर्जा पुनः नियमित हुन थालेको ५ महिनापछि मात्रै प्रोभिजन राइट ब्याज गरेर एनपिएल घटाउन पाउने व्यवस्था हो। यसले गर्दा पनि बैंकहरूले असुल भएका कर्जाको एनपिएल तत्काल घटाउन नपाउँदा तेस्रो त्रैमासमा थप भएको हो।
यस्तै, राष्ट्र बैंकले माघ १ देखि कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको ऋणलाई पनि निष्कृय वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। यो प्रावधानले पनि बैंकहरूको एनपिएल थप हुन सहयोगी बनेको छ।
असार मसान्तमा बैंकको एनपिएल
बैंकिङ ‘कल्चर’ मा बैंक तथा वित्तीय संस्थाको एनपिएल ‘म्यानेज ट्रिक’ हुन्छ। बैंकहरूले आव अन्त्यमा कायम एनपिएललाई पहिलो त्रैमास र दोस्रो त्रैमासमा त्यति प्राथमिकतामा राखेर व्यवस्थापन गर्नतर्फ लाग्दैनन्। तर, तेस्रो त्रैमासमा चौथो त्रैमासलाई समेत सहज हुने गरी अघिल्लो त्रैमासको एनपिएल घटाउन मात्रै नभएर एनपिएल थप हुन नदिन पनि असुलीमा निकै मिहिनेत गर्छन्। त्यसैले यसअघिका वर्षमा पहिलो र दोस्रो त्रैमासमा एनपिएलभन्दा तेस्रो र चौथो त्रैमासको एनपिल घट्दै गएको हुन्थ्यो।
गत वर्षको पहिलो त्रैमासमा औषत १.७७ प्रतिशत रहेको वाणिज्य बैंकहरूको एनपिएल दोस्रो त्रैमासमा २.३५ प्रतिशत, तेस्रोमा ३.०३ प्रतिशत र चौथो त्रैमासमा २.२८ प्रतिशत कायम थियो। दोस्रो र तेस्रो त्रैमासको भन्दा वाणिज्य बैंकहरूले चौथो त्रैमासमा एनपिएल घटाउँदै लगेका थिए।
वर्ष अन्त्यमा बैंकहरूले ब्यालेन्ससिट राम्रो बनाउन तेस्रो र चौथो त्रैमासमा कर्जा असुली केन्द्रित रहेको प्रस्ट हुन्छ। तर, चालू वर्षको पहिलो र दोस्रो त्रैमासमा भन्दा वाणिज्य बैंकहरूमा एनपिएल ०.२५ प्रतिशतले थप भएको छ। चालू वर्षको पहिलो र दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूमा ३.४० प्रतिशत एनपिएल थियो।
नियामकीय प्रावधान कार्यान्वयन गर्दै व्यवसाय गर्दा बैंकहरूको एनपिएल बढेको र आगामी असार मसान्तमा थप बढ्ने एभरेष्ट बैंकका कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन्।
‘आर्थिक मन्दी सुधार हुने संकेत खासै देखिएको छैन। आर्थिक मन्दी अहिलेकै अवस्थामा रहे राष्ट्र बैंकको प्रावधान पालना गर्दै बैंकहरूले कर्जा असुली गर्दा आगामी असार मसान्तमा अहिलेको भन्दा एनपिएल थप हुन सक्छ,’ सीईओ खालिङले क्यापिटल नेपालसँग भने, ‘यसले गर्दा बैंकहरूको पर्फर्मेन्स अहिले नदेखिएको र एनपिएल पनि अघिल्लो त्रैमासको भन्दा अहिले सुधार नभएको हो।’
जति नै कोसिस गरेर अनि अहिले कर्जा असुलेर असल बनाए पनि राष्ट्र बैंकले ६ महिनापछि मात्रै असल वर्गमा राख्न पाउने व्यवस्थाले बैंकहरूको एनपिएल अहिले बढेको उनले बताए।
आर्थिक मन्दीमा सुधारसँगै चौथो त्रैमासमा सरकारले खर्च बढाए मात्रै आगामी असार मसान्तमा बैंकको एनपिएलमा सुधार आउने उपाध्यक्ष कोइराला बताउँछन्।
‘चौथो त्रैमासमा सरकारको खर्च बढ्ने एवं निर्माण क्षेत्रको पैसा आउन थालेपछि बजारमा नगद प्रवाह बढ्ने र बैंकमा ऋणीले पैसा तिर्ने अनुमान हो,’ कोइरालाले भने, ‘अन्तिम त्रैमासमा ऋणीले पनि जसरी भए पनि बैंकमा पैसा बुझाउनुपर्छ भन्ने र बैंकले पनि उठाउन धेरै कसरत गर्ने हुन्छन्। त्यसैले अहिले मौज्दात एनपिएलमा असारमा करिब औषतमा १ प्रतिशतले घटन सक्छ।’
अहिलेसम्म सरकारले ३० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। निर्माण क्षेत्रसँग सम्बद्ध कुनै पनि क्षेत्रबाट बैंकको साँवाब्याज तिर्न सकेका छैनन्। सरकारले पुँजीगत खर्च बढाउँदा निर्माण क्षेत्र चलायमान हुँदा त्यसँग सम्बन्धित क्षेत्रका बैंक ऋणीले बैंकमा पैसा बुझाउदा असारमा एनपिएल घट्ने अनुमान कोइरालाको हो।
बैंकमा खर्ब बढी खराब कर्जा
चालू वर्षको ९ महिनासम्म वाणिज्य बैंकहरूले कुल ४४ खर्ब ८६ अर्ब १५ ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरे। त्यसको औषत ३.६५ प्रतिशत अर्थात् १ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ कर्जा बैंकहरूले उठाउन नसकेर निष्कृय (एनपिएल) भएर बसेको छ।
गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कसल ४३ खर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ३.०३ प्रतिशत अर्थात् १ खर्ब ३० करोड कर्जा निष्कृय भएर बसेको थियो।
त्यसमा बैंकहरूले कुल ३१ अर्ब ३२ करोड रुपैयाँ नोक्सानीबशापत प्रोभिजन गरेका थिए। चालू वर्षको ९ महिनामा बैंकहरूले उठाउन नसकेको कर्जामा ३९ अर्ब ८७ करोड बढी प्रोभिजन गरेका छन्।
एक वर्षको अन्तरमै वाणिज्य बैंकहरूको खराब कर्जा ०.६२ प्रतिशत अर्थात् ३३ अर्ब ४५ करोड रुपैयाँ थप भएको हो। यस्तो कर्जा गत वर्षको असार मसान्तसम्म २.२९ प्रतिशत रहेको वाणिज्य बैंकहरूको खराब कर्जा चालू वर्षको असोज मसान्तसम्म र पुस मसान्तसम्म ३.४० प्रतिशत कायम थियो।
कुन बैंकमा कति
चालू वर्षको ९ महिनामा बैंकहरूमा मौज्दात खराब कर्जालाई प्रतिशतको आधारमा मूल्यांकन गर्दा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकमा ४.४९ प्रतिशत र परिमाणको आधारमा मूल्यांकन गर्दा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकमा १८ अर्ब रुपैयाँ एनपिएल मौज्दात छ। प्रतिशत र परिमाणकै आधारमा भने सबैभन्दा कम एनपिएल एभरेष्ट बैंकमा ०.७० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ छ।
यसबाहेक परिमाणको आधारमा बढी एनपिएल हुनेमा नबिल बैंक ४.४७ प्रतिशत अर्थात् १५ अर्ब ३२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ४.०४ प्रतिशत १५ अर्ब ११ करोड, लक्ष्मी सनराइज बैंकमा ५.४९ प्रतिशत अर्थात् १४ अर्ब १३ करोड, कुमारी बैंकमा ४.९५ प्रतिशत अर्थात् १४ अर्ब १० करोड, हिमालयन बैंकमा ४.९६ प्रतिशत अर्थात् १२ अर्ब ४ करोड रहेकाे छ।
यस्तै, प्रभु बैंकमा ४.८१ प्रतिशत अर्थात् ११ अर्ब ४५ करोड र राष्ट्रिय वाणिज्य बैंकमा ४.३० प्रतिशत अर्थात् ११ अर्ब १५ करोड रुपैयाँ एनपिएल मौज्दात छ। बाँकी १२ मध्ये ६ वटा बैंकमा ५ देखि १० अर्बसम्म र ६ वटामा ५ अर्ब रुपैयाँभन्दा कम एनपिएल मौज्दात छ।