काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको एक्स्पोले सम्मेलनलाई अझै सार्थक बनाउने बताएका छन्।
हिमालयन हाइड्रो एक्स्पो २०२४ शुभारम्भ अवसरमा बुधबार बिहान काठमाडौं उपत्यकामा आयोजित ३०० बढी बिजुली गाडीको ईभी र्याली उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
‘हाइड्रो एक्स्पोअघि सुरु भएको यो र्यालीले बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धनमा समेत सहयोगी सावित हुनेछ’ मन्त्री बस्नेतले भने।हाइड्रो एक्स्पो नेपालको विद्युत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतको भनाइ छ।
विद्युतीय सवारी (ईभी) र्याली आयोजना गरेर बिजुली खपत बढाउने सन्देश दिइएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए। बुधबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो शुक्रबारसम्म चल्नेछ।
इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली हामी आफैं खपत गरौं’ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरेको बताए। ‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । यसलाई सार्थक बनाउन पनि ईभी र्यालीले सहयोग गर्छ,’ अध्यक्ष कार्कीले भने।
एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक विजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरणमैत्री हुँदा नेपालका लागि उपयुक्त रहेको बताए।
हाइड्रो एक्स्पोको सुरुवात अघि भएको र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भई सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटीमण्डपमा गएर समापन भएको थियो।
एक्स्पोमा पहिलो दिन आज ३ वटा प्राविधिक सत्र आयोजना गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक्स्पो उद्घाटन गर्नेछन्।