काठमाडौं। हाल बैंकको सेयर मूल्य अंकित मूल्य नजिक पुगेको छ। १९ वाणिज्य बैंकमध्ये सबैभन्दा कम मूल्य रहेको कुमारी बैंकको सेयर मूल्य १३२ रुपैयाँ छ भने बैंकिङ समूहमा सबैभन्दा बढी मूल्य भएको स्ट्यान्डर्ड चार्टड बैंकको सेयर मूल्य ५१८ रुपैयाँ मात्रै छ। २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कुमारी बैंकमा ४९ प्रतिशत सेयर हिस्सा सर्वसाधारणको छ भने ९ अर्ब ४२ करोड चुक्ता पुँजी रहेको स्ट्यान्डर्ड चार्टड बैंकमा २९.७९ प्रतिशत सेयर हिस्सा छ।
चुक्ता पुँजी बढी रहेको कुमारी बैंकको सेयर मूल्य वैशाख १० गते सोमबार १३२ रुपैयाँमा कारोबार हुँदा तुलनात्मक रुपमा कम पुँजी रहेको स्ट्यान्डर्ड चार्टड बैंकको सेयर ५१८ रुपैयाँमा कारोबार भएको देखिन्छ। खासगरी हाल समग्र बैंकिङ समूहकै सेयर मूल्य निकै न्यून बिन्दुमा छ। स्टयान्डर्ड चार्टर बैंक लगायत सर्वसाधारणको सेयर हिस्सा कम रहेका केही बैंकबाहेक अधिकांश बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम अर्थात् अंकित मूल्य नजिक छ।
करिब १२ अर्ब ८२ करोड रुपैयाँ बराबरको कुमारी बैंकको सेयर र स्ट्यान्डर्ड चार्टरको २ अर्ब ३५ करोड बराबरको सेयर हिस्सा सर्वसाधारणको हातमा छ। यस हिसाबमा कुमारीको तुलनामा स्ट्यान्डर्डको सेयर मूल्य उचाल्न तथा माथिल्लो बिन्दुमा कायम राख्न सहज हुने देखिन्छ भने सोहीअनुरुप माथि राखेको पनि पाइन्छ।
१९ वाणिज्य बैंकमा १० कम्पनीको सेयर मूल्य २०० भन्दा तल छ भने चार कम्पनीको सेयर मूल्य ३०० रुपैयाँ माथि छ। बाँकीको सेयर मूल्य २०० र ३०० रुपैयाँको बीचमा छ।
एकातर्फ सबै बैंकको सेयर मूल्य अंकित मूल्य नजिक हुँदा फाइनान्स कम्पनीको सेयर मूल्य भने १ हजार हाराहारीसम्म पुगेको देखिन्छ। नेप्सेको पछिल्लो तथ्यांकअनुसार कुनै पनि फाइनान्स कम्पनीको सेयर मूल्य ३०० भन्दा तल छैन भने माथिमा लगभग १ हजार रुपैयाँ हाराहारीसम्म पुगको छ। अधिकांश फाइनान्स कम्पनीको सेयर मूल्य ३०० देखि ५०० रुपैयाँको बीचमा छन्।
फाइनान्स कम्पनी वैशाख १० को सेयर मूल्य (रुपैयाँमा)
फाइनान्स समुहमा समृद्धि फाइनान्सको सेयर मूल्य सबैभन्दा कम अर्थात् ३१२ रुपैयाँ छ भने गोर्खाज फाइनान्सको सेयर मूल्य फाइनान्स समूहको सबैभन्दा बढी ७५५ रुपैयाँ छ। गोर्खाज फाइनान्सको सेयर मूल्य गएको चैत २० गते कारोबार बन्द हुँदा ९४६ रुपैयाँसम्म पुगेर बन्द भएको थियो। फाइनान्समा सर्वाधिक सेयर मूल्य भएको गोर्खाजको चुक्ता पुँजी ८६ करोड छ भने समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड छ।
यसरी, वित्तीय र पुँजीमा ठूलो अन्तर नहुँदा पनि सीमित बैंक र फाइनान्सको सेयर मूल्य निकै माथिल्लो बिन्दुमा किन छ? यस्तो हुनुमा विशेषगरी ट्रेडर र ब्रोकरहरुको चलखेल नै प्रमुख रहेको बताइन्छ।
सेयर लगानीकर्ता छोटेलाल रौनियार बैंकिङ क्षेत्रको सेयर मूल्य हाल ७० प्रतिशतले घटेको बताउँछन्। बैंकिङतर्फको बजार ७० प्रतिशत घट्दा बजारबाट लगनीकर्ताले २० अर्ब बढी गुमाइसकेको रौनियारको भनाइ छ।
‘बैंकले हरेक वर्ष प्रतिफल दिएको हुन्छ। यसका वित्तीय अवस्था, आम्दानी पनि सकरात्मक अवस्थामै छन्,’ रौनियार भन्छन्, ‘तर, पेड अफ क्यापिटल बढी भएकाले किनबेच गर्न कठिन हुन्छ। यही कारणले ट्रेडर र ब्रोकरहरुले बैंकमा हात हाल्दैनन्। उनीहरुले कम क्यापिटल हुने क्षेत्रमा लगानी गर्छन्। सोहीअनुसार बैंकका लगानीकर्ता फाइनान्समा सरेको देखिन्छ।’
रौनियारका अनुसार ट्रेडरहरुले कम मूल्य बनाएर किन्ने, बढाएर बेच्ने र घटाएर फेरि किन्ने किसिमको गतिविधि बढी मात्रामा गरिरहेका हुन्छन्। नेपालमा मात्रै नभएर संसारमा नै ट्रेडर हुन्छन्। तथापि, नेपालमा भने ट्रेडर बढी हावी भएकाले त्यसको असर बजारमा देखिएको तथा फरक अवस्था सिर्जना भएको रौनियारको भनाइ छ।
‘ट्रेडरहरुमा अनुशासन हुँदैन। ब्रोकरले पनि ट्रेडिङ नै गर्ने हुन्। लो क्याप हुने ठाउँमा उनीहरुले बढी खेल्छन्,’ रौनियार भन्छन्, ‘त्यसैले पनि अहिले फाइनान्सलगायतको क्षेत्रको मूल्य सकारात्मक भए पनि बैंकको भने न्यून बिन्दुमा झरेको हो।’
सेयर बजारमा ठूलो हिस्सा रहेको बैंकिङ क्षेत्र हाल सुस्त अवस्थामा छ। १९ वार्णिज्य बैंकको सूचक अर्थात् बैंकिङ सूचक हाल १०२७.६७ को बिन्दुमा छ। गएको एक वर्षको तथ्यांक मात्रै हेर्ने हो भने पनि बैंकिङ सूचक यो वर्षकै न्यून बिन्दुमा छ। विशेषगरी बैंकिङ इन्डेक्स न्यून बिन्दुमा रहँदाको प्रभाव समग्र सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समेत परेको छ।
अहिले नेप्से १९६९.०२ को बिन्दुमा छ। विशेषगरी बैंकिङजस्तो सेयर बजारको ठुलो हिस्सा ओगट्ने समूह नै न्यून बिन्दुमा रहँदाको प्रभाव नेप्सेमा परेको देखिन्छ। सुधार हुने चर्चाका बीच बैंकको वित्तीय अवस्था र नाफा झनै घट्दो क्रममा छ। यहीअनुरुप बैंकतर्फका लगानीकर्ता अर्को क्षेत्रतर्फ सिफ्ट हुने क्रम बढेको छ। फलस्वरुप बैंकहरुको सेयर मूल्य बढ्नुको सट्टा झन्झन् घटेर गएको छ।
तर, बैंक जस्तै वित्तीय अवस्था रहेका फाइनान्सतर्फको सेयर मूल्य भने बैंकको तुलनामा माथिल्लो बिन्दुमा छ। फाइनान्स सूचक हाल १९४३.९९ को बिन्दुमा छ। गत एक वर्षको तथ्यांक हेर्दा फाइनान्सको सेयर मूल्य वर्षकै उच्च बिन्दु वरपर छ। सेयर लगानीकर्ता नवराज दाहाल फाइनान्सको मूल्य बढ्नु र बैंकिङको घट्नुको प्रमुख कारण सप्लाइ भएको बताउँछन्।
विगत ट्रेन्ड हेर्ने हो भने बढ्दा नेप्से र बैंकिङ दुवै बढ्ने र घट्दा पनि दुवै एकैपटक घट्ने गरेको उदाहरण धेरै देख्न सकिन्छ। यस बीचमा बैंकको वित्तीय अवस्था खस्किको, बैंक तथा वित्तीय संस्थाविरुद्ध नकारात्मक अफहवा फैलिएको, बैंकहरुले विगतको जस्तैगरी लगानीकर्तालाई प्रतिफल दिन नसकेकोलगायत कारणले बैंकिङ समूहको न्यून बिन्दुमा झरेको हो।
‘एउटा बैंकको रकम समग्र फाइनान्स बराबर हुन्छ। अर्थात्, एउटा बैंकको सेयर मूल्य उचाल्ने पैसाले समग्र फाइनान्स क्षेत्र नै उचाल्न पुग्छ। यस्तो हुँदा लगानीकर्ताले फाइनान्सको सेयर थोरैथोरै लिए पनि यसको मूल्य बढ्छ,’ दाहाल भन्छन्, ‘अहिले फाइनान्सले प्रतिफल र बोनस सेयर दिएर थप गरेको अवस्था छैन। यही कारणले गर्दा पनि फाइनान्सको मूल्य उचालिएको हो।’
दाहालका अनुसार लगानी योग्य रकम अहिले बैंकमा बसेको अवस्था भए पनि भोलिका दिनमा नीतिमा केही सहजता भयो भने कर्जा प्रवाह हुन्छ र बैंकका नाफा बढ्छ। यसपछि त्रैमासिक रिपोर्ट राम्रो आउनसाथ लगानीकर्ता यही क्षेत्रतर्फ प्रवेश गनर्छन् र मूल्य जुनसुकै समय बढ्न सक्नेछ।
सानो हिस्सा भएकाले फाइनान्स चलेको हो। अन्यथा, समग्र क्षेत्र चल्दा भने बैंक पनि केही मात्रामा अवश्य चल्दछ। तर, बाफिया विधेयका कारण भोली प्रोमोटरले नै सेयर बेचेर निस्कने सम्भावना पनि छ।
‘प्रमोटरले सेयर बेचेर हिँडेभने बैंक अझै तल झर्ने हो कि भन्ने त्रास पनि छ। यसका अलावा बैंकिङ क्षेत्रमा शिथिलता आउनुका अन्य सानातिना थुप्रै कारण पनि छन्,’ दाहाल भन्छन्, ‘हुन त अहिले समग्र कारोबार नै खुम्चिएको अवस्था छ। कारोबार रकम दुई अर्ब हाराहारीमा अड्किएको छ।’
वाणिज्य बैंकका अधिकांश कम्पनीहरुको सेयर मूल्य अंकित मूल्य नजिक र २०० रुपैयाँ हुँदा यसको असर समग्र नेप्से सूचकमा पर्नु स्वाभाविक हो किनभने बैंकिङ समूहले समग्र बजारको करिब आधा हिस्सा ओगटेको छ।
विगत ट्रेन्ड हेर्ने हो भने बढ्दा नेप्से र बैंकिङ दुवै बढ्ने र घट्दा पनि दुवै एकैपटक घट्ने गरेको उदाहरण धेरै देख्न सकिन्छ। यस बीचमा बैंकको वित्तीय अवस्था खस्किको, बैंक तथा वित्तीय संस्थाविरुद्ध नकारात्मक अफहवा फैलिएको, बैंकहरुले विगतको जस्तैगरी लगानीकर्तालाई प्रतिफल दिन नसकेको, संसद्मा दर्ता भएको बाफिया विधेयकले आलोचना फैलिनुलगायत कारणले बैंकिङ समूहको न्यून बिन्दुमा झरेको हो।
बैंकिङ क्षेत्रका लगानीकर्ताले विस्तारै मार्ग परिवर्तन गर्दै जाँदा नाफा बुक गर्ने उद्देश्यका साथ हाल फाइनान्सतर्फ गएको देखिन्छ। यहि बीचमा बैंकका संस्थागत लगानीकर्ताले नै आफ्नो सेयर बिक्री गरेर बैंकबाट बाहिरिइरहेको चर्चा पनि भइरहेको छ। त्यसैले पनि यस क्षेत्रको सेयर मूल्य न्यून बिन्दुमा सीमित भएको छ।
अहिले वित्तीय क्षेत्रमा पर्याप्त तरलता (लिक्विडिटी) भए पनि कर्जा प्रवाह बढ्न सकेको छैन। निक्षेपको ब्याजदर निरन्तर घटेपनि कर्जाको ब्याजदर घटेको छैन। यस बीचमा सरकारबाट कुनै सुधारको ठोस काम हुन सकेको छैन भने सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को विषयमा प्रहरीले अनुसन्धान गर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी प्रस्तावित (वाफिया) ऐनमा १ प्रतिशत बढी सेयर हुने व्यक्ति सञ्चालक चुनिन सञ्चालक हुने संस्थाको चुक्ता पुँजीको एक प्रतिशतभन्दा कम सेयर लिएको हुनुपर्नेलगायतका विषय चर्चामा छन्।
बैंक तथा वित्तीय संस्थाको चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैतसम्म)को सूचीकृत कम्पनीको वित्तीय विवरण अझ खस्किएका कारण बैंकतर्फ लगानी गर्ने मनोबल लगानीकर्तामा विकास भएको छैन। तर, बैंकको जस्तै अवस्था रहेको फाइनान्सको भने टे«डर र ब्रोकरको नाफा बुक गर्ने होडबाजीका कारण सेयर मूल्य बलियो अवस्थामा छ।
लगानीकर्ता देव गुरागाईं बैंकले यो वर्ष पहिलाजस्तो प्रतिफल नदिएको र आगामी वर्ष पनि दिने सम्भावना कम देखिएकाले लगानीकर्ताले अर्को क्षेत्र चुनेको बताउँछन्। ‘बैंकिङका लगानीकर्ताले हरेक वर्ष केही प्रतिफल आउँछ भनेर लगानी गरेका हुन्छन्। कम्तीमा १० देखि २० प्रतिशत प्रतिफल प्राप्त हुँदै आएको पनि थियो। तर, यो वर्ष धेरैले दिएनन्। दिनेले पनि कम दिए,’ गुरागाईं भन्छन्, ‘बैंकको यो वर्षको कमाइ हेर्दा अर्को वर्ष पनि दिन नसक्नेजस्तो स्थिति देखिन्छ। यसैले लगानीकर्ता बरु फाइनान्समै नाफा खोज्ने प्रयासमा देखिन्छन्।’
गुरागाईंले हाल अन्य क्षेत्रमा लागेर छोटो समयमा केही अंश आम्दानी गरौं भन्ने सोचका साथ लगानीकर्ता फाइनान्सलगायतका अन्य समूहमा प्रवेश गरेको बताउँँछन्। बैंकतर्फ छाडेर फाइनान्स जलविद्युत्तर्फ क्यापिटल गेन आउँछ भनेर च्याँखे थाप्ने बाटोमा लगानीकर्ता लागेको र त्यसको प्रभाव समग्र बजारमा देखिएको गुरागाईंको भनाइ छ। यही कारणले हाल बैंकतर्फको सेयर मूल्य न्यून बिन्दुमा हुँदैगर्दा तुलनात्मक रुपमा अन्य क्षेत्र केही सकरात्मक अवस्थामा रहेको हो।
बैंकको वित्तीय विवरण कमजोर आएकाले अब तत्कालै यस क्षेत्र फेरि माथि उक्लिइहाल्ने सम्भावना पनि कम छ।