- बैङ्कको ब्याज तिर्नकै लागि केही दिनअघि एक उद्योगीले आफूसँग भएको आईएमई जनरल इन्स्योरेन्सको सेयर बेचे । त्यो सेयर बेचेर उनले विभिन्न बैङ्कमा भएको ऋणको ब्याज तिरे ।
- अर्का एक प्रतिष्ठित उद्योगीको व्यथा पनि त्योभन्दा फरक छैन । ती उद्योगीले पनि काठमाडौंको जग्गा बेचेर बैङ्कको ब्याज बुझाउने तयारीमा जुटेका छन् । बजारमा छरिएर रहेको उधारो उठाएर ब्याज तिर्न सकिन्छ कि भनेर निकै कसरत गरे पनि सफल हुन नसकेपछि उनले अन्तिम विकल्पका रुपमा जग्गा बेच्ने अवस्थामा पुगे ।
- त्यसैगरी, अर्का एक उद्योगीले पनि ३८ करोड रुपैयाँ जुटाउन ठूलै कसरत गरिरहेका छन्, तर अझै समाधान भेटेका छैनन् । बैङ्कले तारन्तार फोन गरेपछि उनी झन् दबाबमा आएका छन् ।
काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम दिन नजिकिँदै गर्दा बैङ्कमा सावाँ र ब्याज तिर्न उद्योगी, व्यवसायी र सर्वसाधारण सबै उत्तिकै दबाबमा छन् । कतिपय बैङ्क तथा वित्तीय संस्थामा अध्यक्ष वा सञ्चालक पनि रहेका नाम चलेका उद्योगी÷व्यवसायीको त यो हालत छ भने अन्य सर्वसाधारण र पहुँचबाहिर रहेका नागरिकको अवस्था कस्तो होला ? बैङ्कहरुको बढ्दै गएको ब्याज र सावाँ भुक्तानीको अवस्था कस्तो होला, अनुमान गर्न सकिन्छ । अहिले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएकालाई बैङ्कको ब्याजदरले तनाबमा राखेको छ ।
असारभित्र हरेक ऋणीले बैङ्कमा ब्याज बुझाउनै पर्छ । किनभने बैङ्कलाई प्रत्येक तीन–तीन महिनामा ऋणको ब्याज बुझाउनुपर्छ । अन्य त्रैमासिकमा केही गरी बुझाउन नसक्दा बैङ्कहरुले केही समय दिएर भए पनि सकारात्मक वातावरण बनाउने गर्थे । तर, असारमा भने बैङ्करहरु कुनै पनि मूल्यमा सावाँब्याज नियमित बनाएर बैङ्कको नाफा बढाउन चाहन्छन् । अब प्रकाशित हुने बैङ्कको वित्तीय विवरणका आधारमा आगामी वर्षमा उसले दिने लाभांशको अंश पनि तय गर्ने भएकाले बैङ्करहरु यो अवसरलाई कुनै पनि मूल्यमा चुकाउन चाहँदैनन् । यसैबाट कुन बैङ्कको कति प्रगति भयो भनेर पनि मूल्याङ्कन मात्र हुँदैन, सञ्चालक समितिमा प्रमुख कार्यकारी अधिकृतको प्रगति विवरण पनि यसैका आधारमा पेस हुन्छ ।
असार १० गतेदेखि बैङ्कहरुले उद्योगीलाई फोन गरेर ब्याजदरको विषयमा सम्झाउन थालेको एक उद्योगी बताउँछन् । ‘बैङ्कको यसमा केही गल्ती छैन्, हरेक तीन–तीन महिनामा बैङ्कलाई ब्याज बुझाउनै पर्छ, ऋण लिँदै त्यही भनिएको हुन्छ,’ एक उद्योगीले भने, ‘बैङ्कले ब्याज बुझाउनका लागि फोन गरेका हुन् र अहिले पनि गरिरहेका छन् ।’
‘गत वर्षको असारमा बजारमा पैसा हुन्थ्यो,’ ती उद्योगीले भने, ‘तर, अहिले बजारमा पुँजी नै छैन, त्यही भएर उद्योगीहरु तनाबमा छन् ।’
तर, बजारमा पैसाको अभाव भएकाले समस्या झन् बढ्दै गएको ती उद्योगी बताउँछन् । ‘गत वर्षको असारमा बजारमा पैसा हुन्थ्यो,’ ती उद्योगीले भने, ‘तर, अहिले बजारमा पुँजी नै छैन, त्यही भएर उद्योगीहरु तनाबमा छन् ।’ विशेषगरी मुलुकको पुँजीगत खर्च निराशाजनक भएपछि त्यसको असर उद्योगी÷व्यवसायीमा पनि परेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार १७ गतेसम्म सङ्घीय सरकारको पुँजीगत खर्च १ खर्ब ७० अर्ब ६५ लाख ८५ हजार रुपैयाँ मात्रै भएको छ । यो विनियोजित पुँजीगत खर्चको ५४.०९ प्रतिशत मात्रै हो । प्रदेश सरकार र स्थानीय तहको विकास बजेट खर्चको अवस्था झनै नाजुक छ । २०७६ वैशाख (चालू आर्थिक वर्ष १० महिना)सम्म सरकारका विभिन्न खातामा १ खर्ब ३७ अर्ब १९ करोड (स्थानीय तहको ५५ अर्ब ६२ करोड समेत) नगद मौज्दात छ ।
एकातिर पुँजीगत खर्च हुन नसकेर पैसा राज्यको ढुकुटीमा थन्किएको छ भने अर्कोतिर निर्माण व्यवसायीले काम सके पनि भुक्तानी पाइरहेका छैनन् । यसको असर वित्तीय क्षेत्रमा परेको छ ।
यसअघिसम्म जेठ महिनाबाट बजारमा पैसाको ‘फ्लो’ बढ्थ्यो र खासै समस्या हुँदैनथ्यो । ‘अहिले त लामो समयदेखि निर्माण व्यवसायीले भुक्तानी नपाएको र ठूलो रकम राज्य कोषमै थन्किएकाले बजारमा तरलता अभाव भएको हो,’ ती उद्योगी भन्छन्, ‘राज्यले निर्माण व्यवसायीको भुक्तानी गरिदिएको भए, यो बेला यस्तो हाहाकार हुँदैनथ्यो ।’
एकातिर राज्यकोषमा पैसा थन्किएर बसेको छ भने अर्कोतिर बजारमा व्यावसायिक कारोबार उधारो बढ्दै जाँदा ‘पैसाको चक्र’ नै बिग्रेको नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् ।
एकातिर पुँजीगत खर्च हुन नसकेर पैसा राज्यको ढुकुटीमा थन्किएको छ भने अर्कोतिर निर्माण व्यवसायीले काम सके पनि भुक्तानी पाइरहेका छैनन् । यसको असर वित्तीय क्षेत्रमा परेको छ ।
‘विगतमा उधारोको रकम भुक्तानी गर्ने भाका ३० दिनको हुन्थ्यो तर, गत वर्ष यो बढेर ६० दिन पुगेकोमा चालू वर्ष त झन् एक सय २० दिन (४ महिना) पुगिसकेको छ, यसले बैङ्कको ब्याज तिर्न उद्योगी÷व्यवसायीलाई समस्या भएको हो,’ मुराकारले भने, ‘बजारमा पैसा नभएकाले उधारो उठ्न सकेको छैन र बिक्री पनि निरन्तर घट्दो क्रममा छ ।’
सरकारकै कारण धेरैजसो उद्योगी टाट पल्टिने अवस्था पुगेका छन् । आर्थिकरुपमा सम्पन्न उद्योगी÷व्यवसायीको हालत अहिले नराम्ररी बिग्रिएको उद्योगीहरु बताउँछन् । खासगरी उत्पादनमूलक उद्योगमा लागेका उद्योगीको अवस्था नाजुक बन्दै गएको छ ।
‘उत्पादन घटाउँ, लागत बढ्छ । उत्पादन बढाउँ, बजारमा बिक्री छैन,’ अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले भने, ‘अहिले उद्योगीहरु दोहोरो मारमा परेका छन् ।’
एकातिर बैङ्कको ‘प्रेसर’ छ, अर्कोतिर बजारबाट पैसा उठ्न छाडेको छ । फेरि राज्यले पनि कस्दै लगेकाले अर्थतन्त्रमा ठूलो समस्या देखिँदै छ ।
उनका अनुसार अहिले चारैतिरबाट दबाब परेको छ । एकातिर बैङ्कको ‘प्रेसर’ छ, अर्कोतिर बजारबाट पैसा उठ्न छाडेको छ । फेरि राज्यले पनि कस्दै लगेकाले अर्थतन्त्रमा ठूलो समस्या देखिँदै छ ।
‘राज्यले एकातिरबाट कस्दै लगे पनि अर्कोतिर खुकुलो बनाउँदै लगे पो बजार राम्रोसँग चल्छ,’ उनले भने, ‘सबै ठाउँबाट कस्दै लगेपछि ‘उकुसमुकुस’ हुन्छ, अहिले त्यही अवस्था छ । धेरै उकुसमुकुस भए विस्फोट हुन्छ ।’
‘अहिले हरेक उद्योगीको उधारो बढेको छ । त्यो उधारो उठ्ने÷नउठ्ने टुङ्गो पनि छैन,’ एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले भने, ‘डिलरलाई पैसा उठाउन दबाब दिउँ, ‘सामान फिर्ता लैजानुस्’ भनेर जवाफ दिन्छ ।’