काठमाडौं। दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भएको द्विपक्षीय भेटवार्ता भएको छ।
भेटमा राष्ट्रपति पौडेलले मध्यपूर्वमा पछिल्लो समय देखापरेको अशान्ति र कतारी अमिर अल थानीले नेपालको कृषि, ऊर्जा एवं पर्यटन क्षेत्रमा नयाँ सम्भावना खोजीबारे चासो व्यक्त गरे।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाल जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्ता साझा चासोका मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले मध्यपूर्वमा युद्ध अन्त्य र शान्ति पुनःस्थापनाको कामना गर्दै कतारले शान्तिका लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे।
त्यस्तै, कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने बताए।
कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्र पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। अमिरले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेकामा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।
दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानीका नयाँ सम्भावना बढाउन सकिने विश्वास अमिरले व्यक्त गरे। नेपाल र कतारबीच सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट पारे।
दुई मुलुकबीच नियमित रुपमा उच्चस्तरीय भ्रमण आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा लैजाने बताए।
कतारी अमिरले कतारमा नेपाली श्रमिकलाई अझ राम्रो क्षेत्रमा रोजगारी दिने विषयमा योजना बनिरहेको उल्लेख गरे।
नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दैै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासमा कतारको सहयोग निरन्तर रहने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरे।
भेटवार्तापछि अमिर अल थानीले राष्ट्रपति कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे।