काठमाडौं। बुधबारबाट ‘समृद्धिका लागि ऊर्जा’ नारासहितको चौथो हिमालयन हाइड्रो एक्स्पो भृकुटीमण्डपमा सुरु हुँदै छ। वैशाख १२ देखि १४ सम्म काठमाडौंमा हुन लागेको हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी हुनेछन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्द्यड इभेन्ट म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ सञ्चालन हुन लागेको हो। यसअघि सन् २०१७, २०१८ र २०२२ मा ‘हिमालयन हाइड्रो एक्स्पो सञ्चालन भएको थियो। एक्स्पोमा स्वेदशी तथा विदेशीसहित १५० कम्पनी सहभागी हुनेछन्।
यद्यपि १०० बढी स्टल मात्रै स्टल रहने बताइएको छ। एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरियाललगायत मुलुकका कम्पनी तथा सरोकारवाला सहभागी हुनेछन्। एक्स्पो ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा छ।
एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डन्डीलगायतका १०० बढी स्टल रहनेछन्। एक्स्पोमा सहभागिताका लागि माघ २४ बाटै स्टल बुकिङ खुला गरिएको थियो।
गत पुसमा नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भइसकेको छ। सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यमा हिमालयन हाइड्रो एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने इप्पानको दाबी छ।
देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग ऊर्जा जोडिएकाले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट एक्स्पो आयोजना गर्न लागिएको हो। नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदानप्रदानमा एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय र कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिज्ञ नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसाय कम्पनी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतलाई सहभागी गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस अनि नयाँ प्रविधि र उपकरण प्रदर्शनी गरिने इप्पानले जनाएको छ।
३ दिनसम्म चल्ने एक्स्पोमा पहिलो दिन बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बिहान साढे ६ बजे कमलादी स्थित स्काई टावरबाट ३ सय बढी विद्युतीय सवारीसाधनको र्याली हुनेछ। उक्त र्याली स्काई टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डप पुग्ने इप्पानले जनाएको छ। त्यसपछि प्राविधिक सत्र सुरु हुनेछन्।
वैशाख १३ मा राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, अन्तिम दिन ऊर्जामन्त्री बस्नेत र अर्थमन्त्री वर्षमान पुनःसहितको उपस्थितिमा छलफल हुने कायक्रम छ। वैशाख १६ र १७ मा हुन लागेको तेस्रो लगानी सम्मेलनलाई पनि चौथो हिमालयन हाइड्रोले थप सहयोग पुग्ने इप्पानको भनाइ छ।
यसअघिका एक्स्पो जलविद्युत् र ऊर्जासँग सम्बन्धित सामान प्रदर्शनी गर्ने र बेच्नमा केन्द्रित थिए। तर, चौथो एक्स्पो ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका सन्दर्भमा छलफल गर्न केन्द्रित हुने बताइएको छ।