काठमाडौं।कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको पहिलो सुरक्षा घेरामा नेपाली सेना पचिालन हुँदैछ। नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको कमान्डमा राजा अमिर शेखको सुरक्षा व्यवस्था मिलाइएको नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले बताए।
यद्यपि नेपाली सेनासहित सुरक्षा निकायका ४ वटै संगठन राजाको सुरक्षामा परिचालन हुनेछन्। बलाधिकृत रथी सेनाका प्रधानसेनापति पछिका उच्च अधिकारी हुन्। सामान्यतया विशिष्ट पाहुनाको सुरक्षाका लागि सेनाको मुख्य भुमिका हुन्छ। सोहीअनुसार कतारी राजाको पहिलो घेराको सुरक्षा सेनाले गर्न लागेको हो।
सेनाका सूचना अधिकारी केसीका अनुसार बलाधिकृत रथी सिग्देलसहित नेपाल प्रहरी र सशस्त्रप्रहरीका एआइजीहरु सहितको समिति बनाइएको छ। त्यसबाहेक आवश्यकताअनुसार अन्य उपसमिति बनाएर सुरक्षा व्यवस्था कडा बनाइएको सूचना अधिकारी केशीले बताए।
त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि उच्च स्तरिय भ्रमणका लागि आवश्यक सुरक्षा यवस्था तयार भइसकेको जनाएको छ। जिल्ला प्रशासनका सूचना अधिकारी हरिप्रसाद शर्मा भन्छन्, ‘हामीले सुरक्षाका लागि सबै तयारी र निकायसँग समन्वय गरी सकेका छौं।’ त्यस्तै गृह मन्त्रालयले पनि आवश्यक सुरक्षा व्यवस्थाका लागि आफुमातहका निकायलाई चुस्त बनाएको मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताए।
राजा अमिर शेख हिँड्ने बाटो, भेटघाट र कार्यक्रमस्थलको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सरकारले सिसिक्यामेराबाट पनि निगरानी गरी रहेको छ। नेपालको २ दिने राजकिय भ्रमणमा आउन लागेका राजा थानीको टोलीमा मन्त्रीसहित ७० जनाभन्दा बढी छन्। परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्य भने राजासँग आउने मन्त्रीको संख्या हालसम्म आधिकारिक रुपमा सार्वजनिक नभएको बताउँछन्। ‘कतिपय कुरा सुरक्षासँग पनि जोडिन्छ त्यसैले मन्त्रीको संख्या खुलाइएको छैन’ सूचना अधिकारी आचार्यले भने।
मंगलबार दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका राजा बुधबार साँझ स्वदेश फिर्ता हुनेछन्। राजा शेखको टोलीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थ पुग्ने कार्यक्रम छ। साथै सेनाले राजाको सम्म्मान स्वरुप २१ तोपको सलामी पनि दिन्छ। विमानस्थलबाट उनी होटल सोल्टीमा गइ केही समय आराम गर्नेछन्।
त्यसपति राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटका लागि राष्ट्रपति निवास शीतलनिवास पुग्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री पुष्कमल दाहालसँग भने राजा शेखले बुधबारमात्रै भेटघाट गर्ने बताइएको छ। बुधबार दुई देशबीच औपचारिक वार्ता गरी विभिन्न सम्झौता तथा समझदारीमा हस्ताक्षर हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उर्जा मन्त्रालय अन्तर्गतका विषयमा सम्झौता गर्ने तयारी छ। यसबाहेक मंगलबार उनको स्वागत स्वरुप सरकारले सार्वजनिक विदासमेत दिएको छ।
यसैबीच राजाको स्वागतमा काठमाडौं उपत्यकाका चोक तथा बाटोहरुमा सजावट गएिको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो।