काठमाडौं। कतारका अमिर(राजा) शेख तमिम बिन हमद अल–थानीको नेपाल भ्रमणलाई धेरैले महत्वका साथ हेरेका छन्। नेपालको प्रमुख श्रम गन्तव्यहरु खाडी मुलुकहरु मध्येबाट कतारका अमिरको भ्रमण अहिलेसम्मकै उच्च स्तरको हो। त्यसैले पनि कतारी अमिरको भ्रमणलाई विषेश महत्व दिँदै सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।
निजी जहाज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका राजालाई लिन राष्ट्रपति रामचन्द्र पौडेल आफै जाने भएका छन्। सम्भवतः पौडेल राष्ट्रपति भएपछि पहिलो पटक विदेशी अतिविशिष्ट पाहुनाको स्वागतका लागि विमानस्थल पुग्ने पहिलो हुन्।
नेपाल भ्रमण रहदा राजाको बसाइँ, खुवाई र भेटघाट कहाँ र कसरी हुन्छ भन्ने चासोका साथ हेरिएको छ। सरकारले राजाको नेपाल भ्रमण उपलब्धी मुलक बनाउन कुनै कसर बाँकी राखेको छैन। राजाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।
राजा बस्ने रुमको पर्छ दिनको ५ लाख
अहिले राजा काठमाडौंमा आउदा कहाँ बस्छन्, कहाँ खान्छन् र क–कसलाई भेट्छन् भन्ने तालिका तयार भइसकेको छ। परराष्ट्र मन्त्रालय श्रोतका अनुसार राजाको बसाइँ पूर्व राजा ज्ञानेन्द्र शाहको लगानीमा सञ्चालित सोल्टी होटलमा बस्नेछन्। राजाको बसाइँका लागि सोल्टी होटलमा रहेको प्रेसिडेन्टल रुम बुक गरिएको छ।
सो रुमको बजार मूल्य ४ हजार अमेरिकी डलर छ। यो भनेको मंगलबारको डलर मूल्य अनुसार ५ लाख ३३ हजार ८० पैसा पर्न आउछ। आज एक डलरको नेपाली १३३ रुपैयाँ २७ पैसा छ।
सम्भवत, नेपालमा रहेका होटलहरु मध्येको सबैभन्दा महंगो शुल्क सोल्टी होटलको सो रुमको हो। सोल्टीमा प्रेसिडेन्टल रुम ६ वटा रहेको छ।
राष्ट्रपति पौडेलले दिँदैछन् रात्री भोज
राजाको सम्मानमा राष्ट्रपति पौडेलले सोल्टी होटलमै रात्री भोज दिने भएका छन्। राष्ट्रपति पौडेलले दिने रात्री भोजमा मन्त्रीहरुसहित विभिन्न उद्योगी व्यवसायीहरुलाई निम्तो दिइएको छ।
प्रधानमन्त्रीसँगको भेट द्वारिकाज होटेलमा
मंगलबार राष्ट्रपति पौडेलसँगको भेट र रात्रीभोजमा सहभागी हुन राजा बुधबार विहान १०ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग द्धारिकाज होटलमा जानेछन्। राजा र प्रधानमन्त्रीबीचको भेटमा दुई पक्षीय वार्ता हुनुको साथै केहि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका रहेको छ। प्रधानमन्त्री दाहालले राजाको सम्मानमा सोही होटलमा दिवा भोजको आयोजना समेत गरेका छन्।
चीनका राष्ट्रपति सीको बसाइँपनि सोल्टीमै
२०७६ सालमा नेपाल भ्रमणमा आएका चीनका राष्ट्रपति सी चिनफिङ सोल्टी होटलमै बसेका थिए। उनको सुरक्षाका लागि राष्ट्रपतिको बसाइँ अवधिभर पुरै होटल बुकिङ गरिएको थियो।
६ दशक लिगेशी बोकेको सोल्टी होटल
कतारी राजा बस्ने सोल्टी होटल ६ दशक पुरानो हो। नेपालको पर्यटन क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाएको सो होटलमा विदेशी पर्यटकहरुको मुख्य रोजाइमा पर्दै आएको छ। सरकारका अतिविशिष्ट, विशिष्ट पाहुनादेखि निजी क्षेत्रका पाहुनाहरुको समेत बास सोल्टी होटलमै हुने गरेको छ।
तत्कालिन राजा महेन्द्र शाहले विक्रम संवत २०२२ मा उद्धघाटन गरेको सो होटलमा पूर्व राजपरिवारको लगानी रहेको छ। सन १९७५ मा पब्लिक लिमिटेड कम्पनीमा गएको सोल्टी इन्टरप्राइजेजले सोही वर्षबाट एयरलाइन्स क्याटरिङ सुरु गरेको थियो। सन् १९८१ मा एक सय ८० कोठा थप भएपछि होटेलमा दुई सय ८२ कोठा पुगेको थियो।
सन् १९८७ मा सार्क शिखर सम्मेलन हुने भएपछि राजा वीरेन्द्रले ६ देशका राष्ट्र र सरकार प्रमुखलाई बस्न ६ वटा प्रेसिडेन्टल सुइट रुम बनाउन लगाएका थिए।