काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्न सक्नुपर्ने बताएका छन्।
नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभई सहजीकरण गर्नुपर्नेमा जोड दिएका हुन्।
‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडल तयार पार्नुछ’, प्रधानमन्त्री दाहालले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन। त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौं।’
आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनचाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए। लगानी सम्मेलनलाई सफल तुल्याउन सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यावहारिक परियोजना प्रस्तुत गर्नुपर्ने सुझाए।
‘लगानी सम्मेलनमा ‘इच्छा–सूची’ होइन, व्यावहारिक परियोजना प्रस्तुत गरौं’, प्रधानमन्त्री दाहालले भने, ‘सम्मेलनअघि ऐन संशोधन गरेका छौं। त्यसले लगानी बढाउन मद्दत गर्नेछ। त्यसैले पनि ठोस र व्यावहारिक योजना दिनुपर्छ। नयाँ सन्देश दिने गरी सम्मेलन गरौं।’
विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले केही राम्रो गर्न खोज्दा अठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने धारणा व्यक्त गरे।
नेपालमा स्टील उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए। उनले कृषिमा रोजगारी सिर्जना गर्न सिँचाइलाई प्राथमिकता दिन र विकासका काम रोकिएका भए अघि बढाउन निर्देशन दिए।