काठमाडौं। केही दशकअघिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल झन्डै लोप भइसकेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी)लाई तत्व फार्मस्ले विभिन्न ‘फ्लेबर’मा बजारमा उपलब्ध गराएको छ।
सक्खर अरबी शब्दबाट उत्पत्ति भएको हो। भारत र नेपालको तराई भेगमा यसलाई गुड शब्दले चिन्ने गरिन्छ। आयुर्वेदिक चिकित्सामा सक्खरको महत्त्व उच्च छ। गुलियोका रुपमा र औषधीय गुणका हिसाबले प्रयोग हुने सक्खर बहुउपयोगी खाद्य पदार्थ हो। यो उखुको रस पकाएर बनाइन्छ।
कम्पनीका उत्पादनमा ओरिजिनल ज्यागरी पाउडर, सिनेमन ज्यागरी पाउडर, स्याफ्रोन ज्यागरी पाउडर, मसला टी ज्यागरी पाउडर, टर्मरिक ज्यागरी पाउडर, ब्ल्याक पेपर ज्यागरी पाउडर र जिन्जर ज्यागरी पाउडर छन्। यसलाई स्वाद र उपयोगिताअनुसार उपभोग गर्न सकिन्छ।
परम्परागत उत्पादन ओरिजिनल ज्यागरी पाउडरलाई दूध वा तातो पानीसँग दुई÷तीन चम्चा दैनिक खान सकिन्छ। त्यति मात्रै होइन, चिया, सिरियल, मिठाई, हलुवा र खिरमा पनि प्रयोग गर्न सकिन्छ। खानापछि स्वीट्नरका रुपमा पनि यसलाई लिन सकिन्छ। चियापारखीले ‘मसला टी ज्यागरी पाउडर’ प्रयोग गर्न सक्छन्।
बिहानको चियादेखि राती सुत्नुअघि पिउने दूधसम्मका लागि तत्वले प्रडक्ट तयार पारेको छ। तत्त्व फार्मस्का संस्थापक हिमांशु त्रिपाठीका अनुसार तत्त्वका विभिन्न फ्लेबरका सक्खरको पाउडरलाई घिउ, दही मात्रै होइन, रोटी र भातसँग पनि खान सकिन्छ भने बेकरी, मिठाईलगायतमा गुलियो प्रयोग हुने हरेक खानामा प्रयोग गर्न सकिन्छ।
हाल तत्त्वका उत्पादन काठमाडौं उपत्यका, पूर्वका विभिन्न सहरका साथै पोखरा, भैरहवा, नारायणघाट, बुटवल, नेपालगन्जलगायत सहरका भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायत विभिन्न ग्रोसरी आउटलेटमा उपलब्ध छ। यस्तै, दराजमार्फत अनलाइन अर्डर गरी नेपालभर घर तथा अफिसमै लगिदिने सुविधा रहेको कम्पनीले जनाएको छ।
‘हाल सक्खर पाउडर ३०० र ६०० ग्राम गरी दुई वटा प्याकेजमा उपलब्ध छ’, त्रिपाठी भन्छ्न्, ‘ओरिजिनल ज्यागरी पाउडरको ३०० ग्रामको १७५ रुपैयाँ र ६०० ग्रामको ३२५ रुपैयाँ तोकिएको छ। अन्य फ्लेवरको भने स्वादअनुसार फरक–फरक मूल्य छ।’
आगामी दिनमा उत्पादन बढाएर मूल्य पनि कम गर्ने कम्पनीको योजना छ। नवलपरासीको प्रतापपुरमा उद्योग रहेको तत्त्वमा अहिले करिब २०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ४०० उखु किसानका परिवार लाभान्वित छन्।
बैंक ऋणसमेत गरी २५ करोड लगानी गरेर उद्योग स्थापना गरी उत्पादन सुरु गरेको त्रिपाठीले बताए। ‘बालबालिकादेखि वृद्धसम्मले सहजै सेवन गर्न मिल्ने र स्वास्थ्यका लागि चिनीले जस्तो कुनै पनि असर नगर्ने भएकाले धेरै नेपाली भान्सामा परम्परागत स्वीटनर सक्खर छिट्टै कमब्याक हुने विश्वास लिएको छु’, त्रिपाठी भन्छन्, ‘कम्पनीका उत्पादनमा प्रयोगकर्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै कुनै पनि केमिकल प्रयोग गरिएको छैन।’
सक्खर (गुड)का फाइदाः
कतिपय अवस्थामा आयुर्वेदिक चिकित्सकले विभिन्न रोग लागेका बिरामी निको पार्नसमेत सक्खर प्रयोग गर्ने गरेको पाइन्छ।
एन्टिअक्सिडेन्ट गुण भएको, रोग प्रतिरोधात्मक शक्तिवर्द्धक, उच्च पोषणयुक्त, श्वासप्रश्वास र हाडजोर्नी रोगबाट बचाउने विशेषता भएको सक्खर चिनीको उत्तम विकल्प हो।
सक्खरले शरीरमा रगत सफा गर्नुका साथै शरीरमा आइरन (फलाम)को स्रोत पनि हो। त्यसैले एनिमियाका बिरामी र महिलाका लागि यसको सेवन एकदम उपयोगी मानिन्छ ।
खानापछि गुलियो परिकार मन पराउनेले ‘डिजर्ट’का रुपमा सक्खर खाँदा पाचनसमेत राम्रो हुन्छ । छाला स्वस्थ्य राख्ने र चमक बढाउने सक्खरले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ। थकित र कमजोर महसुस भएका बेला शरीरको ऊर्जाका लागि सक्खर प्रयोग गर्न सकिन्छ।