काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघको तथ्यांकअनुसार अहिले कतारमा ४ लाख नेपालीले श्रम गरिरहेका छन्। कतारको विकासका निम्ति हालसम्म करिब १८ लाख बढी नेपालीले श्रमदान गरिसकेका छन्। तीमध्ये १४ लाख बढी नेपाली नेपाल फर्किइसकेका छन्।
रोजगारीका लागि प्रमुख गन्तव्य रहँदै आएको कतारका अमिर(राजा) शेख तमिम बिन हमद अल थानी दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन्। नेपालमा पहिलो भ्रमण गर्न लागेका राजा अल थानीको स्वागत र सम्मानका लागि सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ।
कतारी राजाको नेपाल भ्रमणलाई निकै महत्त्वका साथ लिइएको छ। पछिल्लो समय विकासले फड्को मारेको कतारका राजाको भ्रमणको क्रममा दुई देशबीच लगानीका विषयलगायत आर्थिक एजेन्डामा सम्झौता गर्ने सरकारको तयारी छ।
पछिल्लो समय विदेशी मुलुकबाट सहयोगका लागि सम्झौता गरिरहेको नेपालले कतारी राजाको भ्रमणका क्रममा पनि धेरै सम्झौता हुने अपेक्षा राखेको छ। तर, नेपालबाट रोजगारीका लागि कतार पुगेका र जान लागेका श्रमिकको मुद्दालाई भने प्राथमिकतामा राखेको पाइँदैन।
महासंघको तथ्यांकलाई आधार मान्ने हो भने पनि अहिले चार लाख नेपाली कतारका विभिन्न कम्पनीमा कार्यरत छन्। तिनले अहिले दैनिकजसो रेमिट्यान्स पठाइरहेका छन्। तर, तिनै श्रमिक आबद्ध भएको मुलुकको राजाको भ्रमण भइरहँदा उनीहरुको समस्या समधानका लागि कुनै बहस वा छलफलको एजेन्डा नबन्नु दुःखद भएको महासंघका पूर्वअध्यक्ष रोहण गुरुङको बुझाइ छ।
नेपालबाट कामका लागि कतारमा जाने श्रमिकलाई पछिल्लो समय पुनः मेडिकल चेकजाँचको नाममा महँगा अस्पतालमा पठाउने गरिएको उनले बताए। कतार सरकारले मेडिकल चेकजाँचका लागि मान्यता दिएको दाबी गर्दै कतार भिसा सेन्टरले केही अस्पतालमा सिन्डिकेट लगाएर चेकजाचमा चर्को शुल्क लिएर श्रमिकलाई आर्थिक भार थपिरहेकोप्रति सरकारले राजासँग छलफल गर्नुपर्ने सुझाव उनले उनले दिए।
पुनः मेडिकल चेक गर्दा ६ देखि १० हजारसम्म श्रमिकको खर्च हुने गरेको छ। योसँगै कतारले रोजगारीका लागि अनुमति लिँदा कहिलेकाहीँ समय नदिने गरेकाले पनि व्यवसायी समस्यामा पर्दै आएकोप्रति पनि सरकारले सहजताका लागि पहल गर्नुपर्ने उनको भनाइ छ।
महासंघ अध्यक्ष राजेन्द्र भण्डारीले कतारमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक रहेको बताए। कतारमा धेरै श्रमिक कार्यरत रहे पनि उनीहरु कुनै कोषमा आबद्ध नभएकाले राजाको भ्रमणका क्रममा यो विषयमा छलफल गर्नुपर्ने उनले बताए।
हाल श्रमिकको २४ घन्टे बिमा नरहेको र जतिबेला पनि जोखिम हुने भएकाले यसप्रति सरकारले पहल गरेर बिमा व्यवस्था गराउनुपर्ने उनको धारणा छ।
कतारको विकासका लागि नेपालीले ठूलो मिहिनेत गरेको बताउँदै उनले अब नेपालको विकास गर्न त्यहाँको लगानी यहाँ ल्याउन सरकारले पहलकदमी लिन सक्नुपर्छ। त्यसका लागि राजाको भ्रमण उपयुक्त अवसर हुने ठम्याइ उनको छ। कतारको लगानी नेपालमा ल्याउन सरकारले आवश्यक सहजीकरण गरिदिनुपर्ने उनको सुझाव छ।