चितवन। चितवनको इच्छाकामना गाउँपालिकाको बंग्याङ खोलामा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ।
७२ मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको पालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। उनले पुल निर्माणपछि स्थानीयलाई बाह्रै महिना आउजाउ गर्न सजिलो हुने बताए।
चेपाङ समुदाय बाहुल्य सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ। अध्यक्ष गुरुङले भने, ‘पुल निर्माणपछि स्वास्थ्योपचार गर्नसमेत स्थानीयलाई सहज भएको छ।’ पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ।
इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताए।
‘तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्’, उनले भने, ‘यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो। अब बाह्रै महिना निर्धक्क हिँडडुल गर्न सजिलो हुनेछ।’
२०७८ मा पुल निर्माण थालिएको हो। सो ठाउँमा बिजुली र बाटोघाटोको समस्या छ। स्थानीय राजेशले चेपाङ पुल निर्माणपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए।
थाप्राङ माइत भएकी सुनिता चेपाङले पुल नहँुदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समय आउन पाइने भन्दै खुसी व्यक्त गरिन्। झन्डै ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो।–रासस