काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधि विकासका लागि उपयुक्त मुलुक भएकाले यस क्षेत्र लगानी गर्न आग्रह गरेकी छन्। एशिया प्रशान्त क्षेत्रका १७ राष्ट्रका सूचना प्रवधि उद्योग सञ्चालकहरुको संस्था एशिया प्यासिफिक आइसिटी अलाइन्स (एपिक्टा)का पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेकी हुन्।
‘आगामी वैशाख १६ र १७ गते काठमाडौंमा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ। यो लगानी सम्मेलनमा विदेशी लगानीका साथै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने गरी तयारी अगाडि बढाइएको छ मन्त्री शार्मले जानकारी दिइन्। उनले यसका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारहरु समेत भइरहेको बताइन्।
‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा आज हामी विच उपस्थित एसिया प्रशान्त क्षेत्रका विभिन्न १७ राष्ट्रका सूचना प्रविधि उद्योगका प्रतिनिधिहरुलाई सूचना प्रविधिको क्षेत्रमा विना हिच्किचाहट लगानी भित्र्याउन र र आफ्नो संघसंस्था मार्फत आवश्यक पहल गर्न अनुरोध गर्दछु,’ मन्त्री शर्माले भनिन्, ‘यसका लागि नेपाल सरकार आवश्यक सहजीकरण गर्न एवं विश्वासको वातावरण निर्माण गर्न तयार रहेको छ।’
उनले सूचना प्रविधिको विकास, विस्तार, प्रयोग र लगानीका सम्वन्धमा विभिन्न देशका प्रतिनिधहरुको अनुभव आदानप्रदानले नेपाल सरकार र निजी क्षेत्रलाई समेत सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन्। सूचना प्रविधियुक्त राष्ट्र निर्माण गर्ने सोचका साथ आमसञ्चार, दूरसञ्चार तथा सूचना प्रविधिमा सबै नागरिकको पहुँच तथा उच्चतम उपयोग सुनिश्चित गरी आम नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सूचना प्रविधि क्षेत्रको विषेश महत्व रहेक मन्त्री शर्माको भनाइ छ।
‘सूचना प्रविधि क्षेत्रमा पछिल्लो समयमा भएको विकाससँगै नेपाल सरकारले पनि सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिंदै आएको,’ मन्त्री शर्माले भनिन्, ‘फलस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ। हरेकजसो सार्वजनिक निकायले कुनै न कुनै रूपमा विद्युतीय माध्यमबाट सेवा प्रवाह र संगठनको सञ्चालन व्यवस्थापन गरिरहेका छन्।’