काठमाडौं। मुलुकको समग्र आर्थिक गतिविधिमा आएको सुस्तताको प्रभाव बैंकका लगानीकर्ताले पाउने प्रतिफलमा परेको छ। वाणिज्य बैंकहरुको व्यवसाय सुस्ताएसँगै लगानीकर्ताले पाउने प्रतिफल औसत रिटर्न अन इक्विटी (आरओइ) घटेको छ। व्यवसाय सुस्ताउँदा चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरुले १ सय रुपैयाँ लगानी गर्ने सेयरधनीलाई ५० पैसादेखि ११ रुपैयाँसम्ममात्रै लगानीको प्रतिफल दिनसक्ने गरी नाफा कमाएका छन्।
गत वर्षको सोही अवधिमा बैंकहरुले सेयरधनीलाई एक सय रुपैयाँ लगानीको प्रतिफल साढे ४ रुपैयाँदेखि २२ रुपैयाँसम्म दिनसक्ने गरी नाफा कमाएका थिए। एक वर्षबीचमा वाणिज्य बैंकहरुले सेयरधनीलाई दिने प्रतिफल औसतमा २ रुपैयाँ ८२ पैसाले घटेको देखिन्छ। गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको औसत आरओइ ११.८६ प्रतिशत थियो। जुन चालु आवको सोही अवधिमा २.८२ प्रतिशतले घटेर ९.०४ प्रतिशत कायम भएको छ।
औसत आरओइ घटेपनि यो अवधिमा ४ वटा वाणिज्य बैंकले लगानीकर्तालाई दिने प्रतिफल बढाएका छन्। अन्य बाँकी १६ वटाको आरओई ०.०८ प्रतिशतदेखि १२.८६ प्रतिशतसम्मले घटेको छ। यसबीचमा कृषि विकास बैंक, प्राइम बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आरओइ भने ०.३२ प्रतिशतदेखि ३.७९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
के हो आरओई? यसको असर कसलाई कस्तो पर्छ ?
सेयरधनीहरुले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अफ इक्विटी (आरओइ) भनिन्छ। यसमा लगानीकर्ताको लगानीमा पुँजीसँगै रिजर्भ र पेड अफ क्यापिटल समेत समावेश गरिएको हुन्छ। सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब माथि छ। कुनै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको वाणिज्य बैंकको २ अर्ब रिजर्भमा हुँदा त्यसको कुल पुँजी १० अर्बको हुन्छ। यदी त्यो बैकले २ अर्ब रुपैयाँ नाफा कमाएमा त्यसको रटर्न अन इक्विटी २ भाग १० गर्दा २० प्रतिशत बैंकको रिटर्न अन इक्विटी हुन्छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकको आरओई ९.०४ प्रतिशत छ। यसरी हेर्दा बैंकहरुमा औसतमा एक जना लगानीकर्ताले कुनै एक वाणिज्य बैंकमा १०० रुपैयाँ लगानी गर्दा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नाफाबाट ९ रुपैयाँ ०४ पैसा लगानीको प्रतिफल पाउँछन्। गत आवको सोही अवधिमा १०० रुपैयाँ लगानी वापत ११ रुपैयाँ ८६ पैसा प्रतिफल पाउने अवस्था थियो। सामान्यतयाः कुनैपनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले त्यसको प्रतिफल १५ देखि २० प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गरेका हुन्छन्। साथै, सोही रेसियोेमा आरओई भएको बैंकलाई राम्रो आम्दानी भएको मानिन्छ।
तर, चालु आर्थिक वर्षको चैत मसान्तसम्म १९ वटा वाणिज्य बैंकको आरओई १५ प्रतिशतभन्दा कम छ। जसमा ५ वटाको १० प्रतिशतदेखि १४ प्रतिशतसम्म, १२ वटाको ५ प्रतिशतदेखि १० प्रतिशतसम्म र २ वटाको ५ प्रतिशतभन्दा कम छ। चालु आवको ९ महिनामा कुमारी र नेपाल बैंकको आरओइ ५ प्रतिशतभन्दा कम भएको हो। यी बैंकमा १ सय रुपैयाँ लगानी गर्दा सेयरधनीले कुमारीबाट ४ रुपैयाँ ०४ पैसा र नेपाल बैंकबाट ४९ पैसा प्रतिफल पाउँछन्।
व्यवसाय विस्तार गर्न नसक्दा आरओइ घट्यो
अघिल्लो आव वर्षदेखि नै समग्र अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव अहिले बैंकको लगानी प्रतिफलमा परेको बैंकर्सहरु बताउछन्। समग्र अर्थतन्त्रमा छाएको मन्दीको प्रभावमा बैंकहरुमा नयाँ कर्जाको माग नहुने र पुरानो कर्जा असुली पनि गर्न नसक्ने अवस्था रहेको छ। यहि कारण व्यवसाय विस्तारको लागि निक्षेप संकलन गर्न बैंकहरुले बढाएको ब्याजको खर्च व्यवस्थापन गर्न नसक्दा आरओइ घटेको नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘महंगो दरमा लिएको निक्षेप बैंकहरुले कर्जा माग नहुँदा लगानी गर्न सकेनन् भने केही बैंकहरुले पुँजीकोषका कारणले पनि नयाँ कर्जा दिन सकेनन्, महंगोमा लिएको निक्षेपलाई सोही रेटअनुसार कर्जा लगानी गर्न नपाउँदा बैंकहरुको खर्च बढेको छ,’ संघका उपाध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘निक्षेपमा खर्च बढेपनि कर्जा ब्याजदर बैंकहरुले बढाएका छैनन्, यो सबै कुराहरुले गर्दा स्प्रेड घट्दा बैंकको आम्दानीसँगै लगानी प्रतिफल पनि घटेको हो।’
अन्य देशको तुलनामा नेपालका बैंकहरुको सेवा शुल्क कम हुने तर खर्च बढ्दा आम्दानीमा परेको प्रभावले तुलनात्मक रुपमा लगानी प्रतिफल पनि घटेको उनको भनाइ छ। मूल्य वृद्धिसँगै बैंकहरुको सञ्चालन खर्च बढेको तर, आम्दानी घटेको हुँदा विगतका वर्षहरुको तुलनामा बैंकहरुबाट लगानीकर्ताले पाउने प्रतिफल घटिरहेको उनको भनाइ छ।
‘पेट्रोलियम पदार्थदेखि लिएर हरेक सामानको मूल्य वृद्धि भइरहेको छ भने ब्याजदरलाई स्थायी राख्नलाई बैंकहरुले खर्च बढेपनि कर्जाको रेट पनि बढाएका छैनन्, यसले गर्दा बैंकहरुको आरओई घट्दो क्रममै छ,’ उनले थपे, ‘बैंकहरुले कष्ट अफ फण्ड बढेपनि लेन्डिङ रेट बढाएका छैनन्, त्यसले गर्दा पनि बैंकहरुको मार्जिन कम भएको हो, बैंकहरुले राख्न पाउने भन्दा पनि १ प्रतिशत कम नै औसत स्प्रेडरेट छ। यी सबै कुराहरुले पनि आरओई घटेको हो। बैंकहरु तेस्रो त्रैमास सकिएसँगै चौथो त्रैमासको वित्तीय विवरणको राम्रो बनाउने प्रेसरमा रहेको उनले बताए।
‘रिर्टन थोरै भएपनि बैंकको लगानी सबैभन्दा सुरक्षित’
बैंक व्यस्थापन हाँकेका कार्यकारी अधिकृतहरुले आगामी दिनमा बैंकले दिने लगानी प्रतिफल थप घट्न सक्ने भनिरहँदा बैंकका लगानीकर्ता भने यही क्षेत्रमा गरिएको लगानी सुरक्षित रहेको बताउँछन्। समग्र अर्थतन्त्रमा आएको सुस्तताले बैंकिङ क्षेत्रबाहेक सबै क्षेत्र घाटामा जाँदा यो क्षेत्रमा भने नाफामा छ। त्यसैले यो क्षेत्रमा गरिएको प्रतिफल तत्कालै नपाएपनि भविष्यमा पाउने विस्वास सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डे बताउँछन्।
‘प्रतिफल भनेको कहिले बढी हुन्छ, कहिले कम हुन्छ। तर, यो क्षेत्रमा लगानी सुनिश्चित छ। सबै लगानीको ठाउँमा धितोले सुनिश्चित गरेको छ,’ नेपाल उद्योग व्यवसायी महासंघका कार्यसमिति सदस्य समेत रहेको सिटिजन्स बैंकका अध्यक्ष पाण्डेले क्यापिटल नेपालसँग भने, ‘अहिले सबै क्षेत्र धरासयी हुँदा बैंकको ऋण दिने पाटो अलि ढिलो भएको छ। बैंकको रिकभरी पाटो सुध्रिनसाथ पैसा असुल हुन्छ। अहिलेको अवस्थामा लगानीकर्ताले नाफाबापत पैसा नपाएको मात्रै हो। तर, लगानी बराबरको प्रतिफल दिने गरी बैंकले नाफा गरिरहेको छ।’
आजको दिनमा बैंकले गरेको नाफा सञ्चित कोषमा राखिएको र भोली सहज परिस्थीति हुँदा लगानीकर्तामा वितरण हुने उनको विस्वास छ। अवस्था असहज हुँदा बैंकको वितरण योग्य नाफा मात्रै नकारात्मक भएको तर, बैंक नै घाटामा नगएको हुँदा आज कमाएको नाफा भोलिको दिनमा लगानीकर्ताले पाउँने उनको विस्वास छ।
लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल स्ट्यान्डर्डले दिँदा सबैभन्दा थोरै नेपाल बैंकले
आरओईले सेयर लगानीबाट लगानीकर्ताले कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने देखाउँछ। कुनै बैंकहरुबीचको प्रदर्शन राम्रो नराम्रो भनेर विश्लेषकहरुले सम्बन्धित बैंकको आरओइ विशलेषण गर्छन्। धेरै आरओई भएका बैंकमा गरिएको लगानीका लागि राम्रो मानिन्छ।
चालु आर्थिक वर्षको ९ महिनामा विदेशी लगानीको स्ट्यान्डर्ड चार्टर्ड बैंकको आरओई सबैभन्दा बढी रहेको छ।
बैंकको आरओई १९.११ प्रतिशत छ भने बढी आरओई भएको दोस्रो बैंकको सूचीमा एभरेष्ट र तेस्रोमा प्राइम कमर्सियल बैंक छन्। एभरेष्ट बैंकको १४.५९ प्रतिशत र प्राइम कमर्सियल बैंकको १४.३० प्रतिशत छ। साथै, उक्त अवधिमा नबिल बैंकको १२.१६ प्रतिशत, एनएमबि बैंकको ११.३४ प्रतिशत र सानिमा बैंकको १०.४५ प्रतिशत आरओई छ। बाँकी १४ वटा बैंकको आरओई १० प्रतिशतभन्दा कम छ।