काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको तथ्यांक बिक्री गरी २७ लाख रुपैयाँ कमाएको छ। नेप्सेले विभिन्न ६ वटा कम्पनीलाई आफ्नो तथ्यांक बिक्री गरी १० महिनामा २७ लाख २० हजार रुपैयाँ आम्दानी गरेको हो।
नेप्सेले गत जेठ महिनादेखि रियल टाइम डाटा बिक्री गर्न थालेको थियो। नेप्सेले ‘तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७’ लागू गरेपछि स–शुल्क सूचीकृत कम्पनीहरुको तथ्यांक बिक्री गर्न थालेको थियो। उक्त कार्यविधिअनुसार नेप्सेले नेपालका विभिन्न क्षेत्रका संघ संस्थादेखि विदेशी कम्पनीहरुलाई पनि तथ्यांक बिक्री गर्नेगर्दछ।
नेप्सेको रियल टाइम डाटा विभिन्न प्रयोजनको लागि फरकफरक शुल्कमा प्रति महिना र वार्षिक शुल्क निर्धारण गरी बिक्री गरिरहेको नेप्से प्रवक्ता मुराहरी पराजुलीले बताए। ‘हालसम्म नेप्सेले तथ्यांक वितरक कम्पनी, वित्तीय औजार विकासकर्ता कम्पनी र सञ्चार माध्यमहरुलाई तथ्यांक बिक्री गरिरहेको छ,’ नेप्से प्रवक्ता पराजुलीले क्यापिटल नेपालसँग भने, ‘यी कम्पनिहरुले मासिक ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म शुल्क बुझाएर नेप्सेबाट सूचीकृत कम्पनीहरुको तथ्यांक खरिद गरेको हो।’
नेप्सेले शैक्षिक तथा अनुसन्धान प्रयोजन, संस्थागत प्रयोजन, व्यावसायीक प्रयोजन तथा व्यक्तिगत प्रयोजनका लागि रियल टाइम डाटा बिक्री गरिरहेको उनले जानकारी दिए। यसमा अल डाटा, इन्डेक्स डाटा, फ्लोरसीट डाटा, लाइभ टे«डिङ डाटा र मार्केट समरी बिक्री गरिरहेको हो। यस्तो तथ्यांक खरिद गर्नका लागि नेप्सेमा इच्छुकले तोकिएको मापदण्ड पूरा गरेर निवेदन पेस गर्नुपर्छ। नेप्सेले आवश्यक ठानेका कम्पनीहरुलाई तथ्यांक बिक्री गर्ने प्रवक्ता पराजुलीको भनाइ छ।
नेप्सेसँग तथ्यांक खरिद गर्नका लागि गत जेठमा १० वटा कम्पनीले निवेदन दिएका थिए। जसमा नेप्सेले ८ वटासँग सम्झौता गरेको थियो। तर, हालसम्म ६ वटा कम्पनीलेमात्रै मासिक शुल्क भुक्तानी गरी नेप्सेबाट सूचीकृत कम्पनीको सम्पूर्ण तथ्यांक खरिद गरिरहेका छन्। एभरेस्ट एम्पायर प्रालि, खल्ती, आइएमएस प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि, अनलाइन मार्ग मिडिया प्रालि, सोर्स कोड प्रालिले नेप्सेबाट तथ्यांक खरिद गरिरहेका छन्।
नेप्सेमा सूचीकृत कम्पनीहरुको रियल टाइम डाटा बैंक तथा वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी र वित्तीय विश्लेषक कम्पनीले लिँदा तथ्यांकको प्रकारअनुसार प्रति महिना २ हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म, तथ्यांक वितरक कम्पनी र वित्तीय औजार विकासकर्ता कम्पनीहरुले पुन–वितरण प्रयोजनका लागि प्रति महिना ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म, सञ्चार माध्यमहरुले समाचार प्रयोजनाका लागि प्रतिमहिना १ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ।
साथै, नेप्सेले गैर–व्यापारीक, शैक्षिक तथा अनुसन्धानत्मक प्रयोगका लागि विश्व विद्यालय, कलेज तथा गैर–नाफामूलक संस्थाहरुलाई प्रति महिना १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँ र विदेशी कम्पनीलाई प्रतिमहिना अमेरिकी डलर ५० देखि २ हजार डलरसम्म लिरहेको छ।