काठमाडौं। २०८१ को पहिलो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दिन खुलेकोमा चारै दिन सूचक घटेर कारोबार भयो। २०८० चैत २८ गते २०२५.७० बिन्दुमा रहेको नेप्से गत साता वैशाख ६ गतेसम्म ५३.५४ अंकले सूचक घटेर १९७२.१४ बिन्दुमा रोकियो। नयाँ वर्षको आगमनसँगै लगानीकर्तामा उत्साह आउने अपेक्षा गरिएपनि सेयर कारोबारले भने त्यस्तो देखाएन। गत साता नेप्से मात्रै घटेको होइन कारोबार रकम पनि झन्झन् खुम्चिँदै गएको छ।
खासगरी सरकारमा संलग्न दलहरु बदलिएपछि नेप्सेमा सुधार आउने अपेक्षा धेरैको थियो। त्यसैको रागमा सुरुवाती चरणमा नेप्सेले नयाँ अवसर पनि सिर्जना गर्यो। तर, नयाँ सरकार निर्माणसँगै अर्थमन्त्री वर्षमान पुनको बोली र व्यवहार फरक भएपछि सूचकमा निरन्तर गिरावट देखिएको छ। फागुन २० गते नेप्से १९६०.३० मा थियो। सरकारमा संलग्न दलहरुको फेरबदल र अर्थमन्त्री पुनको सकरात्मक बोलीलाई विश्वास गरेका कारण नेप्से फागुन २९ मा २१११.२१ बिन्दुसम्म पुुग्यो।
तर, सरकार गठन भएको डेढ महिनासम्म सेयर बजार सुधारका लागि कुनै सरकारीस्तरबाट कुनै कदम नचालिएको, बरु नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुुक्तिमा चलखेल देखिएको, फेरी सरकार परिवर्तन हुने चर्चा चुलिएको, सेयरको भित्रि कारोबार (इन्साइडर ट्रेडिङ) को विषयमा प्रहरीले अनुसन्धान गर्ने विषय प्रवेश गरेको, बैंक तथा वित्तीय संस्था सम्वन्धी प्रस्तावित (वाफिया) ऐनमा १ प्रतिशत बढी सेयर हुने व्यक्ति सञ्चालक चुनिन सञ्चालक हुने संस्थाको चुक्ता पुँजीको एक प्रतिशतभन्दा कम सेयर लिएको हुनुपर्ने व्यवस्था र चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैतसम्म)को सूचीकृत कम्पनीहरुको वित्तीय विवरण अझ खस्किएका कारण लगानीकर्ताको मनोबलमा ठेस लागेकाले बजार अझै घट्ने आंकलन हुन थालेको छ।
यद्यपी वाणिज्य बैंकको अधिकांस कम्पनीहरुको सेयर मूल्य अंकित मूल्य नजिक र २ सय रुपैयाँभन्दा तल छ। लगानीकर्ता देव गुरागाईंकाअनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगिको विषयमा चर्चा चुलिएको र सरकार फेरी परिवर्तनको बाटोमा धकेलिने आशंकाले सेयर बजारमा थप निरासा छाएको छ।
‘समग्र वित्तीय सूचकहरु खराबै भइसकेका छैनन्। तर, राजनीतिक समिकरण बदलिने चर्चाले केही शिथिलता ल्याएको छ,’ लगानीकर्ता गुरागाईं भन्छन्, ‘इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीले गर्दा बजार सुद्धिकरणमा सहयोग मिल्ने भएपनि अतिरञ्जित तरिकाले चर्चापरिचर्चा गर्दा त्यसको असर सेयर बजारमा परेको हुनसक्छ।’ अनुसन्धानमा प्रहरी प्रवेश गर्दा तत्काल भित्रि कारोबार अर्थात् बदमासी गरेर कमाउने धन्दावालहरु तर्सिने अवस्था भएपनि सामान्य लगानीकर्ताहरुले नकरात्मरुपमा लिनुपर्ने आवश्यकता नरहेको गुरागाईं बताउँछन्।
गत शुक्रबार अधिकांस बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण हेर्दा पनि बैंक तथा वित्तीय संस्थातर्फ तत्कालै लगानीकर्ता उत्साहित हुने अवस्था देखिएको छैन। तर, धेरै नकारात्मक पनि देखिँदैन। लगानीकर्ताहरुकाअनुुसार बजार खुम्चिँदा पनि धेरै झर्ने ठाउँ छैन। सुधाुरिन पनि केही न केही सकारात्मक परिवर्तनको आशा जाग्नुुपर्छ। तर, कुनै सकारातात्मक कदम नउठाउँदासम्म नेप्से सूचक १९५० देखी २०५० बीचमा रहने लगानीकर्ताहरुको अनुमान छ। बजारमा लामै वियरिस देखिएको खण्डमा सूचक १९०० सम्म झर्न सक्ने अनुमान हुन थालेको छ। यद्यपी लगानीकर्ताहरु सूचकभन्दा पनि आफ्नो पोर्टफोलियो हेर्नुपर्ने बताउँछन्। राम्रो कम्पनी छनोट गर्ने क्षमता राखेमा बजार घटेपनि डराउनु नपर्ने लगानीकर्ताहरुको भनाई छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्ने समय नजिकिँदैछ। सरकारको नीति तथा कार्यक्रम र बजेट आउने समय पनि करीव १ महिना बाँकी छ। बजार घटेर नयाँ लगानीकर्ताका लागि केही सस्तोमा किन्ने मौका मिलेपनि आत्तिनुुपर्ने अवस्था भने छैन। नयाँ बजेटमा केही नीतिगत सुधार हुने अपेक्षा लगानीकर्ताको छ। सुरुवाती समयमा अर्र्थमन्त्री पुनले बोल्ने लगानीकर्तालाई आशा देखाएपनि व्यवहारमा कुनै काम भएको छैन। विगतमा अर्थमन्त्रीले बोलेपछि सकरात्मक भएको बजार पछिल्लो समय दिनानुुदिन घट्दै गइरहेको छ।
अर्का लगानीकर्ता छोटेलाल रौनियारकाअनुसार पछिल्लो समय कुल गार्हस्थ उत्पादन –जिडिपी० कम भएपनि भारत, जापान लगायत धेरै मुलुकका सेयर बजार बढेर उच्च विन्दुु हासिल गरिरहेका छन्। तर, नेपालको बजार भने निरन्तर घट्दो छ। ‘अहिले ६० लाख लगानीकर्तामध्ये २५ लाख जति मात्रै सेयर बजारमा टिकेका होलान्। धेरैले त निरास भएर बजार छोडिसकेका छन्,’ रौनियार भन्छन्, ‘नेपालमा नेपाल राष्ट्र बैंकको नीतिले राम्रोसँग काम गर्न सकेको छैन। सरकारले भूतप्रभावि र संसारमै नलगाइएको कर उठाउन थालिएको छ। सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर कसैले चासो नदिँदा समस्या भएको छ।’ पछिल्लो समय बजारको ठुला हिस्साको रुपमा रहेको बैंकिङलगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित हुन नसक्दा पनि बजार घट्दै गएको रौनियारको भनाइ छ।
वित्तीय क्षेत्रमा पर्याप्त तरलता (लिक्विडिटी) भएपनि कर्जा प्रवाह बढ्न सकेको छैन। निक्षेपको ब्याजदर निरन्तर घटेपनि कर्जाको ब्याजदर घटेको ऋणीले महसुस गर्न सकेका छैनन्। यस्तो अवस्थामा बैंकमा थुप्रिएको पैसा बजारमा पुगे मात्रै अर्थतन्त्र चलयमान हुन्छ र आर्थिक स्थिति सुधारमा मद्दत पुग्छ। आर्थिक सुधारको संकेत देखिएमा त्यसको असर सेयर बजारमा पनि पर्छ। सेयर बजार सुधारका लागि लगानीकर्ताले निरन्तर आवाज उठाइरहेपनि लगानीकर्ता बरु थाकिसके तर, कतैबाट सुुनुुवाईको संकेत मिलेको छैन।
लगानीकर्ता नवराज दाहाल संघीय संसदमा पेश भएको बाफिया विधेयकका कारण पनि बैंकतर्फका लगानीकर्ता विस्तारै अन्य क्षेत्रमा सिफ्ट हुँदाको समग्र असर सूचकमा परेका बताउँछन्। ‘प्रहरीले अनुसन्धान गर्ने हल्लाले थोरै प्रभावित पारेको हुनसक्छ। तर, संसदमा दर्ता भएको बाफिया विधेयकमा राखिएको स्वामित्व, कर्जा सीमा र कडाईका कारण संस्थापकले सेयर बिक्री गरेर बैंकतर्फको मूल्य अझै झार्ने हुन् कि भन्ने देखिन्छ,’ दाहाल भन्छन्, ‘अन्यथा बैंकमा केही राम्रो हुनासाथ यसतर्फ लगानीकर्ताको आकर्षण बढ्छ।।’ हुनत, अहिले कारोबार नै खुम्चिएर दुई अर्बमा सिमित भएको छ। अहिले बजारमा ‘ड्राइ’ देखिएकाले सूचक माथि जाने संकेत भएपनि कहिले माथि जान्छ भन्ने निक्र्यौल गर्न कठिन रहेको दाहाल बताउँछन्।