आँखा, कपाल, अनुहारजस्तै नङको स्याहारसुसार र सजावट पनि जरुरी हुन्छ। आफ्ना हातखुट्टाका नङ सुन्दर देखाउन विभिन्न आकार र रङमा शृंगार्ने चलन छ। नङ सजावट (नेल आर्ट) पनि कला नै हो। यसले एकातर्फ नङ सजाएर सुन्दर बन्न चाहनेको इच्छा पूरा गरेको छ भने अर्कोतर्फ नङ सजावटको काम गर्ने व्यक्ति (नेल आर्टिस्ट)लाई रोजगारी अवसर पनि दिएको छ।
हाम्रो शरीरका अन्य अंग सुन्दर बनाएजस्तै नङ सजाउने र हेरचाह गर्ने विषय पनि महत्त्वपूर्ण छ।
विवाह, भोजभतेर, अन्य विभिन्न पर्वाेत्सवमा विशेषगरी फरक–फरक डिजाइनका नङ बनाउने गरिन्छ। पछिल्लो समय यसरी नङ सजाउनेको संख्या पनि बढ्दै गएको छ। त्यसैले नेल आर्ट भनेको के हो, नङको हेरचाह कसरी गरिन्छ, नङ सजाउने के–कस्ता तरिका तथा डिजाइन हुन्छन् भन्ने विषयमा चर्चा गरौंं।
सामान्यतया नेलमा विभिन्न डिजाइन भर्ने, पोलिस गर्ने, अलग–अलग रङ लगाएर नङलाई सजाउने तथा बुट्टा भर्ने काम वा कलालाई नेल आर्ट भनिन्छ। हिजोआज नेल आर्ट फेसनै बनेको छ। तर, नेल आर्ट सिकेर वा त्यसको विषयमा जानकारी लिएर मात्र गर्दा उचित हुन्छ। यसै पनि पछिल्लो समय नेल आर्ट गर्ने र सिक्ने तथा यही सीप सिकेर बिदेसिने क्रम पनि बढ्दो छ। शैक्षिक योग्यता आवश्यक नपर्ने भएकाले जोकोहीले नेल आर्टको काम गर्न सकिन्छ।
नङको हेरचाह
साधारणतया पानी खेलाउँदा, भाँडा माझ्दा, कपडा धुँदा नङमा असर पुग्छ। साबुन र सरफले नङलाई सुक्खा बनाउँछन्। त्यसैले नङ पाल्न चाहने वा सजाउन चाहनेले यस्ता काम गर्न पन्जा लगाएर गर्दा उपयुक्त हुन्छ। यदि यस्ता कुरामा ध्यान नपु¥याए नङ टुक्रिने, पत्रपत्र उप्किने समस्या आउँछ। अधिकांशले नङमा साधारण नेल पोलिस वर्षैभर प्रयोग गर्छन्। यसले पनि अक्सिजनको कमी भई नङलाई विस्तारै पहेंलो बनाउँदै लग्ने नेल आर्टिस्ट बताउँछन्।
त्यसैले नेल पोलिस गर्नुअघि भिटामिन–ई भएको बेसकोट लगाएर मात्रै पोलिस गर्नुपर्ने हुन्छ। साधारण पोलिस प्रयोग गर्नुभन्दा केही समयका लागि नेल एक्सटेन्सन गर्दा राम्रो हुने दरबारमार्गमा रहेको ‘डी भान युनिसेक्स सैलुन’का नेट आर्टिस्ट सुजन तिमल्सिना बताउँछन्। ‘नेल आर्ट गर्दा सही सामग्री तथा उचित तरिका जाने माात्रै त्यसले राम्रो गर्छ,’ तिमल्सिना भन्छन्।
नेल आर्ट गर्ने तरिका र यसका डिजाइन
नङमा विभिन्न रङ लगाएर, आफूलाई मन पर्ने बुट्टा भरेर तथा आकार दिएर नङ सजाउने गरिन्छ। नेल आर्ट गर्दा प्रयोग गर्ने सामग्री र विधिको जानकारी महत्त्वपूर्ण हुन्छ। कुनै पनि नङ सजाउँदै गर्दा त्यसलाई स्यानिटाइज गरेर, रिमुभरले सफा गरेर बेसकोट लगाइन्छ। यसपछि मात्रै आफूलाई मन पर्ने नेल पोलिस गर्दा उचित हुन्छ। नेल पोलिस गरेर सुक्खा भएपछि त्यसको माथिबाट नङलाई आकर्षक बनाउन विभिन्न ग्लिटर, स्टोनजस्ता सामग्री लगाउन सकिन्छ।
डी–भान सैलुनले पनि यस्ता कुरामा ध्यान दिने गरेको छ। थ्रीडी नेल आर्ट, जेल नेल आर्ट, वानस्ट्रोक नेल आर्ट, मार्बल नेल आर्ट, फ्रेन्चलगायत विभिन्न डिजाइनका नेल आर्ट हुने गरेको आर्टिस्ट तिमल्सिना बताउँछन्। उनका अनुसार पछिल्लो समय सेलिब्रिटीदेखि सामान्य महिलाको नेल आर्टतिर क्रेज बढ्दो छ। फेसनको दुनियाँमा यसले पनि नयाँपन दिएको छ।
‘नेलपोलिस रिमुभर प्रयोग गर्दा एसिटोन फ्री वाला रिमुभरले गर्नुपर्छ। कडा खाले रिमुभर प्रयोग गर्दा छिटो काम गर्छ भन्ने बुझाइले नङमा असर पु¥याउँछ,’ तिमल्सिना भन्छन्,’ ‘कडा रिमुभरले हाम्रो नेललाई ड्राइ गराइदिन्छ।’ उनका अनुसार कडा किसिमको रिमुभरमा एसिटोनको मात्रा धेरै हुने हुँदा नङमा क्षति पु¥याउँछ।
नेल एक्स्टेन्सन
साना नेललाई लामो बनाउने प्रक्रियालाई नेल एक्सटेन्सन भनिन्छ। नेल आर्ट र नेल एक्सटेन्सन फरक कुरा हुन्। ‘नङ बढाउने, जोड्ने काम नै नेल एक्सटेनसन हो। नेल एक्सटेन्सन नङ टोक्ने बानी भएका महिलाका लागि उपयुक्त मानिन्छ,’ आर्टिस्ट तिमल्सिना भन्छन्। सामान्यतया एक पटक नेल एक्स्टेन्सन गरेपछि त्यसले एक महिनासम्म काम गर्छ।
नेल एक्सटेन्सन गर्दा हात पनि राम्रो र सफा देखिन्छ। विशेषतः हात राम्रो बनाउन नेल आर्ट र एक्सटेन्सन गर्ने गरिन्छ। नेलले मान्छेको व्यक्तित्व झल्काउन पनि भूमिका खेल्छ। मानिस सुन्दर देखिनुमा हातको नङको भूमिका हुन्छ। ‘डी भान युनिसेक्स सैलुन’ ले पनि लामो समयदेखि नेल आर्टको काम गर्दै आएको छ।
डी भानले सानो र थोरै स्पेस हुने नङमा पनि आकर्षक डिजाइन बनाएर सबैको ध्यान खिचिरहेको छ। डी भानमा सेलिब्रिटी मात्र नभई गृहिणी महिला पनि नेल आर्टका लागि पुग्ने गरेको आर्टिस्ट तिमल्सिना बताउँछन्। डी भानमा डिजाइन गर्ने मात्रै नभई सीप सिक्नसमेत मानिस आउँछन्।
(क्यापिटल म्यागिजनकाे चैत अंकबाट)