काठमाडौं। स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासमा सहयोग पुर्याउने उद्देश्यले चितवनमा आजदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ सुरु भएको छ।
भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सवअन्तर्गत चितवन उद्योग संघ र कम्प्युटर एसोसिएसन नेपाल महासंघ चितवनको संयुक्त आयोजनामा सुरु मेला उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी गरे।
मन्त्री भण्डारीले देशमै औद्योगिक उत्पादन वृद्धि गरेर नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
उनले साना तथा मझौला उद्योगको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीका पीरमर्का सम्बोधन गर्न उचित नीति बनाएर कार्यान्वयनका लागि तयार रहेको प्रतिबद्धता जनाए।
आयोजक संस्था चितवन उद्योग संघ अध्यक्ष सूर्यप्रसाद न्यौपानले विश्वमा नै आर्थिक मन्दी देखिएको वर्तमान समय औद्योगिक उत्पादनको खपतमा गिरावट आइरहेको, अधिकांश उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगिसकेको र सञ्चालनमा रहेका उद्योगसमेत न्यून क्षमतामा चलिरहेकाले उद्यमशीलताको अस्तित्व संकटमा पर्ने देखिएको बताए।
कार्यक्रममा बागमतीका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल उद्योग परिसंघ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, कम्प्युटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष रन्जितकुमार पोदार, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेललगायतले प्रदर्शनी सफलताको शुभकामना व्यक्त गरे।
प्रदर्शनीमा चितवन उद्योग संघ, कम्प्युटर एसोसिएसन नेपाल महासंघका चितवन शाखाका पूर्वअध्यक्षहरु, पदाधिकारी एवं सदस्यको पनि सहभागिता थियो।
प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरसहित चितवनका स्थानीय पालिकाको सहयोग रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी प्रदेशलगायतबाट स्टल सहभागिता छ।
प्रदर्शनी अवधिमा आज ‘नेपालमा स्टार्टअप इको सिस्टम र टेक्नोलोजिकल इनोभेसन’ र चैत १० मा दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती’ शीर्षकमा प्यानल डिस्कसनसहितको सेमिनार आयोजना गरिनेछ।
प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नवीनतम प्रविधि अनुशरणमा सहयोग पुग्ने, कृषिजन्य, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवं उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्ने, बिटुबी तथा बिटुसी मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणका लागि सहयोग पु¥याउने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने विश्वास आयोजकको छ।
प्रदर्शनीअन्तर्गत कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा चितवनको समृद्धि सूचना प्रविधि नारासहित ‘छैँटौं टेकमाइन्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१’ आयोजना गरिएको छ।
प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप तथा मोबाइल खरिद गर्न पाइने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्रान्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुटलगायत सुविधा तथा सहुलियत प्रदान गरिनेछ।
अनलाइटबाट रजिस्ट्रेसन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्तामध्येबाट दैनिक तीन जनालाई गोला प्रथाको माध्यमबाट आकर्षण गिफ्ट ह्याम्परलगायत दिइनेछ।
प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीका लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाइ र बिहानको नास्ता, चितवन उद्योग संघ पदाधिकारीबाट जिप सफारी, दोस्रो पुरस्कारका रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकका उत्पादन र तेस्रो पुरस्कारको रुपमा आयोजक संस्था क्यान महासंघ चितवन शाखाबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको प्रदर्शनी तथा व्यवसाय प्रवर्द्धन विभागका संयोजक दिनुपकुमार बरालले जानकारी दिए।
कार्यक्रममा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपाली नवप्रवर्तन, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा क्रियाशील उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गर्न क्यान इन्फोटेक सातवटै प्रदेशमा गरिने योजना रहेको बताए।