काठमाडौं। आज शनिबार भइहाल्यो। अघिपछिजस्तो आज उपत्यकाका सडकमा खासै जाम छैन, एकाध ठाउँबाहेक। यो साताका ६ वटै दिन उपत्यकामा सार्वजनिक सवारीसाधन प्रयोगकर्ताका लागि कष्टकर रहे। निजी सवारी भएकालाई पनि उस्तै कष्ट।
सामान्यतया उपत्यकामा सवारी जाम भीभीआईपी र भीआईपीहरुको आउजाउले हुने आमप्रचलनको थिति बसालिएको छ। पछिल्लो समय राष्ट्रप्रमुख/सरकार प्रमुखका कारण उपत्यकामा हुने सवारी जामबाट सर्वसाधारणले भने राहत पाएका छन्।
तर, यो साताको ट्राफिक जाम राजनीतिले नभई नवयौवनाहरुको लगनगाँठो र धार्मिक अनुष्ठान, पाठपूजाले भएको हो। कारणचाहिँ वैशाख ७ पछि शुक्र अन्ध हुने भएपछि बिहे, व्रतबन्ध, धार्मिक अनुष्ठान गर्नु अशुभ हुने धार्मिक मान्यता छ। त्यसैले यो साता सडक यात्रामा निस्केकादेखि अड्डा, अदालत धाउनेसम्मले ट्राफिक जामको कष्ट सहे।
तपाईंले पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा सवारीसधान जाम बढेको महसुस गर्नुभएको छ? विशेषगरी कार्यालय समय सवारीसाधन प्रयोग गरी कतै आउजाउ गर्नुभएको छ भने पक्कै यस्तो महसुस तपाईंलाई भएकै होला। यसको अलावा सडक आउजाउ गर्ने बटुवाहरुले जाम अत्यधिक भएको भन्दै गुनासो तथा चर्चा गरेको पनि पक्कै सुन्नुभएकै छ।
हुन त, ट्राफिक जाम हाम्रा लागि पहिलेदेखिको समस्या हो। तर, पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा हुने सवारीसाधन जाम बढेर गएको छ।
सीमित ट्राफिक प्रहरीले व्यवस्थापन गर्दै आएका सहरी चोकमा अहिले केही बढी मात्रामा ट्राफिक खटिएका छन्। ट्राफिक जाम व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले जेब्रा क्रसिङमा स्वयंसेवक पनि खटिएको अवस्था छ।
विशेषगरी पछिल्लो समय सडक मर्मत, तार भूमिगत कार्य, पैदलयात्री हिँड्ने सडकपेटी मर्मत तथा बिहे–व्रतबन्धजस्ता कार्यले जाम बढेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठका अनुसार उपत्यकामा सवारीसाधनको चाप पछिल्लो केही दिनयता बाक्लो छ। विवाह र व्रतबन्धको लगन पनि यसै समय परेकाले जाम बढेको प्रवक्ता श्रेष्ठ बताउँछन्।
‘चाडपर्व, बिहेमा आउजाउ गर्दा मानिस सवारीसाधन प्रयोग बढी गर्छन्। विवाह व्रतबन्धको लगन परेको समय पनि सवारीसाधन प्रयोग बढ्ने र मानिस नै सडकमा ट्राफिक जाम हुने गरी हिँड्ने गर्छन्,’ प्रवक्ता श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘अहिले पार्टी प्यालेस भरिभराउ छन्। मानिस आउजाउ गर्ने र बाहिर बढी हिँड्ने क्रम बढेको छ। यसको असर सवारीसाधन जाममा देखिएको हो।’
साथै, सडकको आकार पहिलेजस्तै हुनु तर सवारी अधिक थपिनुले पनि जाम बढ्दै गएको प्रवक्ता श्रेष्ठ बताउँछन्। लामो समयदेखि सडक विस्तार हुन सकेको छैन। सोही सडकमा सञ्चालन हुने सवारीसाधन भने बर्सेनि ठूलो मात्रामा भित्रिन्छिन्। सवारीसाधनको वृद्धि यही रफ्तारमा हुने र सडक विस्तार नहुने हो भने भोलिका दिनमा जामको समस्या थप बढेर जाने श्रेष्ठको बुझाइ छ।
अहिले विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक जामका कारण आउजाउ गर्न यात्रुलाई कठिनाइ भइरहेको छ। यसको मुख्य कारण सडक क्षेत्रफलको क्षमताभन्दा बढी सवारीसधान सडकमा प्रयोग हुनु हो। सवारीसाधन संख्या दिनप्रतिदिन थपिँदै जाने, पूर्वाधारको अवस्था उस्तै रहँदासम्म ट्राफिक जामको समस्या समाधान हुन नसक्ने प्रवक्ता प्रवक्ता श्रेष्ठ दाबी गर्छन्।
अर्कोतर्फ सडक अव्यवस्थित ढंगले भत्काउने र बनाउने काम चलिरहेकाले पनि त्यसको असर सवारी जाममा परेको छ। बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएका उपत्यकाका विभिन्न स्थानमा बिजुली तार भूमिगत गर्न सडक किनारामा खाल्डो खन्ने काम भइरहेको छ। काठमाडौं महानगर तथा सरकारले सडकपेटी निर्माण गरिरहेकाले पनि त्यसको असर ट्राफिक व्यवस्थापनमा देखिएको हो।
ट्याक्सी सेवा प्रालिका सञ्चालक अध्यक्ष राजनकुमार श्रेष्ठ ट्राफिक व्यवस्थापन थप जटिल र चुनौतीपूर्ण बन्दै गएको बताउँछन्। ‘काठमाडौं उपत्यकामा दिन–प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, साँघुरा सडक, सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी सडक प्रयोगकर्तामा रहेको ज्ञानको कमी र ज्ञान भएकाबाट समेत हुने ट्राफिक नियम उल्लंघनले ट्राफिक व्यवस्थापन झन् चुनौतीपूर्ण बनेको छ,’ श्रेष्ठले भने।
उपत्यका बाहिर जाने र भित्रिने सवारीसाधन उपत्यकाभरि नै दौडिरहेका हुन्छन्। निश्चित ठाउँ तोकेर त्यहीँबाट मात्रै उपत्यका बाहिर जाने र आउने सवारीसाधनको सीमा तोकिएको छैन। मालवाहक र निर्माण सामग्रीदेखि अन्य किसिमका वस्तु ओसारपोसार गर्ने सवारीसाधन पनि दिनभर गुडिरहन्छन्। यसले पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ।
यातायात व्यवसायी सरोज सिटौला सुस्त सडक पूर्वाधार र अस्तव्यस्त सवारीसाधनले काठमाडौं उपत्यकालाई कुरुप बनाएको बताउँछन्। ‘काठमाडौं उपत्यका मोटरसाइकलको संख्या मात्रै २५ लाख पुगिसकेको छ। यो उपत्यका र यहाँका सडकले कति नै सवारीसाधन थेग्न सक्छ?’ सिटौला भन्छन्, ‘दुईपांग्रे सवारी झनै अव्यवस्थित ढंगमा चलिरहेको पाइन्छ।’
उनका अनुसार ट्राफिक जाम कम गर्ने हो भने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित र मर्यादित पार्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक छ। व्यक्तिगत गाडी र मोटरसाइकलमा हिँड्ने मान्छेलाई सार्वजनिक सवारीसाधनमा चढ्ने वातावरण बनाए सवारीसाधनको संख्या कम भएर जाम कम हुने सिटौलाको तर्क छ।
हाल ग्वार्खो फ्लाईओभर निर्माण भइरहेको छ। चक्रपथका विभिन्न ठाउँमा पनि सडक निर्माण चलिरहेको छ। कतिपय ठाउँमा बिजुलीका तार व्यवस्थापन भइरहेको छ भने सडक छेउमा निर्माणाधीन घर तथा भवनले पनि सडकको दायरामा संकुचन ल्याएका छन्।
सडकमा दैनिक मोटरसाइल र अन्य सवारी थपिने क्रम बढ्दो छ। ‘मोटरसाइकल, कार, सार्वजनिक यातायात, सरकारी साधन आदिको चाप उपत्यकामा धेरै भयो,’ सिटौला भन्छन्, ‘ट्राफिक नियन्त्रणलाई व्यवस्थापन गर्न द्रुत बस सेवा सुरु गरिए पनि नियमित हुन सकेन। ट्राफिक जाम नियन्त्रण गर्न सरकारबाट कुनै काम भएको छैन।’ सार्वजनिक सवारी आरामदायी र व्यवस्थित नहुँदा मानिस आफ्नै निजी सवारीसाधन जोड्नतिर लागेको बताउँछन्, उनी।