काठमाडौं। सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू भएकाे छ। दुईदिने बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी २ हजार ४५४ जना सहभागी भएकाे एमालेले जनाएको छ।
बैठक उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गरे। बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत गरिने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरिने छ। प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन्।
मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्ने विश्वास विभाग प्रमुख गौतमले व्यक्त गरे।
परिषद् बैठकपछि वैशाख १० मा पार्टी स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान गरेका व्यक्तिलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।