काठमाडौं। २६ वर्षअघि बन्द भएको नेपाल ओरिण्ड म्याग्नेसाइट उद्योग सञ्चालनमा अस्ट्रियन कम्पनीले चासो देखाएको छ। दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने खरिढुंगास्थित ओरिण्ड म्याग्नेसाइट उद्योग सञ्चालनको सम्भाव्यता अध्ययनका लागि अस्ट्रियन कम्पनीको टिम मंगलबार उद्योग क्षेत्र पुगेको हो।
भीमेश्वर नगरपालिका–९ रहेको उद्योग सञ्चालनको सम्भाव्यता अध्ययनका लागि अस्ट्रियन कम्पनीको टिम आएको भीमेश्वरका मेयर ईश्वर मानन्धरले जानकारी दिए।
‘बुधबार दोलखा पुगेको अस्ट्रियन टिमले उद्योगको स्थलगत अध्ययन गरेर फर्किएको छ,’ मेयर मानन्धरले भने, ‘सञ्चालनका लागि आए स्थानीयको तर्फबाट सहजीकरण गर्न तयार छौं।’मेयर मानन्धरका अनुसार यसअघि पनि अस्ट्रियाको टिम दोलखा पुगेर उद्योगको अध्ययन गरेको थियो।
२०८० चैत २२ मा ओरिण्ड म्याग्नेसाइट उद्योगको स्थलगत अध्ययनका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग सञ्चालनका लागि सरकारले छिट्टै निर्णय गर्ने प्रतिबद्धता जनाएका थिए।
‘बन्द उद्योग सञ्चालनका लागि सरकारले गर्नुपर्ने सहजीकरण गर्न सरकार तयार छ,’ उद्योगमन्त्री भण्डारीले भनेका थिए, ‘साझेदारसँग छलफल गरी तत्कालै नयाँ निर्णय गर्नेछौं।’
ओरियन्ट म्याग्नेसाइटसहित मुलुकभर बन्द अवस्थामा रहेका उद्योग सञ्चालनका लागि सरकारले नयाँ मोडल तयार पार्ने उद्घोष भइरहेका बेला अस्ट्रियन कम्पनीको प्रतिनिधि दोलखा पुग्नुलाई सकरात्मक रुपमा लिनुपर्ने लगानी बोर्डका पूर्वसञ्चालक सदस्य एवं व्यवसायी बालकृष्ण शिवाकोटीको भनाइ छ।
‘राज्यको नियम, कानुन मानेर उद्योग सञ्चालन गर्न कुनै पनि मुलुकका लगानीकर्ता आउँछन् भने तिनलाई रेड कार्पेट बिछ्याएर स्वागत गर्नुपर्छ’, व्यवसायी शिवाकोटीले भने, ‘अध्ययनलाई निष्कर्षमा पु¥याएर सञ्चालनमा ल्याउनुपर्छ।’
वर्षौंदेखि बन्द भएको उद्योग सञ्चालन गर्न सरकारी स्तरबाट गाँठो फुकाएर वैदेशिक लगानीलाई सहजीकरण गर्नसमेत उनको सुझाव छ।
२०५५ देखि बन्द यो उद्योग २०३५ मा सञ्चालनमा आएको थियो। सञ्चालन भएको बेला यो उद्योग दक्षिण एसियाकै सबैभन्दा ठूलो थियो। यो उद्योग ३ अर्ब ५९ करोड रुपैयाँको लगानीमा सञ्चालन भएको थियो। अहिले उद्योग भग्नावशेषमा परिणत भइसकेको छ।
२०५५ मंसिर २५ देखि पूर्ण रुपमा बन्द छ। सोही कारण उद्योग सञ्चालनका लागि अधिग्रहण गरेको ५ हजार ५ सय ६६ रोपनी जमिनसमेत अलपत्र छ। २०५९ सालयता नेपाल सरकारको रुग्ण उद्योगको सूचीमा छ।
उद्योगमा सरकारको ७५, खेतान समूहको १२ दशलमव पाँच र भारतको ओडिसा इन्डस्ट्रीको १२ दशमलव पाँच प्रतिशत लगानी छ।
२०३५ चैत २४ मा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ मा रहेको लामोसाँघुमा स्थापित यो उद्योगको खानी क्षेत्र दोलखाको भीमेश्वर नगरपालिका–९ खरिढुंगामा छ।
तत्कालीन पञ्चायत सरकारले उद्योग रहेको स्थान सिन्धुपाल्चोकको लामोसाँघुमा ३६६ रोपनी जग्गामा उद्योगसहित विभिन्न संरचना बनाएको थियो। खरी खानी रहेको दोलखाको खरिढुंगामा ५ हजार २ सय रोपनी क्षेत्र समेटेर विशाल खानी सञ्चालन गरेको थियो।
सेयर बिक्री गर्दै खेतान समूह
१२ प्रतिशतm सेयर स्वामित्व रहेको खेतान समूह म्याग्नेसाइट उद्योगबाट बाहिरिने तयारी गरेको छ। सरकारसँग कुरा नमिलेकै कारण उद्योग बन्द भएको चर्चा भइरहेका बेला खेतान समूह सेयर बिक्री गर्ने तयारीमा लागेको हो।
यो उद्योग राजेन्द्र खेतानका भाइ सिपी खेतानले हेर्दै आएका छन्। सिंगापुरमा बस्दै आएका सिपीले अस्ट्रियन कम्पनीलाई आफ्नो १२ प्रतिशत सेयर बिक्री गर्न लागेका हुन्। ‘सिंगापुरबाटै अस्ट्रियन कम्पनीसँग सेयर खरिदका लागि डिल भएको छ,‘ खेतान समूह निकट एक व्यवसायीले भने, ‘सम्भवतः डिल सहमति नजिक पुगेकाले प्राविधिक टोली अध्ययनका लागि पठाएको हुन सक्छ।’