काठमाडौं। पुराना ऋणीले समयमै कर्जाको साँवाब्याज भुक्तानी नगर्दा बैंकहरूमा निष्कृय कर्जा (एनपिएल) ह्वात्तै बढेको छ। चालू वर्षको तेस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूको एनपिएल ४ प्रतिशतमाथि पुगेको हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको निष्कृय कर्जा अनुपात ५ प्रतिशत तल हुनुपर्ने गरी नियमन र सुरपरिवेक्षण गरेको हुन्छ। कुनै पनि बैंकहरूको यस्तो कर्जा अनुपात ५ प्रतिशत हाराहारीमा भएको अवस्थामा पनि केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा असुलीमा केन्द्रीत हुन सुझाउने गरेको छ।
साथै, ५ प्रतिशतमाथि निष्कृय कर्जा भएका बैंकहरूलाई भने सुधारात्मक कारबाही गरिरहेको हुन्छ। सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले चालू वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। यसमध्ये अधिकांश अर्थात् ९ वटाको एनपिएल ४ प्रतिशतमाथि छ भने लक्ष्मीसनराइज बैंकको एनपिएल ५ प्रतिशतमाथि छ।
उक्त अवधिमा वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकमा सबैभन्दा कम र सबैभन्दा बढी लक्ष्मीसनराइज बैंकमा निष्कृय कर्जा मौज्दात छ।तत्कालीन लक्ष्मी बैंक र सनराइज बैंकले गत वर्षको असार अन्तिममा एकीकृत कारोबार गरेका हुन्। एकीकृत कारोबारपछि लक्ष्मीसनराइजलाई पुरानो कर्जा असुलीमा सकस भएको तथ्यांकले देखाउँछ।
गत वर्षको चैत मसान्तसम्म लक्ष्मी सनराइज बैंकको एनपिएल १.८२ प्रतिशत थियो। (जसमा लक्ष्मीको मात्रै हो, सनराइज बैंकको ३.३६ प्रतिशत) रहेको थियो। चालू वर्षको चैत मसान्तसम्म यस्तो कर्जा बैंकमा ५.४९ प्रतिशत पुगेको छ।
राष्ट्र बैंकले लक्ष्मी सनराइजलाई संस्थामा निष्कृय कर्जा ५ प्रतिशमाथि पुग्दा के–कस्तो नियामकीय तथा सुपरिवेक्षकीय कारबाही गर्छ, बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण पेस गरेपछि थाहा हुन्छ। बैंकहरूले राष्ट्र बैंकमा त्रैमासिक वित्तीय विवरण त्रैमास समाप्त भएको १५ दिनभित्र पेस गर्नु पर्ने नियामकीय प्रावधान छ।
९ बैंकको एनपिएल ‘बोर्डर लाइनमा’
बैंकहरूले कर्जा सम्झौताअनुसार ऋणीसँग साँवा ब्याज उठाउन नसके राष्ट्र बैंकको प्रावधानमा रहेर उठ्न बाँकी कर्जालाई समयअनुसार वर्गीकरण गरेर नोक्सानीबापत प्रोभिजन गर्नुपर्छ। यसरी प्रोभिजन भएको कर्जालाई एनपिएलमा राख्नुपर्छ।
चाालू वर्षको चैत मसान्तसम्म २० मध्ये लक्ष्मीसनराइज बैंकसहित ९ वटाको एनपिएल ४ प्रतिशतमाथि छ। बाँकी ११ मध्ये ३ वटाको ३ देखि ४ प्रतिशतसम्म, ४ वटाको १ देखि २ प्रतिशतसम्म र एभरेष्ट बैंकको १ प्रतिशतभन्दा कम ०.७० प्रतिशत छ।