काठमाडौं। चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ। एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेजले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिएको हो।
एक्स्पो आगामी वैशाख १२, १३ र १४ मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ। वैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (ईभी) र्याली गर्दै एक्स्पोको सुरु हुनेछ भने वैशाख १३ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पो उद्घाटन हुने कार्यतालिका तय भएको इप्पान अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए।
विद्युत्को आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिने ईभी र्याली स्काईवाक टावर कमलादीबाट सुरु भई विद्युत् प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटरलगायत मुख्यमुख्य स्थान हुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी आयोजना स्थल भृकुटीमण्डपमा समापन हुनेछ।
र्यालीमा विद्युतबाट चल्ने दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे र ६ पांग्रे ईभीलाई निःशुल्क सहभागी गराइनेछ।
‘समृद्धिका लागि हरित ऊर्जा’ नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन ईभी र्यालीका अलवा प्रदर्शनी स्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेस मिटिङ पनि आयोजना गरिएको छ। जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसीलगायतका कम्पनीका प्रतिनिधिसँग बिजनेस मिटिङ हुनेछन्। एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टल बुकिङ सम्पन्न भइसकेको छ।
आर्थिक गतिविधि सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता भएको अध्यक्ष कार्कीले बताए।एउटा आयोजना बनाउन जेजति सेवा र वस्तुहरु चाहिन्छन् सबै एकैठाउँमा पाइने भएकाले ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सबैले एकपटक एक्स्पो भिजिट गर्नैपर्ने पनि उनले सुझाए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय दूतावास रहेको छ। नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाबारे ज्ञान र सूचना आदान–प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानका महासचिव बलराम खतिवडाले बताए।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय÷कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिज्ञ नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसाय कम्पनी, बैंक तथा वित्तीय संस्थालगायत निकायका प्रतिनिधिलगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँनयाँ प्रविधि र उपकरणको प्रदर्शनी गरिने एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज कार्यकारी निर्देशक विजयसागर प्रधानले बताए।