क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
लघुवित्त संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत साढे १ अर्ब रुपैयाँ सेवाशुल्क लिएको पाइएको छ। गत वर्ष ४८ लघुवित्त वित्तीय संस्थाले ऋणीसँग एकीकृत निर्देशन, २०७९ को निर्देशनमा भएको व्यवस्था विपरीत करिब १ अर्ब १४ करोड सेवाशुल्क असुलेका हुन्। राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागद्वारा सार्वजनिक ‘लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण वार्षिक प्रतिवेदन, २०७९÷८०’ अनुसार गत वर्षमा तोकिएको नीति निर्देशन उल्लंघन गरेर व्यवसाय गर्दा दर्जन बढी संस्था कारबाहीमा परेका छन्।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब ४ करोड रुपैयाँ जरिमाना तोकेको छ। विशेष अदालतले उनलाई सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०८० चैत ७ मा दोषी ठहर गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख २ मा न्यौपानेलाई १ वर्ष कैदसहित ३ करोड ९८ लाख रुपैयाँ जरिमाना सुनाएको हो।
सिस्नेखोला–नागढुंगा सुरुङमार्गको ब्रेक थ्रु (छिचोलिएको)गरिएको छ। नेपाललाई सुरुङ युगमा लैजाने महत्त्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुंगा सुरुङमार्ग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३ मा स्वीच थिचेर ब्रेक थ्रु गरेका हुन्। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर छ। सुरुङ मार्ग ब्रेक थ्रु भए पनि सवारीसाधन चल्न भने अझै एक वर्ष कुनुपर्ने निर्माण आयोजनाले जनाएको छ।
महालेखा परीक्षकमा तोयम राय नियुक्त भएका छन्। संवैधानिक परिषद्को सिफारिसअनुसार वैशाख ४ मा संसदीय सुनुवाइ समितिले रायको नाम महालेखा परीक्षकमा नियुक्त गर्न सर्वसम्मत अनुमोदन गरेको थियो। उनलाई संवैधानिक परिषद् बैठकले गत चैत १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो। राष्ट्रिय तथ्यांक कार्यालयका सचिवसमेत रहेका रायको महालेखामा ६ वर्षे कार्यकाल रहनेछ।
यो साता सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५३.५६ अंकले घटेको छ। साताको चार कारोबार दिनमा चारै दिन घटेको नेप्से अन्तिम कारोबार दिन वैशाख ७ मा आइपुग्दा १९७२.१४ को बिन्दुमा सीमित भएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिनमा भने नेप्से २०२५.७० बिन्दुमा रहेको थियो। सेयर बजारमा यो साता कुल ९ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता भने कुल १० अर्ब ७९ करोडको कारोबार भएको थियो।
सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ। वैशाख ६ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै, सहसचिव बैकुण्ठबहादुर अधिकारी सचिवमा बढुवा भएका छन्। सहसचिव अधिकारीलाई लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखा परीक्षक)मा बढुवा गर्ने निर्णय भएको हो। यसैगरी सहसचिव केदारनाथ शर्मा सचिवमा बढुवा भएका छन्। वैशाख ६ को मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई बढुवा गर्ने निर्णय गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले पूर्ववर्ती मन्त्री शरतसिंह भण्डारीका पालामा ७०० बाट बढाएर २८०० पु¥याइएको वैदेशिक रोजगार अभिमुखीकरण सेवाशुल्क खारेज गरेका छन्। वैशाख ६ को मन्त्रीस्तरीय निर्णयले गत २०८० असोज ७ मा गरिएको कार्यविधिको पहिलो संशोधन खारेज गरेको हो। २ हजार १ सय तालिम शुल्क र ७ सय परीक्षा शुल्क लिने भनिएको थियो। गत पुस २४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट वैदेशिक रोजगारी व्यवस्थापन र सामाजिक सुरक्षालगायत विषयमा मन्त्रालयलाई १६ बुँदे निर्देशन दिँदै रोजगार अभिमुखीकरण शुल्क खारेज गर्न भनिएको थियो।
सरकारले यस वर्ष (२०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रुपमा मनाउने भएको छ। नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रस्तावअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको मन्त्री शक्तिबहादुर बस्नेतले वैशाख ६ मा बताएका हुन्। नवीकरणीय र स्वच्छ ऊर्जाको विकास एवं विस्तार गर्ने लक्ष्यका साथ सरकारले नवीकरणीय ऊर्जा वर्ष मनाउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो। ऊर्जा परिसंघले सरकारलाई वर्ष २०८१ लाई ऊर्जा वर्षको रुपमा मनाउन प्रस्ताव गरेको थियो।
बैंकहरुको ९ महिने नाफा खुम्चिएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २० वाणिज्य बैंकहरुले ४२ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत वर्षको सोही अवधिको तुलनामा उक्त नाफा १३.५२ प्रतिशत कम हो। गत वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले ४९ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। वाणिज्य बैंकहरुमा वैशाख ७ मा सार्वजनिक चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा अधिकांश बैंकहरुको खुद नाफा घटेको छ।
गत वर्षको चैत मसान्तको तुलनामा चालू वर्षको सोही अवधिमा १३ वटा बैंकको नाफा १.९९ प्रतिशतदेखि ५२.३१ प्रतिशतसम्मले घटेको छ। बाँकी ७ वटा बैंकको खुद नाफा भने एक वर्षको अवधिमा ५.७७ प्रतिशतदेखि ९७.२२ प्रतिशतसम्म वृद्धि भएको छ। चालू वर्षको ९ महिनामा ६ वाणिज्य बैंकले ३ अर्ब, १० वटाले १ अर्बदेखि २ अर्बसम्म खुद नाफा आर्जन गरेका छन्।