काठमाडौं। मुलुक आर्थिक मन्दीबाट गुज्रिएको अवस्थामा पनि १० वटा वाणिज्य बैंकहरूले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा कमाएका छन्। चालू वर्षको तेस्रो त्रैमासमा अधिकांश बैंकहरूको वित्तीय सूचकांक नकारात्मक हुँदा १० वाणिज्य बैंकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने गरी वित्तीय विवरण प्रकाशित गरेका हुन्।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार अधिकांश वाणिज्य बैंकहरूको वित्तीय स्थिति खस्किएको छ। पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुस्तताबीच व्यापार व्यवसायमा मन्दी छाउँदा बैंकिङ क्षेत्रतर्फ पनि कर्जा माग घटेको छ। बैंकिङ व्यवसाय अपेक्षित रुपमा विस्तार नहुँदा बैंकको खुद नाफा घटेसँगै वितरणयोग्य नाफा नकारात्मक भएको हो।
सञ्चालनमा रहेका २० बैंकमध्ये १० वटाले मात्रै तेस्रो त्रैमासमा सेयरधनीलाई प्रतिफल दिने क्षमतासहतिको वित्तीय विवरण प्रकाशित गरेका छन्। चालू वर्षको ९ महिने वित्तीय विवरणअनुसार सिटिजन्स, राष्ट्रिय वाणिज्य, सानिमा, प्राइम, कृषि विकास, नबिल, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआइ र एभरेष्ट बैंकको मात्रै वितरणयोग्य नाफा सकारात्मक छ।
यसमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा एभरेष्ट बैंकको र सबैभन्दा कम सिटिजन्स बैंकको रहेको छ। उक्त अवधिमा सिटिजन्सले १ करोड ८९ लाख, राष्ट्रिय वाणिज्यले २४ करोड ६२ लाख, सानिमाले ७५ करोड ६८ लाख, प्राइमले ३१ करोड ३३ लाख, कृषि विकास १ अर्ब १२ करोड ८६ लाख, नबिलले १ अर्ब ५४ करोड ७० लाख, स्ट्यान्डर्ड चार्टर्डले १ अर्ब ८१ करोड ७२ लाख, एभरेष्टले २ अर्ब ७५ करोड ११ लाख र प्रभु बैंकले १६ करोड ६६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको हो।
चालू वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार १० वटा बैंकको वितरणयोग्य नाफा नकारात्मक छ। वितरणयोग्य नाफा नकारात्मक रहेका बैंकहरूले उक्त अवधिको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता राख्दैनन्। यद्यपि लाभांश भने आगामी असारको वित्तीय विवरणका आधारमा अर्कोे वर्ष मात्रै दिन सक्छन्।
चालू वर्षको ९ महिने परिवेशले बैंकहरूको स्वास्थ्य राम्रो नभएको देखाएको हो। उक्त अवधिमा १० वाणिज्य बैंकको वितरणयोग्य नाफा २७ करोडमाथि ५ अर्ब २४ करोड रुपैयाँसम्म नकारात्मक छ। यसमा सबैभन्दा बढी वितरणयोग्य नाफा नकारात्मक हिमालयन बैंकको र सबैभन्दा कम सिद्धार्थ बैंकको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड र कुमारी बैंकको ४ अर्ब २० करोड रुपैयाँ वितरणयोग्य नाफा नकारात्मक छ। बाँकी ४ बैंकको १ अर्बमाथि २ अर्बसम्म र ४ वटाको १ अर्ब रुपैयाँभन्दा कमले वितरणयोग्य नाफा नकारात्मक भएको हो।
यद्यपि यी बैंकले चालू वर्षको बाँकी ३ महिनामा कडा मिहिनेत गरेर ऋण असुलीलाई तीव्रता दिए भने नाफा बढी निकाल्ने अवसर अझै छ।