ठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २० वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत वर्षको सोही अवधिको तुलनामा उक्त नाफा ११.५९ प्रतिशत कम हो। गत वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले ४६ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले चालू वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय प्रकाशित गरिसकेका छन्। बैंकद्वारा प्रकाशित वित्तीय विवरणअनुसार उक्त अवधिमा अधिकांश बैंकहरुको खुद नाफा घटेको छ।
गत वर्षको चैत मसान्तको तुलनामा चालू वर्षको सोही अवधिमा १२ वटा बैंकको नाफा १.९९ प्रतिशतदेखि ९२.६८ प्रतिशतसम्मले घटेको छ।८ वटा बैंकको खुद नाफा भने एक वर्षको अवधिमा ५.७७ प्रतिशतदेखि ९७.२२ प्रतिशतसम्मले वृद्धि भएको छ।
गत वर्षको चैत मसान्तमा कमाएको नाफामा चालु वर्षको चैतमा सबैभन्दा बढी वृद्धि गर्नेमा कृषि विकास बैंक र सबैभन्दा कम वृद्धि गर्नेमा एभरेष्ट बैंक रहेका छन्। उक्त अवधिमा नेपाल बैंकको खुद नाफा सबैभन्दा बढी ९२.६८ प्रतिशतले घट्दा सबैभन्दा कम सिटिजन्स बैंकको १.९९ प्रतिशतले घटेको छ।
यस्तै, चालू वर्षको ९ महिनामा सबैभन्दा बढी नबिल बैंक ४ अर्ब ६६ करोड र सबैभन्दा कम माछापुच्छ्रे बैंकले ८५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। उक्त अवधिमा ग्लोबल आइएमई ३ अर्ब ३० करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। सबैभन्दा कम नेपाल बैंकले १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
चालू वर्षको ९ महिनामा ६ वाणिज्य बैंकले ३ अर्ब रुपैयाँसम्म खुद नाफा कमाउँदा ९ वटाले १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म खुद नाफा आर्जन गरेका छन्।
(यसअघि केही तथ्यांक समस्या आएकाले सच्याइएको छः सम्पादक)