काठमाडौं । हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले नचाहेपछि नेपाल इन्भेस्टमेन्ट बैंकसंग (एक आपसमा गाभिने) मर्ज हुन नसकेको खुलेको छ । नेपाल इन्भेस्टमेन्ट र हिमालयनबीच मर्जका लागि सहमति जुटे पनि अध्यक्ष श्रेष्ठको अडानका कारण प्रक्रिया पटकपटक अवरुद्ध हुँदै आएको छ ।
दुई बैंक मर्ज भएपछि अध्यक्ष पद गुम्ने र विभिन्न गलत कार्यको पर्दाफास हुन डरले मर्जरमा श्रेष्ठ बाधक भएको हिमालयनका एक सञ्चालकले क्यापिटल नेपाललाई बताए ।
‘उहाँले बैंकको अध्यक्ष भएर विभिन्न गतल कार्य गर्नु भएको छ’ ती सञ्चालकले भने, ‘ मर्ज हुने बित्तिकै उहाँ (मनोज बहादुर श्रेष्ठ) ले गरेको सम्पूर्ण गलत काम बाहिर आउने भएपछि मर्जर रोक्नु भएको हो ।’ उनका अनुसार श्रेष्ठ बाहेक इन्भेस्टमेन्ट र हिमालयनका हरेक सञ्चालक तथा संस्थापक लगानीकर्ता मर्जरमा गएर आफनो बैंकलाई ठूलो बनाउन चाहेका छन ।
‘आफू अध्यक्ष भएर आएपछि आफू निकटका व्यक्तिलाई जागिर दिने, राम्रो राम्रो ठाउँमा सुरुवा र बढुवा गर्ने काम गर्नु भएको छ,’ ती सञ्चालकले भने, ‘बैंकमा गरेको हालिमुहाली रोकिने वा गुम्ने भएपछि उहाँ कुनै पनि बैंकसँग मर्ज गर्न चाहानुहुन्न ।’
इन्भेस्टमेन्टले पनि हिमालयनसँग मर्जका लागि पटक–पटक इच्छा देखाएको हो । इन्भेस्टमेन्टका सञ्चालक तथा संस्थापक लगानीकर्ताले पनि हिमालयनसँग मर्ज गर्न सुझाइसकेका छन । दुवै बैंकका सञ्चालक तथा लगानीकर्ता एक आपसमा मर्ज हुन सहमत भए पनि श्रेष्ठले अड्को थाप्दा मर्ज प्रक्रिया अघि बढ्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकले आफ्नो जोडी खोज्न बैंकहरुलाई निर्देशन दिएपछि इन्भेस्टमेन्टले हिमालयनसँग मर्जका लागि पटक–पटक छलफल गरिसकेको छ । ‘खाइपाइ आएको सुविधा खोसिने भन्ने उनलाई ठूलो चिन्ता छ । इन्भेस्टमेन्टसंग मर्ज हुने बित्तिकै उनले अध्यक्ष पाउँदैनन,’ ती सञ्चालकले भने, ‘त्यही भएर उहाँले बैंकलाई मर्जमा जानै दिनु हुँदैन ।
हिमालयनमा वेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) को प्रवेश हुँदै छ । पाकिस्तानको हविव बैंकले आफनो २० प्रतिशत स्वामित्व सीडीसीलाई बिक्री गर्न लागेपछि मर्ज प्रक्रिया रोकिएको हिमालयनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशम्शेर राणाले बताए ।
नयाँ बैंकको प्रवेश हुने भएकाले नेपाल राष्ट्र बैंकले अहिले मर्जमा जानलाई जोड नगरेको उनले सुनाए । हविवबाट सीडीसीमा स्वामित्व हस्तान्तरणपछि औपचारिक रुपमा मर्जमा जानका लागि प्रक्रिया अघि बढेको उनले जानकारी दिए । उनले विभिन्न बैंक तथा वित्तीय संस्थासंग छलफल भइरहेको बताए पनि नाम भने खुलाउन चाहेनन ।
हिमालयनले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । हिमालयनले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ । राष्ट्र बैंकबाट स्वीकृत हुन साथ वार्षिक साधारणसभाको मिति तोक्ने तयारीमा हिमालयन रहेको छ ।
हिमालयनले गत आर्थिक वर्षमा २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो । हिमालयनले यसवर्ष ३ अर्ब रुपैयाँ खुदनाफा कमाउने लक्ष्य राखेको छ । लगानी विस्तार गरेर नाफा बढाउने लक्ष्य बैंकको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ८० करोड रुपैयाँ खुदनाफा गरेको छ । साझेदार सीडीसी ग्रुपबाट ३ करोड अमेरिकी डलर अर्थात साढे ३ अर्ब रुपैयाँ ऋण लिने तयारी अघि बढाएको छ ।
यस्तै नेपाल इन्भेस्टमेन्टको लाभांश केन्द्रीय बैंकले स्वीकृत गरेपछि बैंकले ३३ औं वार्षिक साधारणसभा पुस २८ गर्ने भएको छ । साधारणसभामा बैंक तथा वित्तीय संस्थासंग मर्जर र प्राप्ति प्रक्रिया अघि बढाउन सझदारीपत्र (एमओयू) मा हस्ताक्षर, सैदान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिने र बैंकको चलअचल सम्पत्ति तथा दायित्व मूल्याँक (डीडीए) गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा पेश हुने भएको छ ।
सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । ८.५ प्रतिशत नगद र १०.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव बैंकले गरेको छ । इन्भेस्टमेन्टको चुत्तापुँजी १२ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ छ । यस्तै जगेडा कोषको आकार १० अर्ब ४२ करोड रुपैयाँ छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा इन्भेस्टमेन्टले ८४ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ । हिमालयनको ८ अर्ब ५२ करोड रुपैयाँ चुत्तापुँजी र जगेडा कोषको आकार ५ अर्ब ७९ करोड रुपैयाँ छ ।