काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कर्मचारीलाई नबिराएर/नडराएर काम गर्न निर्देशन दिएकी छन्। नेपाल टेलिकममा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी संगठनको पाँचौं केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले कानुनको परिधिभित्र रहेर मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन्।
उनले पछिल्लो समय कर्मचारीहरुमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने बताइन्। ‘विभिन्न नियमनकारी निकायहरुले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नैपर्ने काममा पनि डराउने गरेको देखिएको छ,’ भन्त्री शर्माले भनिन्, ‘कर्मचारीले नडराएर नविराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ, कसैले पनि गल्ती गरिएन र कानुनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन।’
गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले गल्ती नगर्नेहरु डराउन नपर्ने बताइन्। ‘बेइमानी नगरौं, बदमासी नगरौं तर कानुनको परिधिभित्र रहेर काम गर्न नडराऔं,’ मन्त्री शर्माले भनिन्, ‘हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीहरुलाई कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्न चाहन्छु।’
मन्त्री शर्माले अहिले नेपालमा कर्मचारीको सेवा सुविधा न्यून रहेको उल्लेख गर्दै मुलुकको आर्थिक उन्नतिसँगै सेवा सुविधा पनि बढ्दै जाने दाबी गरिन्। सफा नियतले काम गर्ने हो भने राजनीतिक, प्रशासनिक वा अन्य कुनै पनि क्षेत्रमा समस्या नआउने मन्त्री शर्माको भनाइ छ।
सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै डिजिटल नेपाल निर्माणको महत्वपूर्ण डिजिटल पूर्वाधार दूरसञ्चार भएकाले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याउन अनिवार्य रहेको उनले बताइन्।
‘हामीले चालू आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा सबै वडा केन्द्रसम्म इन्टरनेट सेवा पुर्याउने भनेका छौं तर अहिले पनि कतिपय पालिकामै सेवा नपुगेको गुनासो आइरहेको छ,’ मन्त्री शर्माले भनिन्, ‘डिजिटल डिभाइडको अवस्था अन्त्य गर्न टेलिकमले अघि सारेका परियोजना जतिसक्यो चाँडो पूरा गर्न आग्रह छ।’