काठमाडौं। इटालीका मास्टर सेफ पासक्युलिनो बारबास्सो अहिले नेपालमा छन्। चर्चित मास्टर सेफ बारबास्सो बुधबार दिउँसो कालीमाटी तरकारी बजारमा देखिए। बजारमा रहेका साँग, डल्ले च्याउ, प्याज, गोलभेडा, लसुन र भेडे खुर्सानीलगायत तरकारी छान्दै खरिद गरेको देखिन्थे।
कतार एयरवेजमार्फत नेपाल आएका मास्टर सेफ बारबास्सो होटलमा मात्र बसेन, तत्कालै आवश्यक तरकारी खरिदका लागि कालीमाटी बजारमा पुगेका हुन्। काठमाडौं म्यारियटको फेसबुक पेजमा तरकारी बजारमा तरकारी छान्दै गरेको भिडियो अहिले धेरैले रुचाइरहेका छन्। इटालियन मास्टर सेफ आफंैले कालीमाटी तरकारी बजारमा गएर तरकारी खरिद गर्नुलाई धेरैले सकारात्मक रुपमा लिएका छन्।
...
यो त्यही कालीमाटी तरकारी बजार हो, जहाँ चिनियाँ अर्बपति ज्याकमा नेपाल आउँदा त्यहाँ पुगेका थिए। अलिबाबाका संस्थापकसमेत रहेका ज्याकमाले कालीमाटी तरकारी बजारको निरीक्षण÷अवलोकन गरेका थिए। उनको त्यो तस्बिर सामाजिक सन्जालमा निकै चर्चित भएको थियो।
किन आएका हुन् मास्टर सेफ बारबास्सो
पिज्जाप्रेमीका लागि सेफ बारबास्सो नौलो नाम हैन। सेफ बारबास्सो काठमाडौं म्यारियटको पाँचौं वार्षिकोत्सव मनाउन बुधबार काठमाडौं आइपुगेका मास्टर सेफ पिज्जाका लागि प्रसिद्ध मानिन्छ। काठमाडौं म्यारियटले वार्षिकोत्सव अवसरमा पिज्जा बनाउने तालिमसमेत आयोजना गरेको छ। सो अवसरमा उनलाई भेट्न पाइनेछ।
सीमित सिटमा मास्टर सेफमार्फत पिज्जा बनाउन तालिम आयोजना गरिएको होटलले जनाएको छ। अन्तर्राष्ट्रिय गुणस्तर र इटालियन स्वादमा पिज्जा बनाउन म्यारियटले तालिम आयोजना गरेको हो। पछिल्लो समय नेपालमा इटालियन रेस्टुरेन्ट विस्तारै सञ्चालनमा आइरहेका छन्।
को हुन् मास्टर सेफ बारबास्सा
इटालियन पिज्जा बनाउने प्रसिद्ध सेफको रुपमा बारबास्सालाई लिन सकिन्छ। इटालीको चर्चित पिज्जाओलो एक्रोबेटिक पिज्जा बनाउने सबैभन्दा कुशल, प्रसिद्ध मास्टरमध्येका बारबास्सा एक हुन्। उनले विगत १० वर्षमा उनले इटालियन परम्पराअनुसार बनाइएका इटालियन पिज्जाको गुणस्तर र स्वाद बढाएर आफ्नो आश्चर्यजनक प्रस्तुति दिँदै संसार भ्रमण गरिसकेका छन्। उनले १७ वर्षको उमेरदेखि पिज्जा बनाउन सुरु गरेका थिए।
इटालीमा पिज्जा बनाउने तालिम दिन आफ्नै स्कुल र व्यवसाय सञ्चालन गर्दै छ। उनले संसारभरि पिज्जा प्रदर्शनसमेत गर्दै आएका छन्। उनले बनाएको पिज्जा खान मात्र है,न हेर्न पनि धेरै मानिस आउने गरेको बताइन्छ। कोलकाताको हायात रिजेन्सीले केही महिनाअघि मात्र सेफ बारबास्सालाई लिएर विशेष खाना पकाउने कक्षा आयोजना गरेको थियो।
३८ वर्षदेखि चलेको कालीमाटी तरकारी बजार
काठमाडौं उपत्यकाबासीलाई तरकारी खुवाउने मुख्य बजारको रुपमा रहेको कालीमाटी तरकारी बजार २०४३ देखि सुरु भएको हो। ३८ वर्ष अघिबाट सुरु भएको यस बजारमा जिल्लाजिल्लाबाट तरकारी ल्याउने गरिएको छ भने यहाँका बजारलाई होलसेल मूल्यमा बिक्री गरिँदै आएको छ।
यो बजार तत्कालीन खाद्य तथा कृषि बजार सेवा विभागअन्तर्गत सञ्चालनमा आएको थियो। बजार सञ्चालनका क्रममा बजार आगमन र कारोबार स्थितिमा भएको विस्तार एवं बजार प्रयोगकर्ताको बढ्दो चापलाई लक्षित गरीइ सरकार तथा संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोषको सहयोगमा हालका अधिकांश संरचना निर्माण भएका हुन्।