काठमाडौं। पछिल्लो केही समययता सुन, पेट्रोल र अमेरिकी डलर तीनै वस्तुको मूल्य निरन्तर बढिरहेको छ। सुन र अमेरिकी डलरको भाउले दिनदिनै नयाँ रेकर्ड कायम गर्दा पेट्रोलको मूल्य पनि उकालो लागिरहेको छ। विश्वमा आर्थिक गतिविधि चलयमान हुनु, रुस युक्रेन युद्ध र इजरायल–इरान युद्धको असर पेट्रोलमा देखिएको छ भने अमेरिकी केन्द्रीय बैंकले बढाएको ब्याजको असर अमेरिकी डलरको भाउमा परेको छ।
यस्तै, विश्वका शक्ति राष्ट्रहरुको बेमेलको स्थितिले लगानीकर्ताले आफ्नो सुरक्षित लगानी गर्ने वस्तु सुनलाई बनाउँदा यसको सोझो असर सुनको मूल्यमा परेको छ। पछिल्लो केही समययता सुनको मूल्य निरन्तर उकालो लागेको छ। वैशाख ५ गते बुधबार नेपालमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ छ। मंगलबार पनि सोही मूल्यमा कारोबार भएको सुनको मूल्य बुधबार भने स्थिर रहेको हो।
यद्यपि सुनको मूल्य बिहीबार सामान्य घटेर छापावालको मूल्य १ लाख ३८ हजार ६ सय रुपैयाँ र तेजावीको मूल्य १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भयो। बिहीबार सामान्य घटे पनि मूल्यले नयाँ उचाइ कायम गरिसकेको छ। अमेरिकी डलरको भाउले भने नयाँ रेकर्ड बनाएको छ। वैशाख ४ गते मंगलबार १ सय ३३ रुपैयाँ ८२ पैसा रहेको अमेरिकी डलरको भाउ बुधबार १३ पैसाले बढेर नयाँ रेकर्ड कायम गरेको हो। बुधबार डलरको बिक्रीदर १ सय ३३ रुपैयाँ ९६ पैसा रहँदा खरिददर भने १ सय ३३ रुपैयाँ ३६ पैसा थियो। बिहीबार पनि सोही दरमा कारोबार भयो।
अर्कोतर्फ पेट्रोलको मूल्य पनि बढ्दो क्रममा छ। पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पनि हाल पेट्रोलको मूल्य माथिल्लो बिन्दुमा पुग्न लागिसकेको छ। एक वर्षअघि सन् २०२३ अप्रिल १७ मा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य प्रतिब्यारेल ८१.७२ अमेरिकी डलर थियो।
यसपछि घटेर २०२३ मे ३ मा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य प्रतिब्यारेल ७१.१७ पुगेको थियो। त्यसबाट बढेर गत सेप्टेम्बर २७ मा आइपुग्दा यसको मूल्य गएको एक वर्षकै उच्च अर्थात् ९४.३६ पुग्यो। तर, यसबाट पनि पुनः मूल्य घटेर गत डिसेम्बर १२ मा आईपुग्दा प्रति ब्यारेल ७३.२४ अमेरिकी डलर कायम भएको थियो।
त्यसपछि, उकालो लागेको पेट्रोलको मूल्य १७ अप्रिल २०२४ मा आइपुग्दा ९०.१० अमेरिकी डलर कायम भएको थियो। बुधबार अन्तर्राष्ट्रिय पेट्रोल प्रतिब्यारेल ८९.७४ अमेरिकी डलरमा कारोबार हुँदा बिहीबार पनि औसत ८६ डलरमा कारोबार भयो।
नेपालको सन्दर्भमा भने गएको सोमबार मात्रै पेट्रोलीयम पदार्थको मूल्यमा प्रतिलिटर ३ रुपैयाँको वृद्धि गरिएको छ। मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७८ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ। यसअघि १८ चैतमा पनि पेट्रोलको मूल्य ४ रुपैयाँ प्रतिलिटर बढाइएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएअनुसार नै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिँदै गएको छ। यी तीनै वस्तुको मूल्य अझै घट्ने सम्भावना देखिएको छैन।
अर्थविद् चन्द्रमणी अधिकारी विश्वमा आर्थिक गतिविधि बढ्दा माग बढ्ने भएकाले हाल पेट्रोलको मूल्य बढेको बताउँछन्। उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य जुनसुकै समयमा तल आउने सम्भावनामा पनि छ। तर, सुन र अमेरिकी डलरको भाउ भने तत्कालै तल आउने सम्भावना निकै कम छ। ‘विश्वमा आर्थिक गतिविधि बढ्यो भने तेलको माग बढ्छ र मूल्य वृद्धि हुन्छ। मन्दी छायो भने माग घटेर मूल्यमा गिरावट आउँछ,’ अधिकारी भन्छन्, ‘अहिले भारतको अर्थतन्त्रमा झन्डै ७ प्रतिशतको आर्थिक वृद्धि छ। अमेरिका र युरोपको आर्थिक अवस्था पनि सुधार भएको छ। चीनको अर्थतन्त्र गति लिँदै गएको छ। यसकारण स्वभाविक रुपमा तेलको मूल्य बढेर गएको हो।’
अर्थविद अधिकारीका अनुसार सुनको मूल्य भने अन्तर्राष्ट्रिय लगानीकर्ताको ट्रेन्ड परिवर्तन भएकाले निरन्तर रुपमा उकालो लागेको हो। विश्वमा रहेका एकथरी लगानीकर्ता दिर्घकालीन आम्दानी खोज्ने ढंगका हुन्छन् भने अर्कोथरी लगानीकर्ता अल्पकालीन प्रतिफल खोज्ने किसिमका हुन्छन्। मुख्यगरी दिर्घकालीन लगानीकर्ताले वैदेशिक क्षेत्रमा (एफडिआइ)मा लगानी गर्छन्। तर, अल्पकालीन लगानीकर्ता भने सुन, सेयर बजार, पेट्रोल र डलरमा लगानी गर्ने किसिमका हुन्छन्।
‘अहिले विश्वमा रुस–युक्रेन युद्ध पछि इरानले पनि इजरायलमा आक्रमण गरेको छ। शक्ति राष्ट्रहरु दुई ध्रुवमा विभाजित भएका छन्। यसले स्टक मार्केट तल लागेको छ भने सुनमा हुने लगानी बढेको छ,’ अधिकारी भन्छन्, ‘सुन विश्वास भएको धातुमा पर्छ। अहिले चीनले पनि सुनको भण्डारण बढाइरहेको छ। अन्य लगानीकर्ता पनि यसतर्फ आकर्षित हुँदै गएकाले अन्तर्राष्ट्रिय बजारमै यसको मूल्य बढेको हो।’
यस्तै, अमेरिकी डलरको भाउ बढ्नुको प्रमुख कारण भने अमेरिकी केन्द्रीय बैंकले बढाएको ब्याज नै रहेको अधिकारी बताउँछन्। उनका अनुसार अमेरिकन डलरमा केन्द्रीय बैंकले ब्याज बढाएपछि यसको भाउ बढ्न थालेको हो। मुख्यतः अमेरिकन बैंकको ब्याज बढेपछि त्यहाँ लगानी गर्नेलाई बढी प्रतिफल प्राप्त हुने गर्दछ। भारतलगायत मुलुकमा लगानी गरेकाले पनि अमेरिकामा ब्याज बढेसँगै त्यहीँ गएर लगानी गर्ने मात्रा बढ्दछ। यसरी अमेरिकन डलरको भाउ बढ्ने गरेको र हाल पनि सोही अवस्था देखिएको हो। अब ब्याजदर घटेमा मात्रै अमेरिकन डलरको भाउ घट्ने अर्थविद अधिकारीको भनाइ छ।
विश्वमा अहिले भएको बेमेलको स्थिति कम भएमा मात्रै सुनको मूल्य घट्ने भएकाले हाल स्थिर हुने सम्भावना देखिए पनि घट्ने संकेत देखिएको छैन। सुन, पेट्रोल हाम्रोमा उत्पादन नहुने वस्तु हुन्। अन्य वस्तुको जस्तै यी कुराको मूल्य पनि माग र आपूर्तिमा भर पर्छ। तेल विश्वका निश्चित मुलुकमा मात्रै उत्पादन हुन्छ। तेल उत्पादन हुने रुस, भेनेजुयलालगायत मुलुकलाई एक प्रकारको युद्धले गाँजेको छ। रुस युक्रेनको बीचमा अमेरिकाले पनि भूमिका खेलेको छ। यी मुलुकहरुको टकराव र बेमेलको कारण सुनलगायतको मूल्य बढेको छ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्री माग र आपूर्तिका कारण पछिल्लो समय सुन, तेल र डलरको भाउ बढिरहेको बताउँछन्। ‘अन्तर्राष्ट्रिय बजारमा पैसा भएका मानिसले आफ्नो आम्दानीको सुनिश्चितता खोज्ने क्रममा हाल सुनमा लगानी गरिरहेका छन्। यसको केही अंश तेलमा पनि गएको छ,’ क्षत्री भन्छन्, ‘साथै, कतिपय मुलुकमा मुद्रामा पनि लगानी हुन्छ। यसैको असर समग्र मूल्यमा परेको हो।’
पहिलेपहिले नेपाललाई आवश्यक्ता पर्दा सिंगापुरको बजारबाट भारतीय रुपैयाँ (आइसी) खरिद गरेर ल्याएको भन्ने सुनिन्थ्यो। पछि गएर रिजर्भ बैंकसँगै डलर तिरेर नेपालले आइसी लिन थाल्यो। यसैगरी, सुरक्षित क्षेत्र खोज्ने क्रममा विदेशी राष्ट्रमा अनौपचारिक रुपमा भए पनि मुद्रामा लगानी हुने गरेको छ। अहिले युक्रेनमा युद्ध भएकाले अन्य उत्पादन क्षेत्रमा लगानी गर्ने वातावरण कम छ। यसले गर्दा सुनमा लगानी गर्ने बढेको क्षत्रीको भनाइ छ।
‘हामीले यी वस्तुको विकल्प नखोजेका कारण जति मूल्य भए पनि स्वीकार गर्नुपर्ने अवस्था छ। औषधिको मूल्य जति भए पनि उपयोग नगरी नहुने भनेजस्तै अवस्था सुन, तेल र अमेरिकी डलरमा पनि छ,’ क्षत्री भन्छन्, ‘सुनको मूल्य कहिले एकैपटक २२०० बढेको र अर्को दिन ३ हजारले घटेको देखिन्छ।’ क्षेत्रीका अनुसार यी तीनै वस्तुको मूल्य विश्वमा भएको युद्ध र खटपट नरोकिएसम्म घट्ने सम्भावना निकै कम छ।
अर्थविद प्रा.डा. गोविन्द नेपाल विभिन्न देशबीचको युद्धले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध हुँदाको असर पनि यसको मूल्यमा परेको बताउँछन्। ‘अहिले विश्वका विभिन्न मुलुकबीचमा भएका युद्धले तेलको आपूर्तिमा अवरोध भएको छ। यसमा राजनीतिक कारण पनि सँगै जोडिएको छ,’ नेपाल भन्छन्, ‘युद्धले र अवरोधले गर्दा सम्बन्धित देशले केही बढी मूल्य खोजिरहेको अवस्था पनि छ।’
नेपालका अनुसार सम्पत्ति सञ्चय गर्ने माध्यमको रुपमा सुनलाई लिँदा ठुलो मात्रामा खरिद भइरहेको जस्तो पनि परिदृश्य देखिएको छ। डलरको तुलनामा नेपालको पैसा खस्किरहेको अवस्थाले पनि मानिसहरु सञ्चयतर्फ गइरहेका छन्। विश्वमा हुने युद्ध र अस्थिरताका कारण पनि सुनमा लगानी बढेर माग उच्च हुँदा मूल्य बढेको नेपालको भनाइ छ। तर, यकिन भन्न सक्ने अवस्था छैन।
‘पहिलो सुनको मूल्य बढ्यो भने डलरको मूल्य स्थिर हुने वा कम हुने हुन्थ्यो। अर्थात् सुनको मूल्य बढ्दा डलरको भाउ घट्ने र डलरको भाउ बढ्दा सुनको मूल्य घट्ने हुन्थ्यो। तर, अहिले दुवैको बढेको छ,’ नेपाल भन्छन्, ‘अहिले हतियारको मागले पनि डलरको मूल्य बढेको हुन सक्छ। डलर र सुनको भाउ किन यस्तो भयो भन्ने विषय अझै छुट्याउन नसक्ने अवस्था बनेको छ।’ नेपाल पहिला सुन दुई लाख पुग्छ भनेर भन्दा विश्वास नलाग्ने गरेकोमा हाल बढेको क्रमलाई हेर्दा हो कि जस्तो लाग्ने गरेको बताउँछन्।