उमेरले भर्खरै युवावस्था छोएका आशुतोष आचार्य व्यवहारले भने पाका लाग्छन्। रिसोर्टको ब्रान्डिङ, आतिथ्य र ग्राहकलाई कसरी खुसी बनाउने भन्ने ध्याउन्नमा निरन्तर खटिइरहेका हुन्छन्। २६ वर्षकै उमेरमा अर्बौंको सम्पत्तिलाई आफ्नो काँधमा सम्हालिरहेका छन्। अर्थात्, पुस्तौंदेखि सञ्चालन हुँदै आएको गोदावरी भिलेज रिसोर्ट र ललितपुरमा रहेको ग्रिन वीच होटल हाँकिरहेका छन्।
सामान्यतया उनको यो उमेर व्यावसायिक जिम्मेवारी बोक्ने पक्कै हैन। तर, आचार्यको पारिवारिक माहोल नै होटलियर भएकाले पनि अर्को विकल्प नरोजी पारिवारिक विरासतलाई अगाडि लगेर आफूलाई सफल सावित गराउन सक्रिय छन्।
नेपालकै पुरानो र विरासत बोकेको गोदावरी भिलेज रिसोर्ट आशुतोषका हजुरबुबा श्रीधरप्रसादले सन् १९९७ देखि सञ्चालन गरेका हुन्। हजुरबुबाले सुरु गरेको होटल व्यापारलाई उनका बुबा प्रवीणले साथ दिँदै आएका थिए। हजुरबुबा र बुबाले बिजनेस सम्हालिरहेका बेला आशुतोषका दाजुभाइलाई अहिले नै आफ्नो काँधमा व्यावसायिक जिम्मेवारी पर्ला भन्ने नसोचे पनि भविष्यमा हामीले गर्ने काम भनेको यही नै हो भन्ने लागेको थियो।
जब ७२ भूकम्पपछि हजुरबुबाको निधन भयो, त्यसपछि बुबाले मात्र एकल स्वामित्वमा काम गर्नुपर्ने बाध्यता आइप¥यो। हजुरबुबाको निधन भूकम्पमा परेर भएको भने होइन। ’संयोग यस्तो बन्यो कि भूकम्पले गोदावरी रिसोर्टमा रहेको एउटा भवन ध्वस्त भयो। त्यसको ठीक १२ दिनपछि हजुरबुबाको निधन भयो‘, आशुतोष सम्झन्छन्, ‘सायद घरको मूली र रिसोर्टको भवनसँग केही सम्बन्ध थियो होला।’ हुन पनि, त्यो भवन उनकै हजुरबुबाले बनाएका थिए।
‘बुबाको काँधमा एकैपटक सबै जिम्मेवारी परेपछि हामी दुई भाइले पनि अब बुबालाई सहयोग गर्नुपर्छ भन्ठानेर अध्ययन सकाएर काममा लागेका हौं’, उनले भने।
तीन दशकअघि २५ करोडमा बनेको थियो रिसोर्ट
तीन दशकअघि श्रीधरले जग्गाबाहेक २५ करोड लगानीमा रिसोर्ट निर्माण गरी सञ्चालन गरेका थिए। काठमाडौं बाहिरको पहिलो रिसोर्ट भएकाले धेरैले चल्नेमा आशंका गरेका थिए। तर, श्रीधर त्यो बेला तत्कालीन राजपरिवार र नेपाली काग्रेससँग नजिक हुँदा राजनीतिक भेटघाट एवं चहलपहलका कारण चर्चामा आइरहने भएकाले चल्न कुनै समस्या भएन। त्यसमाथि त्यो बेला अहिलेभन्दा धेरै विदेशी पर्यटक पनि आउने गरेका थिए। आचार्य परिवार गोदावरीकै स्थानीय हुन्। तर, रिसोर्ट सञ्चालन गर्न पुग्ने जग्गा भने थिएन।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंमा ल्याएर खुवाउने योजना बनाए। तर, मेलम्चीको पानीले मात्रै उपत्यकाको माग धान्न नसकिने भएपछि ललितपुरको कोड्कु खोलालाई मेलम्चीको विकल्पका रुपमा अघि सारियो।
खानेपानी अयोजना बन्ने भएपछि नजिकै रहेको बड्डीखेलमा जग्गा किनबेचको लहर चल्यो। त्यही समय हजुरबुबा श्रीधरले केही जग्गा किने र रिसोर्ट बनाउन प्रयोग गरे। त्यसो त, राजा ज्ञानेन्द्रले पनि गोदावरी नजिकै जग्गा किनेका थिए भने भट्टराई आश्रम पनि त्यही थियो। आचार्य परिवारले क्रमशः जग्गा जोड्दै जाँदा अहिले ८० रोपनी बनाएको छ।
सुरुमा रिसोर्ट निर्देशकको जिम्मेवारी लिँदा आशुतोषलाई असहज लाग्यो। २४ वर्षको उमेरमै काँधमा आएको नयाँ र महत्त्वपूर्ण जिम्मेवारी उनका लागि अवसर र चुनौती दुवै थियो। उनलाई अत्यास नलागेको होइन तर विचलित भएनन्।
८० रोपनी जग्गामा फैलिएको गोदावारी भिलेज रिसोर्टमा ६० कोठा छन्। ८० कोठा रहेको रिसोर्ट ७२ भूकम्पले २० वटा भत्किएपछि ६० कोठामा सीमित भएको हो। यस्तै, एउटा रेस्टुरेन्ट, ३ वटा हल र एउटा स्वीमिङ पुल, फिट्नेस सेन्टर र जिम छ। पहिला रिसोर्ट व्यवस्थापन विदेशीले हेर्थे। तर, माओवादी हिंसा र राजनीतिक अस्थिरताले विदेशीले व्यवस्थापन जिम्मेवारी छाडे। त्यसपछि आफ्नो अनुभव प्रयोग गर्दै रिसोर्टको सबै व्यवस्थापन आचार्य परिवारले सम्हाल्दै आएको छ।
आचार्य परिवारको पहिलो होटल ललितपुरको ग्रिन वीच हो। यो सन् १९८९ देखि सञ्चालनमा आएको थियो। ‘होटल ग्रिन वीच’ पनि हजुरबुबाले श्रीधरले नै सञ्चालन गरेका थिए। गाेदावरी भिलेज रिसोर्ट बनाएको ठाउँमा सडक थिएन। व्यवसाय सञ्चालनका लागि टौखेल चोकबाट उनीहरुले करिब १ किलोमिटर सडक आफैंले निर्माण गरे। हाल उक्त सडकलाई सरकारले लगानी गरेर लेले, चापागाउँ, हेटौंडा जाने मार्ग बनाएको छ।
विदेश पढाइ सकाएर स्वदेश फर्किएका आशुतोष
नेपालमा उपयुक्त रोजगारी र अध्ययन अवसर नभएको भन्दै बिदेसिने युवाको जमात बाक्लो छ। दैनिक बिदेसिने नेपालीले काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल भरिभराउ हुन्छ। रोजगारीमा जानेहरु नेपाल फर्किए पनि अध्ययनका लागि बिदेसिएकाहरु सहजै नेपाल फर्किंदैनन्।
आशुतोष २ वर्षअघि बेलायतबाट ‘बिजनेस म्यानेजमेन्ट’ मा मास्टर्स सकाएर नेपाल फर्किएका हुन्। आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएका उनलाई विदेशमै ‘सेटल’ हुन समस्या थिएन। तर, आशुतोषको मनले विदेश बस्नै दिएन।
नेपालको हावापानीदेखि परिवारले चलाउँदै आएको व्यवसायले उनको सशरीर विदेशमा भए मनचाहिँ नेपालले तानिरह्यो। ‘पढ्न विदेश गएको थिएँ। उतै बस्ने रहर थिएन। त्यही समय कोरोना संक्रमण सुरु भयो। नेपाल फर्किएर परिवारको व्यवसायलाई अघि बढाउन पाएँ खुसी छु,’ आशुतोष भन्छन्।
अध्ययनका लागि विदेश बसेको समय उनले काम पनि गरे। तर, अरुको नियन्त्रणमा बसेर काम गर्दा आशुतोषलाई नेपालमा स्वतन्त्र जीवनको सम्झनाले धेरै सताउँथ्यो। उनी भन्छन्, ‘कहिले पढाइ सकेर नेपाल फर्किएर आफ्नो व्यवसाय चलाउँला भन्ने लाग्थ्यो। अरुको अधीन रहेर काम गर्न सहज नहुँदो रहेछ।’ त्यसो त, उनले केही समय भारतमा तालिम पनि नलिएका होइनन्। विदेश बस्ने मोह आचार्यलाई कहिल्यै भएन।
डलर खर्चने पर्यटक कम आउन थाले
हजुरबुबाले मुख्य जिम्मेवारी लिएर गोदावरी रिसोर्ट चलाइरहँदा विदेशी पाहुनाको भीड लाग्थ्यो। समयक्रममा अहिले छिमेकी भारत र चीनका पर्यटकको संख्या बढेर अन्य देशका पर्यटक विस्तारै घट्दै गएको अनुभव आशुतोषको छ। नेपाल आउने पर्यटक फेरिएसँगै होटलको आम्दानी र कारोबार मुद्रामा पनि परिवर्तन भएको उनको बुझाइ छ। पहिला डरलमा हुने कारोबार चिनियाँ र भारतीय रकममा सीमित हुँदै गएको छ। यद्यपि नेपाली पर्यटक भने स्थिर छन्।
हजुरबुबाले रिसोर्ट चलाउँदा देशमा राजनीतिक स्थिरता थियो। नेपालबाट धेरै देशमा सीधा हवाई सेवा सञ्चालन हुने गथ्र्यो। अहिले राजनीतिक अस्थिरताकै कारण नेपाल वायुसेवा निगमको उडान खुम्चिएको छ। विदेशबाट आउने जहाज संख्यासमेत घटेको छ। सोही कारण खर्चालु पर्यटकको रोजाइमा नेपाल पर्न छाडेको उनी ठान्छन्। यसले पर्यटन क्षेत्रमा समस्या भएको आशुतोषको अनुभव छ। यसप्रति राज्यले गम्भीर भएर सोच्ने बेला आइसकेको उनी सुनाउँछन्।
हजुरबुबाको प्रेरणाले लिँदै गरेको उचाइ
आशुतोषको बाल मस्तिस्कले होटेलियर बन्ने सपना बुनेको थियो। ‘हजुरबुबाले तिमी ठूलो भएपछि यसलाई सम्हाल्नुपर्छ भन्दै गोदावरी रिसोर्ट घुमाएको याद अझै ताजै छ’, उनी विगत सम्झिन्छन्।
हजुरबुबाले हात समाएर हाल रिसोर्ट रहेको ठाउँमा घुमाएको र उनले गरेका काम अहिले पनि सम्झिरहन्छन्, आशुतोष।हजुरबुबाको भौतिक शरीर ब्रह्मलीन भए पनि आत्मा यही ठाउँमा बसिरहेको आभास उनलाई भइरहन्छ। ‘उहाँले हामीले गरेका कामलाई निगरानी गरिरहनु भएको होलाझैं लाग्छ,’ उनले भने।
घरमै हुन्छ बोर्ड मिटिङ
पारिवारिक बिजनेस भएकाले घरका सबैले होटलको जिम्मेवारी लिएका छन्। सोहीअनुसार घरमा खाना खाँदा होस् वा चिया–खाजा। जहिल्यै पनि बिजनेसकै चर्चा हुने गरेको आशुतोष बताउँछन्।
उनको परिवारमा ५ जना सदस्य छन्। उनीहरु सबैलाई आ–आफ्नो जिम्मेवारी तोकिएको छ। रिसोर्टको अध्यक्ष भवानी आचार्यले सम्हालिरहकी छन्। उनी आशुतोषकी हजुरआमा हुन्। उमेरले ८० वर्ष पुगिसकेकी भवानीले सल्लाह–सुझाव दिँदै आएकी छन्। आशुतोष र उनकी आमा निर्देशक (डाइरेक्टर) छन् भने दाइ शशांक उप–कार्यकारी निर्देशक(डीएमडी)र बुबा प्रवीण आचार्य प्रबन्ध निर्देशक छन्।
पर्यटन विकास गर्न आचार्यका टिप्स
विश्वका ८ बढी देश घुमिसकेका उनले नेपालजस्तो स्वच्छ हावापानी कतै पाएनन्। ‘नेपालको जस्तो प्राकृतिक हावापानी विश्वमा कहीँ–कतै पाइँदैन। जाडोमा घाम र गर्मीमा शितल हुन्छ। त्यसले म जहाँ गए पनि नेपाल सम्झिन्थें,’ उनले भने। नेपालीहरु जस्तो सहयोगी, इमानदार, ठूलालाई आदर र सानालाई सम्मान गर्ने मान्छे अरु देशमा नपाइने उनको अनुभव छ।
नेपाल प्राकृतिक रुपमा सौन्दर्यले भरिपूर्ण देश भएकाले थोरै खर्चमा पर्यटकले चाहेजति मनोरञ्जन लिन सक्छन्। सरकारले प्राकृतिक स्रोत–साधन परिचालन प्रभावकारी बनाएर प्रचार गर्दा नेपालमा पर्यटक भित्रिने सम्भावना झनै बढी रहेको उनको बुझाइ छ।
‘पर्यटन क्षेत्रको प्रचार–प्रसार धेरै भएन। हामीजस्ता लामो समयदेखि व्यवसाय गर्दै आएकालाई गाडी किन्दा भन्सार छुट भए पनि पर्यटक भित्र्याउने गरी केही सहयोग छैन,’ आशुतोषको गुनासो छ, ‘यहाँको ट्रेकिङ रुट, ताल, छोटो भौगोलिक दूरीमा रहेको मौसम परिवर्तनलाई प्रचार गर्न सके सस्तोमा घुम्न र खान सकिने नेपालबाहेक अर्को ठाउँ छैन।’
यसबाहेक गाँजालाई कानुनी मान्यता दिएरै व्यवसाय गर्नुपर्ने उनको तर्क छ। थाइल्यान्डमा गाँजालाई कानुनी मान्यता दिँदा त्यहाँको विकासले उचाइ छोएको ठान्छन्, उनी। गाँजाको राम्रो÷नराम्रो दुवै पक्ष भएको र राम्रोलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने उनको सुझाव छ।
अन्य जडीबुटीको फाइदा र औषधीय गुणको विषयमा पनि प्रचार गर्नु आवश्यक देख्छन्, आशुतोष। माओवादी हिंसात्मक द्वन्द्वले केही अस्थिर बने पनि नेपाल बुद्धको देश भएकाले शान्त लाग्ने उनको धारणा छ।
घुमफिरका सोखिन
२६ वर्षको उमेर आधुनिक प्रविधि र विकासमा रमाउने समय हो। तर, आशुतोष अरु युवाभन्दा भिन्न प्रकृतिका लाग्छन्। उनलाई धार्मिक र ऐतिहासिक ठाउँ घुम्न र त्यहाँको कलाकौशल हेर्न खुबै मन पर्छ।
उनलाई घुम्न लन्डन र भारत सबैभन्दा बढी मन पर्छ। भारतका धेरै मन्दिर एकैजस्तो देखिने तर नजिकबाट हेर्दा र बुझ्दा फरक–फरक रहेको पाइने उनले बताए। संस्कृति र इतिहास पनि उनको रोजाइमा पर्छ। भारतको रामेश्वरम र लन्डनमा इतिहास धेरै भेटिने तथा त्यहाँको आर्किटेक्चर पनि उनलाई विशेष लाग्छ।
आशुतोष नेपालमा धेरै ठाउँ घुमेका छन्। बच्चा बेला टे«किङ नगएका आशुतोषलाई युवावस्थामा टे«किङको लत बसेको छ। काठमाडौं उपत्यका नजिकका सबै डाँडाकाँडा चहारिसकेका छन् भने अन्नपूर्ण, मार्दी हिमाललगायत पश्चिमका पर्यटन स्थल घुमफिरमा पुगेका छन्। उनी भन्छन्, ‘मलाई अलि पसिना चुहाएर र लामो हिँडेर पुग्ने ठाउँ विशेष लाग्छन्। विदेशमा स्वीट्जरल्यान्ड, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, भारत, चीनलगायत ८ देश घुमिसकेको छु।’
अबको मिसन
गोदावरी रिसोर्टको गुरुयोजना पूरा भएको छैन। त्यसलाई पूरा गर्नु आशुतोषको पहिलो उद्देश्य छ। रिसोर्र्ट १०० कोठा बनाउने आचार्य परिवारको योजना भूकम्पले पूरा हुन दिएन। ८० कोठे रिसोर्ट ६० कोठामा सीमित छ। ४० कोठा थपेर १०० कोठा पु¥याउने उनको योजना छ। त्यस्तै, एउटा बैंक्वेट हल र एउटा रेस्टुराँ बनाउने तयारी छ। २५ कोठा १ वर्षभित्रै थप्ने र बाँकी विस्तारै बनाउँदै लैजाने योजना रहेको आशुतोषले सुनाए। थपिएका नयाँ कोठा ‘डिलक्स’ हुनेछन्।
गोदावरी ललितपुरको मध्यसहर नभएर काँठ क्षेत्रमा पर्छ। यसले पर्यटकको चाप धेरै हुँदैन। यस्तै सडक पनि राम्रो र चौडा नहुँदा व्यवसायमा प्रभाव परेको उनको अनुमान छ। आचार्य यो उद्यम गोदावरी क्षेत्रकै पहिलो रिसोर्ट हो। आशुतोषले बर्दियामा ‘लक्ष्मी हस्पिटालिटी’ ग्रुपसँगको सहकार्यमा होटल सञ्चालन गर्न लागेका छन्। यद्यपि होटलको नाम अझै जुरेको छैन। उक्त होटल बर्दिया राष्ट्रिय निकुञ्जको गेटसँगै रहने गरी बनाउँदै छन्।
१ बिघामा २५ देखि ३० कोठाको होटल सञ्चालन गर्ने योजना छ। बढीमा २ वर्षभित्र होटल सञ्चालन हुने गरी उनीहरुले तयारी थालेका छन्। ‘पारिवारिक बिजेनसबाट अब सहकार्यमा जान लागेका छौं,’ आशुतोषले भने।
त्यसबाहेक गोदावरीमै एउटा फार्म हाउस पनि सञ्चालन गर्ने योजना आचार्य परिवारको छ। आशुतोषले भैरहवा जाँदा माछापोखरीभित्रै ‘लुम्बिनी प्यालेस होटल’ सञ्चालन भएको देखे। त्यहाँ ताजा माछा खान पाए। उनी भन्छन्, ‘रेसिपी हाम्रोजस्तै हो तर त्यहाँका उत्पादन अग्र्यानिक भएर स्वाद छुट्टै र धेरै मिठो लाग्यो। सोहीअनुसार मलाई पनि यहाँ फार्म चलाउन मन छ। गोदावरी भिलेज रिसोर्टको पारिपट्टि सन्तारेश्वर मन्दिर जाने बाटोमा ‘गोदावरी भिलेज फार्म हाउस’ सञ्चालन हुनेछ।
फार्म हाउसमा गार्डेन, रेस्टुरेन्ट, कागती, एभोगाडो, ग्वाभा, ड्रागन फल खेती हुनेछ। त्यस्तै, हाँस, कुखुरा, माछापोखरी र गाईपालन गर्ने योजना आशुतोषको छ। गोदावरी भिलेज रिसोर्टमा बढी हुने खाद्यवस्तुलाई सदुपयोग गर्ने उद्देश्यले फार्म हाउस सञ्चालनमा ल्याउन लागिएको हो।
सबै खाद्यान्न अग्र्यानिक दिन नसकिए पनि ‘मेन्यू’मा केही अग्र्यानिक खाद्यवस्तु राख्न सकिने उनको बुझाइ छ। ‘कुखुरा वा माछा तथा तरकारी पनि अग्र्यानिक खान र दिन सकिन्छ,’ उनले भने। अग्र्यानिक खाना आफू खाने र रिसोर्टमा आउने पाहुनालाई पनि दिने उनको योजना छ। १ वर्षमा त्यसको तयारी पूरा हुने आशुतोष सुनाउँछन्।
अत्यासलाग्दो जिम्मेवारीले बनाउँदै छ परिपक्व
सुरुमा रिसोर्ट निर्देशकको जिम्मेवारी लिँदा आशुतोषलाई असहज लाग्यो। २४ वर्षको उमेरमै काँधमा आएको नयाँ र महत्त्वपूर्ण जिम्मेवारी उनका लागि अवसर र चुनौती दुवै थियो। उनलाई अत्यास नलागेको होइन तर विचलित भएनन्। अत्यासलाई साहसमा बदलेर हजुरआमा, बुबा, आमा र दाइसँग व्यवसायको व्यावहारिक पक्ष बुझ्दै अनि सिक्दै अघि बढे।
अहिले २६ वर्षको उमेरका उनले २ वर्षदेखि रिसोर्टको कुशल निर्देशकको भूमिका वहन गर्दै आएका छन्। साथै, युवा उमेरको जोश, जाँगरलाई उचित प्रयोग गरेर रिसोर्टको उचाइ थप बढाउन सक्छु भन्ने हिम्मत जुटाएका छन्।
व्यक्तिसँग प्रत्यक्ष जोडिएर होटल लाइनमा काम गर्नुपर्ने हुन्छ। यसले गर्दा सबैलाई खुसी पार्न सजिलो नभए पनि रिसोर्टका पाहुनासँग काम गर्दै अघि बढ्ने बानीका कारण सहज भइसकेको आशुतोषको अनुभव छ। ‘अन्यत्र ध्यान छैन। रिसोर्टमै केन्द्रित छु। यसले गर्दा सहज लाग्न थालिसक्यो,’ उनले भने, ‘अरुले सोच्दा अप्ठेरोजस्तो लागे पनि काम गर्दै गएपछि सहज हुँदो रहेछ।’ उनले सेल्स, मार्केटिङ, फार्म हाउस र बर्दियाको नयाँ रिसोर्टको जिम्मेवारी लिएका छन्।
सरकार र माओवादीबीचको पहिलो वार्ता स्थल
२०५२ देखि हिंसात्मक द्वन्द्व गर्दै आएको तत्कालीन माओवादी (हालको नेकपा माओवादी केन्द्र) र सरकार पक्षबीचको पहिलो वार्ता स्थल गोदावरी रिसोर्ट थियो। ‘तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालासँग बाबाको सम्बन्ध राम्रो भएकाले माओवादी र सरकार पक्षबीचको वार्ता यही गराउनुभएको थियो’, आशुतोषले सम्झिए।
त्यसो त, अहिले पनि देशका महत्त्वपूर्ण निर्णय र गोप्य बैठक बस्न नेताहरु गोदावरी भिलेज रिसोर्ट पुग्छन्। यद्यपि धेरै नेताहरुको घर काठमाडौंमै भएकाले रात बिताउने गरी बस्दैनन्। ‘नेताहरु आएर बैठक बस्ने क्रम अहिले पनि छ। यहाँ बैठक बसेपछि महत्त्वपूर्ण राजनीतिक निर्णय हुन्छ’, उनले भने।
(क्यापिटल म्यागजिनको चैत अंकबाट)