वासिङ्टन डिसी। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) स्प्रिङ बैठकमा सहभागी हुन अमेरिका आइपुगेका अर्थमन्त्री वर्षमान पुनसामु बहुराष्ट्रिय कम्पनी कोकाकोला र आईटी कम्पनी कोटीभिटीका लगानीकर्ताले करसम्बन्धी गम्भीर चासो राखेका छन्।
कोकाकोलाका सिनियर भाइस प्रसिडेन्ट माइकल गोल्जम्यानले अर्थमन्त्री पुनसँग भेटेर नेपालको कर प्रणालीबारे गम्भीर चासो लिएका हुन्।
व्यक्तिपिच्छे कानुनको व्याख्या गर्दा बहुराष्ट्रिय कम्पनीलाई अप्ठ्यारो पार्ने काम भइरहेको, एउटै प्रकृत्तिका घटनामा फरक फरक निकायले अनुसन्धान गरेर कम्पनीलाई बदनाम बनाउने कार्य समेत भएको प्रति गोल्जम्यानले अर्थमन्त्री पुनसँग गुनासो गरेका थिए।
अमेरिकी चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका अर्थमन्त्री पुनसँग सामूहिक रुपमा अमेरिकी लगानीकर्ताले नेपालमा लगानी वातावरण विस्तारै बिग्रिँदै गएको बताएका थिए।
औपचारिक कार्यक्रम सकिएपछि कोकाकोलाका सिनियर भाइस प्रसिडेन्ट गोल्जम्यानसहित कोटीभिटीका सञ्चालकसँग छुट्टै छलफल गरेका थिए। अन्तर्राष्ट्रिय कानुनबारे जानकार, खाद्य र पेयपदार्थ उद्योग, वातावरण, नीति र स्थिरताको अनुभवी कर्पाेरेट सामाजिक उत्तरदायित्व, सार्वजनिक नीति, सरोकारवाला संलग्नता, अन्तर्राष्ट्रिय व्यापारका जानकारसमेत रहेका गोल्जम्यानले अर्थमन्त्री पुनलाई व्यक्तिगत रुपमै भेटेर कर प्रणालीकै कारण लगानी गर्न अप्ठयारो परेको बताए।
करबारे अनुसन्धान गर्ने निकायमाथि पनि अमेरिकी लगानीकर्ताले चासोका साथ हेरेका छन्। एउटा विषयमाथि कहिले कुन निकायले अनुसन्धान गरेको छ त कहिले कुन निकायले अनुसन्धान गरेर व्यवसायीलाई अनावश्यक दुःख दिएको अर्थमन्त्रीसँगको भेटमा गुनासो गरेका थिए।
अर्थमन्त्री पुनसँग कोकाकोला, मेटा, टाटालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका लगानीकर्ताले छुट्टै भेट गरेका थिए। अमेरिकास्थित नेपाली राजदूत श्रीधर खत्रीका अनुसार अर्थमन्त्री पुनले नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह गरेका थिए।
‘अर्थमन्त्रीको मुख्य उद्देश्य विश्व बैंक र आईएमएफको कार्यक्रममा भाग लिने भए पनि उहाँको भ्रमणलाई थप फलदायी बनाउन अन्य विभिन्न बैठक र कार्यक्रम राखिएको हो,’ खत्रीले भने, ‘नेपालमा इन्भेस्टमेन्ट समिट (लगानी सम्मेलन) हुँदै गरेकाले धेरै बैठकहरु त्यससँग सम्बन्धित छन्। यूएस चेम्बरमा बैठक थियो। त्यहाँ अमेरिकामा स्थापित व्यवसायीसँग अर्थमन्त्री पुनले नेपालमा लगानी गर्न निम्ता दिएका थिए।’
यूएस चेम्बरमा भएको भेटमा उपाध्यक्ष अतुल केशप लगानी सम्मेलनका लागि नेपाल आउन सक्ने खत्रीको भनाइ थियो। कोकाकोला, मेटा, टाटाका प्रतिनिधिसँग एक साथ भेटेका अर्थमन्त्री पुनले नेपालमा हुँदै गरेको लगानी सम्मेलनको निम्तोसमेत दिए।
अर्थमन्त्रीसँगको भेटमा उनीहरुले नेपालका करसम्बन्धी कानुनबारे चासो दिएका थिए। नेपालमा कर सहुलियत दिनुपर्ने तथा करसम्बन्धी रेगुलेसनलाई कसरी लचिलो बनाउने भन्ने विषयमा उनीहरुको चासो थियो।
लाभांश फिर्ता ल्याउने विषयलाई पनि सहज बनाउनुपर्ने उनीहरुको भनाइ थियो। नेपालमा इज अफ डुइङ बिजनेसको वातावरण राम्रो बनाउन उनीहरुले सुझाएका थिए।
कुनै लगानीकर्ता आउँछ भने उ नाफाकै लागि आउने हो। त्यसो हुँदा उनीहरुले दीर्घकालीन सुरक्षा खोज्नु स्वाभाविक नै भएको खत्रीको भनाइ छ। तर देशको लर्निङ प्रोसेस पनि हुन्छ। त्यही भएर नेपालले कानून सुधारमा काम गरिरहेको छ। त्यस विषयमा नेपालले लगानीकर्तालाई आश्वस्त बनाउन खोजिएको छ।
लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाको सहभागिता हुने विश्वास गरिएको बताए।
अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे।