काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीसँग वासिङ्टन डिसीमा गए राती भएको छलफलमा (नेपाली समयानुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे।
उनले भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको बताए।
नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले जानकारी दिए। निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल रोजाइको गन्तव्य हुन सक्ने उल्लेख गरे।
पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितिले उच्च बिन्दु कायम गरेको, समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधि बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको उनले बताए।
मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ नारासहित तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुन संशोधन गर्न लागेको जानकारी दिए।
कम्पनी दर्ता र लगानी सुरुआत तथा नाफा बाहिर लैजान पाउने गरी व्यावहारिक प्रक्रिया तय गरिने प्रतिबद्धता उनको थियो। नेपाल कानुनी शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग, व्यवसायमैत्री कानुन र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले बताए।
सरकारका तर्फबाट लगानीकर्तालाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको उनको भनाइ थियो।
लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाको सहभागिता हुने विश्वास गरिएको बताए।
अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे। अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपससहित प्रतिष्ठित व्यवसायी तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) की उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी थिए।