काठमाडौं। पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलले त्रिशूली नदीपारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा ल्याएका छन्। १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्ला निर्माणमा करिब १० करोड लगानी भएको सञ्चालक कँडेलले बताए।
त्रिशूली रिभर साइड रिसोर्ट भन्दा लक्जरी सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको छ।२२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने सञ्चालक कँडेल बताउँछन्।
भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ । जसले कर्पोरेट ग्राहकहरूलाई समेत सहज हुने कँडेलको विश्वास छ। ’वेलनेस’ प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ। यसबाहेक आवश्यकता अनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यु लगायतको मज्जा लिन सक्नेछन्।
भिल्लामा न्यूनतम ४ हजार रुपैयाँदेखिको प्याकेज बुक गर्न सकिनेछ। भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेजअन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङसमेत पाउँछन्। भिल्लामा पुगेका पाहुनालाई यी सबै किसिमका लक्जरी सुविधा उपलब्ध हुनेछन्।
भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ। रुमको बालकोनीबाट त्रिशूली नदीको सुन्दर दृश्यावलोकन गर्न पाउनु भिल्लाको अर्को आकर्षण हो। साथै, जंगल छेउमा भएकाले सुन्दर तथा शान्त वातावरणसहितको प्रकृतिमा रमाउन सकिनेछ।
कर्पोरेट ग्राहक मात्र नभएर कुनै विशेष पार्टीको मज्जा लिन तथा विवाह गर्नसमेत भिल्ला उत्तम गन्तव्य बन्ने सञ्चालक कँडेल बताउँछन्।
अविरल बग्ने त्रिशूली नदी र आसपासमा भएका वनजंगललगायतको दृश्यावलोकन गर्दै भिल्लामा रमाउँदाको आनन्द वर्णनै गर्न सकिँदैन। भिल्लामा सोही आनन्द लिनका लागि पाहुना आइरहेको कँडेल बताउँछन्।
रिभरसाइड रिसोर्ट साहसिक पर्यटन हबको रुपमा विकास हुँदै गएको छ। त्रिशूली नदीमाथि स्काई साइक्लिङ, जिपलाइन, त्रिशूली नदीमा साहसिक र्याफ्टिङजस्ता साहसिक पर्यटनको मज्जासमेत रिसोर्टका पाहुनाले लिन सक्नेछन्।
कसरी पुग्ने
भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्गा झरेपछि त्रिशूली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ।एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन्। सवारीसाधन लिएर जानेका लागि नदीवारि नै पार्किङ सुविधा छ। बाइकमा भने झाेलुङ्गे पुल हुँदै भिल्लासम्मै पुग्न सकिन्छ।