काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अपेक्षाका साथ भैरहवामा तछाडमछाड गरेर खोलिएका अधिकाशं होटलहरु अहिले बिजनेसबिहीन छन्। क्यासिनो रहेका होटल तथा रिसोर्टबाहेक अन्य केही होटलमा मात्र पर्यटकहरुको चहलपहल बढे पनि अधिकाशं भने समस्यामा परिरहेको व्यवसायीहरु बताउँछन्।
सिद्धार्थ होटल एसोसिएनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आशामा खोलिएका अधिकाशं होटलहरु समस्यामा परेको बताए। ‘पर्यटकहरु ओइरिने आशमा अर्बौं लगानी गरेर होटलहरु खोलिएका छन्,’ अध्यक्ष श्रेष्ठले भने ‘विमानस्थल निर्माण सकियो तर, अन्तर्राष्ट्रिय उडान हुन सकेन, पर्यटक आएनन्।’
अहिले भैरहवामा २ वटा पाँचतारे होटल, ४ वटा चारतारे होटल र सयौंका संख्यामा ठूला तथा साना होटलहरु सञ्चालनमा छन्। तीमध्ये केही पुराना होटलबाहेक अधिकाशं अहिले बैंकको ब्याज र किस्ता तिर्न समेत धौ धौ हुने स्थितिमा पुगिरहेको उनले बताए। बैंकहरुले पनि सुरु सुरुमा विमानस्थल चल्छ र पर्यटकहरु धेरै आएपछि होटल चल्छ भन्ने अपेक्षामा करोडौं रुपैयाँ ऋण दिएका थिए। तर, अहिले विमानस्थल आन्तरिक उडानमै सीमित भएपछि ऋणीहरुलाई च्याप्न थालेको व्यवसायीहरुको भनाइ छ।
अहिले कति होटलहरु कालोसूचीमा राख्न थालिएको छ भने कति होटलहरु लिलामीमा समेत चढाउन थालिएको छ। अध्यक्ष श्रेष्ठका अनुसार धेरै होटलहरु अहिले बिक्रीको चरणमा रहेका छन्। ‘बाहिर हल्ला नगरिए पनि भित्रभित्र धेरै होटलहरु बिक्री भइसकेका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘विमानस्थलको सपनामा लागेर लगानी गरेकाहरु समस्यामा परे।’
विमानस्थलको आशाले अहिले धेरैको उठिबास हुन थालेको व्यवसायी किशोर श्रेष्ठको भनाइ छ। सरकारी लाचारीको कारण विमानस्थल वर्षौंदेखि आन्तरिकमा सीमित हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेको उनले बताए। सीमित पर्यटकहरु हुँदा होटलमा कसले सस्तो कोठा दिने भन्ने प्रतिस्पर्धा हुन थालेको उनको भनाइ छ।
चारतारे होटलमा ३ हजारमा कोठा
खासगरी भैरहवामा गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटक होटलमा बस्छन्। विदेशी एवं स्वदेशी पर्यटकहरु भैरहवामा पुग्ने गरेका छन्। भारतीयहरु बिहानै आएर बेलुका फर्किने गरेका छन्। भैरहवामा बास बसे पनि होटल व्यवसायीहरुले प्रतिस्पर्धामा सस्तोमा कोठा दिने गरेका छन्।
भैरहवाका एक होटल व्यवसायीका अनुसार चारतारे होटलको कोठा ३ हजारमा दिँदै आएको छ। जुन कोठाको अप्रेशन शुल्क समेत उठ्दैन। सामान्य तया चार तारे होटलको एउटा कोठाको अप्रेशन शुल्क नै ३ हजार २ सय जति पर्न सक्छ। र, सामान्य अवस्थामा ती कोठाहरु ७ देखि ८ हजारसम्ममा बिक्री हुनुपर्ने हो।
तर अहिले धेरै होटलहरु भएको र सीमित पर्यटकहरु आउने भएको बार्गेनिङ गरेर ३ हजारसम्ममा कोठाहरु दिने गरेको व्यवसायीहरुको भनाइ छ।
चारतारे स्तरकै होटलको कोठा ३ हजारसम्ममा पाइने भएपछि अन्य लेभलका होटलका कोठाहरु झनै सस्तोमा बिक्री हुने गरेको छ। तर पर्याप्त मात्रामा पर्यटकहरु नआएको व्यवसायीहरुको गुनासो छ।