काठमाडौं। नेपालको पहिलो निजी बैंकमा करिब ४ दशक समय बिताएर विनय कुमार रेग्मी बाहिरिएका छन्। ३७ वर्षअघि तत्कालीन नेपाल अरब (हाल नबिल) बैंकमा जुनियर असिष्टेन्टबाट जागिर सुरु गरेका रेग्मी बैंकको डेपुटी कार्यकारी अधिकृत पदबाट अवकास भएका हुन्।
रेग्मीलाई नबिल बैंकले मंगलबार (वैशाख ४ गते) औपचारिक बिदाइ गरेको छ। तर, उनी आफुलाई बैंकबाट कहिलै टाढा राख्न नसक्ने बताउँछन्। त्यसैले रेग्मीले भविष्यमा नबिल बैंकमै वा बैंकको कुनै न कुनै प्रोजेक्टमा आफू आबद्ध हुन सक्ने सम्भावना रहेको बताउँछन्। ‘अहिले आधिकारिक रुपमा कर्मचारीबाट अवकास भए पनि ग्राहक भएर बैंकसँग जोडिएर रहनेछु,’ रेग्मीले भने, ‘मेरो बैंकिङसम्बन्धी विज्ञताको आवश्यकता भविष्यमा बैंकलाई भएमा पुनः बैंक फर्किने सम्भावनाको बाटो छ।’
रेग्मी आफूले बैंकिङ करियर सुरु गर्दा देखेको बैंकिङ क्षेत्र र बैंकबाट अवकास लिँदा समयको बैंकिङ क्षेत्रमा आकाश जमिनको फरक भइसकेको हुँदा यो क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवालाई चुनौती थप भइरहेको बताउँछन्। ‘बैंकको व्यवसाय त त्यो बेलाको र अहिलेको उस्तै हो निक्षेप लिने र कर्जा दिने तर, अहिले बैंकर हुन्छु भनेर तयारी गर्नेलाई बैंकिङ टेक्नोलोजीको पूर्ण ज्ञान हुनु चुनौती छ।’
बैंकिङ व्यवसाय परिवर्तन नभए पनि टेक्नोलोजीको प्रयोगले बैंकिङ सिस्टम अटोमेसन हुँदा पहिलेको बैंकिङ र अहिलेको बैंकिङ फरक भएको उनको भनाइ छ। अहिले निजी क्षेत्रका रोजगारी प्रतिष्ठानहरुमा कर्मचारी ‘टर्नओभर’को समस्या मुख्य हो। बैंकिङ क्षेत्रमा नै करिब ८÷९ प्रतिशतको कर्मचारी टर्नओभर छ। कर्मचारी टर्नओभरले संस्थासँगै वित्तीय प्रणालीमै जोखिम निम्त्याइरहेको हुन्छ।
तर, बैंकर रेग्मीले भने नबिल बैंकमै ३७ वर्ष बिताए। उनले नबिलमा मात्रै नभएर अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमै महत्त्वपूर्ण योगदान पुर्याएको नबिल बैंककै कर्मचारी बताउँछन्। बैंकिङ क्षेत्रले संस्थागत सुशासन कायम गर्न चुकेको अवस्थामा बैंक समस्यामा पर्ने हुँदा कर्मचारी व्यवस्थापनसँग जोडिएको संस्थागत सुशासनमा बैंकहरुले सबैभन्दा बढी ध्यान दिनुपर्ने रेग्मीको अनुभव छ।
सर्वसाधारणको पैसाको सुरक्षण गर्ने जिम्मा लिएको बैंकिङ क्षेत्रका संस्थामा संस्थागत सुशासन पालनको विषयमा सम्झौता गर्न नहुने उनले बताए। ‘संस्थागत सुशासन राम्रो भएको संस्थामा कर्मचारी टर्नओभर धेरै हुँदैन,’ उनले भने, ‘सिकेका जानेका मान्छेले छोड्दा बैंकलाई नकारात्मक प्रभाव पर्छ, तर, नबिल बैंकले संस्थागत सुशासनसँगै कर्मचारीको आवश्यकता बुझेर त्यहीअनुसार सेवा सुविधा दिएको हुँदा बैंकिङ क्षेत्रमै सबैभन्दा कम स्टाप टर्नओभर हुने बैंकमा पर्छ।’
अन्य बैंकहरुले पनि कर्मचारी व्यवस्थापनलाई महत्त्वपूर्ण रुपमा हेर्दै संस्थागत सुशासन कायम गरे कर्मचारी टर्नओभरको समस्या सामाधान हुने उनको भनाइ छ। राष्ट्र बैंकको कारबाहीमा पर्ने लगायत अन्य समस्यामा बैंकहरु पर्नुको मुख्य कारण नै संस्थागत सुशासनको अभाव भएको उनको बुझाई छ।