काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले प्रत्यक्ष हस्तक्षेप नगरेको भए निजी क्षेत्र र उद्योगी झनै असुरक्षित हुनसक्ने वातावरण बन्नु अवस्था बनेको बताएका छन्।
मंगलबार नेपाल उद्योग परिसंघ (सिएनाई) को २१औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। `उद्योगीलाई जोखिमबाट बचाउन मैले धेरै पहल गरेको छु। यो कुरा बाहिर थाहा नहोला तर, मैले कतिपय कुरामा हस्तक्षेप नगरेको भए उधोगी झनै खतरामा पर्न सक्थे,´ उनले भने, `उद्योगीको सुरक्षाका लागि सरकार सधैं प्रतिबद्ध छ।´
निजि क्षेत्रको साथमा रहेर काम गर्ने कमिटमेन्ट गरे पनि सो अनुसारको सन्तोषजनक नतिजा नदेखिएकाले यसमा आफू पनि सन्तुष्ट नरहेको कुरा उल्लेख गर्दै आएको उनको भनाइ छ। `विदेशी लगानी भित्र्याउन दर्जनभन्दा बढी कानुन संसोधनको तयारीमा छन्। यसले गर्दा निजी क्षेत्रको सहजता र लगानी आगमनको बाटो खोलिने छ,´ दाहालले भने, `यसर्थ, यस वर्ष लगानीका आगि सकारात्मक वर्ष बन्ने छ। सरकार नेपाल लगानी भित्र्याउनका लागि निरन्तर रुपमा काम गरिरहेको छ।´
उनले कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिँदै सूचना प्रविधि क्षेत्रलाई लिडिङ पोजिसन बनाएर अगाडि बढ्ने सोचमा रहेको बताए। सरकारको नीति तथा कार्यक्रमले मुलुकमा स्टार्टाप र आइटि तथा ईकमर्स क्षेत्रको विकास हुँदै गएको बताए। `राजनीतिक अस्थिरता देखिन्छ कि भन्ने कुरा आएको छ तर, सिंगो अवधिभर सरकार चलिरहन्छ। यसमा ढुक्क हुनुहोस्। तीन पटक प्रधानमन्त्रीको सपथ लिए पनि प्रधानमन्त्री पदमा मै छु भन्ने कुरा अवगत नै छ,´ उनले भने, `केही हुन्छ कि भन्ने आशंका दिमागबाट हटाउँदा हुन्छ। आगामी बाँकी अवधि पनि यही सरकारले निरन्तरता पाउँछ।´
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार नेपालमा उद्योग, व्यापार र उत्पादनको वातावरण तयार गर्न निरन्तर प्रयत्नशील रहेको बताए। आर्थिक उन्नतिका लागि स्वदेशी उद्योगको अवस्था राम्रो बनाउन र आर्थिक पुनरुत्थान गर्न निजि क्षेत्रको सहकार्य महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
घरेलु, साना उधोग र कृषि उत्पादन गर्न सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक भएको उनको भनाइ छ। `मेक इन नेपाल अभियानमार्फत मुलुकको उत्पादन गर्न सरकार र मन्त्रालय तयार छ।
हामी नीति निर्माण मात्र गर्ने नभएर त्यसको कार्यान्वयनका लागि पनि काम गर्ने छौं,´ मन्त्री भण्डारीले भने, `उद्योगको विकास गरी मुलुक समृद्ध बनाउने समय आएको छ। आउँदो लगानी सम्मेलन पनि मुलुकको समृद्धिका लागि नै बढी केन्द्रित हुनेछ।´