काठमाडौं। मुलुकको आर्थिक गतिविधि अपेक्षित रुपमा चलायमान हुन नसकिरहेको समय विदेशी लगानीकर्ताले भने ८ महिनामै १५ अर्ब रुपैयाँ बढी प्रतिफलबापत लगेका छन्। चालू वर्षको फागुन मसान्तसम्म विदेशी लगानीकर्ताले १५ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ प्रतिफल लैजान नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका हुन्।
विदेशी लगानीकर्ता नेपालबाट ऋणको साँवाब्याज, प्रविधि हस्तान्तरण, सेयर बिक्री र लाभांशबापतको पैसा आफ्नो मुलुक लैजान लागेका हुन्। विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर त्यसमार्फत भएको प्रतिफललाई रोयल्टी र लाभांशमार्फत रकम विदेश लैजान राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही स्वीकृति दिनुपर्छ भने लगानी भित्र्याउन लेखांकन गराउनुपर्छ।
अघिल्लो वर्षदेखि नै नेपालको समग्र अर्थतन्त्र मन्दीको अवस्थाबाट गुज्रिरहेको छ। यसबीच विदेशी लगानीकर्ताले भने अघिल्ला वर्षमा नेपालका विभिन्न परियोजना तथा उद्योग व्यवसायमा गरेको लगानी प्रतिफल (लाभांश)बापत चालू वर्षको ८ महिनासम्म १० अर्ब ६४ करोड ९३ लाख रुपैयाँ लगेका छन्।
साथै, उक्त अवधिमा विदेशी लगानीकर्ताले विभिन्न संघ–संस्था तथा सरकारलाई दिएको ऋणको साँवा ब्याज भुक्तानीबापत २ अर्ब ३३ करोड ४२ लाख, प्रविधि हस्तान्तरणबापत २ अर्ब ५० करोड ६२ लाख रुपैयाँ र सेयर बिक्री वापत ७ करोड ४९ लाख रुपैयाँ बराबर विदेशी मुद्रा सटही स्वीकृति राष्ट्र बैंकबाट पाएका हुन्।
गत आर्थिक वर्षको असार मसान्तसम्म लाभांशबापत १७ अर्ब ३३ करोड ४० लाख, प्रविधि हस्तान्तरणबापत २ अर्ब ६४ करोड २० लाख, ऋणीको साँवा ब्याजबापत ३ अर्ब ५९ करोड ६० लाख र सेयर बिक्रीबापत २ अर्ब १५ करोड ८० लाख गरी कुल २५ अर्ब ७३ करोड २० लाख रुपैयाँ बराबर विदेशी लगानीकर्ताले नेपालबाट प्रतिफल लगेका थिए।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म भने विदेशी लगानीकर्ता १५ अर्ब ७५ करोड, प्रविधि हस्तान्तरणबापत ३ अर्ब ५८ करोड ५० लाख, ऋणको साँवाब्याजबापत २ अर्ब २६ करोड ४० लाख, सेयर बिक्रीबापत ७८ करोड ६० लाख र अन्य शीर्षकमा १७ करोड १० लाख रुपैयाँ गरी कुल २२ अर्ब ५५ करोड ६० लाख रुपैयाँ विदेशी लगानीकर्ताले नेपालबाट लगेका थिए।