काठमाडौं। फरक क्षमताका सागर सुनार (विश्वकर्मा) विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन्। केवल ३ फुट ७ इञ्च मात्र उचाइका ३० वर्षीय सागरले विश्वमा फरक क्षमता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथामा पाइला टेक्न लागेको बताएका हुन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अबको केही साताभित्र सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर तर्फा जान लागेको जानकारी दिए। सगरमाथा आरोहण गर्नुअघि लोबुछे पिकको आरोहण गर्ने योजना रहेको उनले सुनाए। उनले सगरमाथा आरोहण कम्पनी बुकिङ ओन प्रालिबाट गर्न लागेका हुन्। सागरले अहिले आरोहणलाई आवश्यक तयारी गरिरहेका छन्।
दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न आट आएको सागर बताउँछन्। ‘हामीजस्ता होचा फरक क्षमता भएकालाई समाजले हेने दृष्टिकोण नराम्रो छ। उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहन्छु ्र अबको केही साताभित्रौ सगरमाथा आरोहण गर्ने विश्वास लिएको छु,’ सागरले भने।
दिदी उर्मिलाले आर्थिक रुपमा सहयोग गर्ने उनको भनाइ छ। अहिले आर्थिक सहयोगको लागि सागर शिखर संस्था गठन गरेर अभियानसमेत चलाइरहेका छन्। उनले सहयोगका अपिलसमेत गरे। ‘विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर देशको झन्डा फहराउँदै विश्व रेकर्ड राख्ने मेरो चाहना छ। हामी फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ। हेलाँ गर्छ। हेप्छ। म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु’, सागर भन्छन्, ‘हामी किन थिचिने? किन मिचिने? मजस्ता अरु फरक क्षमता भएकाका लागि मनोबल पनि बढोस्।’
विभिन्न जोखिम र चुनौतीबीच आफ्नो मनोबल बलियो बनाएर सगरमाथा पुग्ने अठोट लिएका उनको भनाइ छ। सागरले यसअघि दोलखाको रामदुङ पिक (५९२५ मिटर)को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरिसकेका छन्। सागरको चाहना होचो र फरक क्षमता भएकाको एउटा संस्था खोल्ने योजना छ।
आफ्नै नेतृत्व फरक क्षमता भएका व्यक्तिले पनि आत्मबल बढाएर,चाहेको कुरा गर्न सकिन्छ भन्ने सन्देश दिने सागरको इच्छा छ। सागर भन्छन् ‘मलाई हेनुस् र तपाईंहरुले पनि आफ्नो आत्मबल बढाउनुहोस् भन्ने चाहना छ। भोलिका दिनमा म एउटाले गर्दा हजारौंको मनोबल बढ्छ भने किन नगर्ने? मजस्ताले मात्र होइन, हामीभन्दा फरक क्षमता भएकाको पनि मनोबल बढाउनु जरुरी छ।’ सगरमाथासहित ७ वटै महादेशका चुचुरा आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
को हुन् सागर?
सागरको जन्म कास्कीको मादी गाउँपालिका–११ सैमराङस्थित तेसा गाउँमा २०५० मा भएको थियो। बिरामी भएको कारणले उनले गाउँमा कक्षा ५ सम्म मात्र अध्ययन गर्न सके। सागर २१ वर्षको उमेरमा काठमाडौं भित्रिएका थिए। त्यसपछि उनी सुन पसलमा काम गर्न थाले। बीचमा न्यूरोसम्बन्धी बिरामी भएपछि सागरले त्यो काम पनि छाड्नुप¥यो।
टाउकोको नशा च्यापिएकाले निहुरिएर काम गर्न नसक्ने भएपछि सागर घरमै बस्न थाले। अपरेसनपछि अहिले उनको अवस्था अलि ठीक भएको छ। दिदीको प्रोत्साहनले गर्दा उनले २०८० मा एसईई परीक्षा दिएका छन्।