काठमाडौं। गम्भीर गल्तीको शंकामा १८ वटा वाणिज्य बैंक नियामकको विशेष निगरानीमा परेका छन्। गत वर्षमा नेपाल राष्ट्र बैंकले बैंकहरुमा पटकपटक गरी ३७ पटकसम्म विशेष निरीक्षण गरेको हो।
राष्ट्र बैंकले सरोकारवाला पक्ष तथा ग्राहकको गुनासो तथा उजुरीको आधारमा बैंकहरुमा विशेष निरीक्षण गर्छ। गत वर्ष कुनै बैंकलाई ४ पटकसम्म सुक्ष्म निगरानीमा राखेर विशेष निरीक्षण गर्दा स्ट्यान्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंक भने एक पटक पनि यस्तो निगरानीमा परेका छैनन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको ‘बैंक सुपरिवेक्षण रिपोर्ट २०२२÷२३’ अनुसार उक्त अवधिमा लक्ष्मी सनराइज बैंक र प्रभु बैंक ४ पटकसम्म निरीक्षणमा परेका छन्। यस्तो निरीक्षणमा ग्लोबल आइएमई र कुमारी बैंक ३ पटक पर्दा राष्ट्रिय वाणिज्य, हिमालयन, एनएमबि, एनआइसी एशिया, नबिल, प्राइम, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंक २-२ पटक परेका हुन्। कृषि विकास, नेपाल एसबिआई, सानिमा, सिटिजन्स र सिद्धार्थ बैंक भने गत वर्ष राष्ट्र बैंकको विशेष निगरानीमा १÷१ पटक मात्रै परेका छन्।
जोखिममा आधारित निरीक्षण राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षणले नियमित गरिरहेको हुन्छ। तर यसबीचमा प्रहरी, अख्तियार, सम्पत्ति शुद्धीकरणलगायत व्यक्तिगत रुपमा आएका उजुरी वा गुनासोको आधारमा बैंकहरुमा विशेष निरीक्षण गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए। ‘गत वर्ष गरिएका विशेष निरीक्षण धेरैजसो अख्तियारबाट आएका उजुरीको आधारमा भएका छन्,’ बैंक सुपरिवेक्षण विभाग प्रमुख ढकालले क्यापिटल नेपालसँग भने, ‘ग्राहकले गुनासो गरेको र राष्ट्र बैंकले नै विभिन्न सञ्चार माध्यमले औंल्याएका विषयमा गल्ती भएको शंका गरेर पनि छानबिन गर्न विशेष निरीक्षण गरेको छ।’
राष्ट्र बैंकले उजुरीको आधारमा बैंकहरुको विशेष निरीक्षण गर्दा सोही उजुरीसँग सम्बद्ध रहेर अधिकतम १ साताभित्रै सम्पन्न गर्ने गरेको छ। निरीक्षणको प्रतिवेदनले औंल्याएका विषयलाई राष्ट्र बैंकले थप अध्ययन गरी आवश्यक कारबाही अघि बढाउने र सम्बन्धित निकायमा रिपोर्ट पेस गर्छ। गत वर्ष नियमितबाहेक विशेष निरीक्षणमा नपरेको बैंकको विषयमा भने ती बैंकहरुमाथि कुनै उजुरी नपरेको ढकालले बताए। ‘विशेष निरीक्षण हुँदैमा गल्ती नै गरेको भन्ने होइन, शंकामात्रै हो, स्ट्याडर्ड चार्टर्ड र माछापुच्छ« बैंकको बारेमा कुनै उजुरी वा छानबिनको प्रस्ताव प्रहरी, अख्तियार लगायतबाट नआएको हो,’ उनले भने।