काठमाडौं। गएको वर्ष २०८० मा विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु भएको छ। विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार ४ सय ४ विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार ७ सय १६ परिवार प्रभावित भएका थिए।
विपद्जन्य घटनाका कारण कूल ५ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको पाण्डेले जानकारी दिए। गत वर्ष पहिरो, बाढी, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायत घटना भएका थिए।
कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए।
मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका ४ हजार ६१ घटना भएका थिए। त्यसमा परेर १०६ जनाको मृत्यु भएको थियो ५०६ जना घाइते भएका थिए। कुल ५ हजार १३० परिवार प्रभावित भएका थिए। आगलागीबाट २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।
यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए। त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए। जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए। गत वर्ष हिम पहिरोका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो।