काठमाडौं। बहुचर्चित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ (छिचोलिने) हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले साढे १२ बजे सुरुङमार्गको ब्रेक थ्रु गर्ने कार्यक्रम छ। त्यसपछि सुरुङमार्ग वारपार खुल्नेछ।
तर, तत्कालै मानिस तथा सवारीसाधन प्रवेश गर्न भने मिल्दैन। त्यसका लागि करिब १ वर्ष कुर्नुपर्नेछ। नागढुंगा सुरुङ मार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ।
यसमध्ये अब २ मिटर जमिन ब्रेक थ्रुका लागि राखिएको छ। प्रधानमन्त्री दाहाल आयोजना निर्माणस्थल पुगेपछि केमिकल प्रयोग गरेर सुरुङ ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ। ‘हामी (कर्मचार) ११ बजेपछि आयोजनास्थल पुग्छौं। प्रधानमन्त्रीले साढे १२ मा ब्रेक थ्रु गर्ने तयारी छ,’ आयोजना कार्यालयका सिननियर डिभिजनल इन्जिजियर (सिडिई) गोविन्द दुमरुले भने।
मुख्य सुरुङ २६ सय ६६ मिटरबाहेक ‘इभ्यालुयसन टनेल’ २५ सय ५७ मिटर लामो छ। इभ्यालुयसन टनेल भने सन् २०२३ अगस्ट ७ (२०८० साउन २२) मा ब्रेक थ्रु भइसकेको छ। सोमबार मुख्य सुरुङ ब्रेक थ्रु भएपछि इभ्यालुयसन टनेलबाट मानिस फर्किने सिडिई दुमरु बताउँछन्।
केमिकल प्रयोग गरेर ब्रेक थ्रु गरेलगत्तै जोखिम हुने भएकाले मानिस हिँड्न मिल्दैन। जापानिज कम्पनी ‘हाजमा एन्डो कर्पोरेसन’ले २०७६ कात्तिकबाट सुरुङमार्ग निर्माण थालेको थियो। आयोजना कार्यालय र हाजमा बीच ४२ महिनाभित्र सुरुङ निर्माण गर्ने सम्झौता थियो।
नागढुंगा सुरुङमार्ग नेपालको सडक सञ्जालमा आधुनिक रुपमा बनाइएको पहिलो सुरुङमार्ग हो। यद्यपि जलविद्युत र खानेपानी आयोजनामा भने नेपालका धेरै ठाउँमा सुरुङ बनिसकेका छन्।
तर, निर्माण सुरु भएको ६ महिना नपुग्दै विश्वव्यापी रुपमा फैलिएको कारोना संक्रमणका कारण निर्माण कार्य प्रभावित भयो।
त्यसबाहेक २०७९ हिउँदमा गृहमन्त्री रवि लामिछानेले अवैध क्रसर उद्योग बन्द गराउँदा पनि निर्माण कार्य प्रभावित भएको थियो।
त्यस्तै विभिन्न माग राख्दै स्थानीयले गर्ने अवरोध पनि आयोजना कार्यालयले झेल्नु परेको थियो। सुरुङ निर्माणको कुल लागत साढे २२ अर्ब रुपैयाँ हो। यसमध्ये साढे १६ अर्ब जापानको ऋण सहयोग र ६ अर्ब नेपालको लगानी छ। जसमध्ये ६५ प्रतिशत खर्च भएको छ। बाँकी रकम निर्माण सम्पन्न गर्दासम्म किस्ता–किस्तामा कामको गति हेरेर दिने आयोजनाले बताएको छ।
हाल काठमाडौंको बलम्बुबाट साढे ८ किलोमिटर दूरी पार गरेपछि धादिङस्थित सिस्ने खोला पुगिन्छ। तर, सुरुङबाट भने २६ सय ८८ मिटर पार गरेपछि सिस्नेखोला पुगिन्छ। सुरुङबाट यात्रा गर्दा ३ मिनेट लाग्छ। यसअघि फागुन २३ मा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो। तर, १४ मिटर खन्न बाँकी हुँदा स्थानीयले खानेपानी, सिँचाइलगायत माग राखेर फागुन ६ बाट एक महिना काम ठप्प पारे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चैत ५ मा स्थानीयसँग छलफल गरी ९ बुँदे सहमतिपछि चैत ६ देखि पुनः सुरुङ खन्न सुरु भएको थियो। ‘ब्रेक थ्रु’पछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुन्छ।
२०७६ कात्तिकको सम्झौताअनुसार आयोजनाको समयावधि २०८० वैशाखमा सकिएको हो। तर, निर्माण सम्पन्न नभएपछि २०८१ वैशाख १३ सम्मलाई म्याद थप भएको थियो। बलम्बुस्थित फ्लाइ ओभर पनि हाजमाले निर्माण गरिरहेको छ।
फ्लाइओभर निर्माणस्थलमा एउटा घर भत्काउने विषयमा जग्गाधनीसँग आयोजना कार्यालयको सहमति हुन सकेको छैन। घरको मुआब्जा र स्वामित्व विवादका कारण समस्या उत्पन्न भएको हो। नक्सा र लालपुर्जामा जग्गाको क्षेत्रफल फरक परेको, मुआब्जा अस्वीकार गरेको तथा मुआब्जा बुझेर पनि घर भत्काउन अटेर गरेको पाइएको छ।
आयोजना कार्यालयका अनुसार सडक र राजकुलोको मापदण्डमा परेकाले थोरै मात्र जग्गा बाँकी छ। तर, घरधनीले पूरै जग्गाको मुआब्जा माग गरेका छन्। जग्गा विवाद समाधान नभएसम्म फ्लाईओभर निर्माण गर्न नसकिने आयोजनाको भनाइ छ।
ब्रेक थ्रु गर्न फ्लाइ ओभर निर्माणले असर नगरे पनि सवारी सञ्चालनका लागि अनिवार्य रुपमा फ्लाई ओभर सम्पन्न हुनुपर्छ। फ्लाई ओभार निर्माणसहित सुरुङको फिनिसिङका लागि हाजमाले १८ महिना (२०८२ मंसिर) सम्म म्याद थप मागेको नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख नविनमान श्रेष्ठले बताए। ‘उसले (निर्माण कम्पनी) १८ महिना म्याद थप मागेको छ, कहिलेससम्म थप्ने भनेर हामी छलफल गर्दैछौं’ प्रमुख श्रेष्ठले भने।
सुरुङमार्गमा सवारीसाधन चलाएबापत टोल शुल्क लिनेबारे चर्चा छ। तर, हालसम्म ठोस निर्मण नभएको सडक विभागले प्रष्ट पारेको छ।
ब्रेक थ्रु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, भौतिक सचिव, सडक विभागका महानिर्देशकसहित प्राविधिक कर्मचारी उपस्थित हुनेछन्। नागढुंगा सुरुङमार्ग नेपालको सडक सञ्जालमा आधुनिक रुपमा बनाइएको पहिलो सुरुङमार्ग हो। यद्यपि जलविद्युत र खानेपानी आयोजनामा भने नेपालका धेरै ठाउँमा सुरुङ बनिसकेका छन्।