नेपाल निकै सुन्दर र निकै मायालु छन भन्ने सुनेको थिएँ। त्यसकारण नेपाल आउन उत्साहित थिएँ। भारतमा व्यावसायिक हट एयर बेलुन उडाइरहेकै बेला नेपालमा हट एयर बेलुन पाइलटका लागि प्रस्ताव आयो। उक्त प्रस्तावले मलाई निकै उत्साहित बनायो।
मलाई भारतमै रहँदा पनि साथीभाइले नेपालको सुन्दरताबारे बखान गर्दा जाऊँ–जाऊँ लाग्थ्यो। नेपालको एक मात्र हट एयर बेलुन सञ्चालक कम्पनी बेलुन नेपालबाट प्रस्ताव आएपछि म झनै उत्साहित हुँदै पोखरा आएँ।
जब म व्यावसायिक बेलुन उडानका लागि पोखरा आइपुगें। त्यसपछि मात्र थाहा पाएँ, नेपाल साथीहरूले बयान गरेभन्दा निकै सुन्दर रहेछ। जुन सुन्दरताको शब्दमा बयानै गर्न सकिँदैन। आकर्षक ल्यान्डस्केप, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल तथा फेवा, बेगनासलगायतका ताल पोखराको सौन्दर्यका प्रतीक हुन। यसमा पनि बिहानको सूर्योदय र साँझको सूर्यास्तले पोखरा पुग्ने जोकोहीको मन लोभ्याउँछ।
यी विशेषतालाई हट एयर बेलुनमा उडेर हेर्दा झनै रोमाञ्चक देखिन्छ, पोखरा। उडानबाट नियाल्दाको पोखरा साँच्चिकै अद्भुत लाग्छ। मैले धेरै देशमा बेलुन बजार देखेको छु। नेपालले जुन मूल्यमा बेलुन उडान उपलब्ध गराएको छ, त्यो अत्यन्तै सहुलियत मूल्य हो, त्यो पनि यस्तो आकर्षक ल्यान्डस्केपमा।
मलाई हट एयर बेलुन पाइलट र पर्यटक दुवै रुपमा यो क्षेत्र निकै रमाइलो लाग्छ। हट एयर बेलुन उडानको पहिलो एक साता मेरा लागि निकै अचम्म र चुनौतीपूर्ण रह्यो। यहाँको दृश्यावलोकनले रोमाञ्चक भइरहँदा मौसमले सतर्क बनाउँथ्यो। मैले विस्तारै आफूलाई यहाँको मौसम अनुकूल पनि बनाएँ। बेलुन उडानमै केन्द्रित भएपछि यहाँ अहिले सहज नै भइरहेको छ।
...
म स्पेनमा जन्मिएको हो। स्पेनमा परिवारमा हुर्कंदै गर्दा बेलुन उडाएको देखेको थिएँ। समय–समय बेलुन महोत्सव पनि भइरहेका हुन्थे। मेरो बुबा हट एयर बेलुनको पाइलट हुनुहुन्थ्यो। बुबाले नै मलाई बेलुन महोत्सवमा लैजानुहुन्थ्यो। परिवारमा बुबाआमा र हामी तीन दाजुभाइ हुन्थ्यौं।
बुबाले हट एयर बेलुन उडाएको मैले बुझ्ने भएदेखि नै यसमा आकर्षित भएँ। त्यसअघि पनि बाल्यकालमा उडेको बेलुन देख्दा आफैंलाई उडुँउडुँ लाग्ने भइहाल्थ्यो। मैले १५ वर्षको उमेरसम्म घरमै बसेर अध्ययन गरें। त्यसपछि विभिन्न मुलुकमा जाने अवसर मिल्यो। १७ वर्षको हुँदा आमाले मलाई फ्रेन्च भाषा सिक्न फ्रान्स पठाउनुभयो। मैले त्यसपछि फ्रेन्च, अंग्रेजीलगायतका भाषा सिकें।
त्यसको केही समयपछि हाम्रो परिवारमा दुःखद् घटना घट्यो। दुर्घटनामा मेरो बुबाको निधन भयो। दुर्घटनामा बुबा मात्र जानुभएन, हाम्रा सपना, भविष्य सबै एकै पटक गएजस्तो लाग्यो। तर, ममा त्यो पीडालाई शक्तिमा बदलेर बुबाकै मार्गदर्शनमा हिँड्नुपर्ने सोच आयो। म पनि हट एयर बेलुन उडानमा लाग्नुपर्छ भन्ने लाग्यो।
मेरो बुबा मेरा लागि बुबा मात्र हुनुहुन्थेन, आत्मीय साथी नै हुनुहुन्थ्यो। उहाँले मलाई हाम्रै गाउँको बेलुन फेस्टिभलमा सहभागी गराउनुभएको थियो। त्यसबाट पनि प्रेरित भएको थिएँ। बुबाको निधन भएपछि उहाँकै साथीलाई भेटेर बेलुन कम्पनीमा काम गर्न थालें। मैले केही समय ल्यान्ड क्रु मेम्बरसमेत बनेर काम गरेको थिएँ। विस्तारै बेलुन उडाउन सिकें तर बेलुनको व्यावसायिक उडान गरेको थिइनँ।
मैले विद्यालयमा अंग्रेजी शिक्षक भएर केही समय शिक्षण पनि गराएँ। तर, मलाई त्यो काम मन परिरहेको थिएन। मलाई बेलुन उडाउनै मन लाग्यो। केही समय सोचेपछि मैले शिक्षण पेसा त्यागें र बुबाको साथीको कम्पनीमा फेरि ल्यान्ड क्रु मेम्बर बनेर काम गरें।
त्यसबखत मैले विद्यालयमा अंग्रेजी शिक्षक भएर केही समय शिक्षण पनि गराएँ। तर, मलाई त्यो काम मन परिरहेको थिएन। मलाई बेलुन उडाउनै मन लाग्यो। केही समय सोचेपछि मैले शिक्षण पेसा त्यागें र बुबाको साथीको कम्पनीमा फेरि ल्यान्ड क्रु मेम्बर बनेर काम गरें। त्यसको करिब ५ वर्षपछि मलाई उडाउन मन लाग्यो। पाइलट बन्ने निधो गरें।
बेलुन उडाउन पाइलट स्कुलमा पनि तालिम लिएँ, जसले मलाई हट एयर बेलुनको पाइलट बनायो। मैले बुबाको मार्गमा हिँड्ने एउटा खुड्किलो पार गरेको थिएँ, जसले मलाई निकै उत्साहित बनाएको थियो। त्यसपछि मैले क्रमशः हट एयर बेलुनको व्यावसायिक पाइलट बनेर काम गरें। अहिलेसम्म निरन्तर यही पेसामै रमाइरहेको छु। मैले व्यवसायिक उडानको सुरुआत स्पेनबाट गरे पनि सात बढी मुलुकमा बेलुन उडाइसकेको छु। भारत, पोर्चुगल हुँदै नेपालमा मैले बेलुन उडान गरिरहँदा निकै उत्साहित र भाग्यमानी महसुस गरिरहेको छु। यो अवसरका लागि म बेलुन नेपालको टिमप्रति सधैं आभारी रहनेछु।
एक दशकदेखि बेलुनमै छु। मलाई लाग्छ, म नेपालबाहेक अन्य मुलुकमा पनि बेलुन उडाउनेछु। अरु देश पुगे पनि नेपाललाई सम्झिरहेको हुनेछु। भविष्यमा म जता रहे पनि बेलुनै उडाइरहने सोच छ।
मैले हालै प्रशिक्षक पाइलटको इजाजतसमेत लिएको छु। यस इजाजतपछि मैले पाइलट बन्न चाहनेका लागि यससम्बन्धी प्रशिक्षण वा तालिम दिन मिलेको छ। म भविष्यमा आफूले बेलुन उडाउँदाको अनुभव र चुनौतीलाई लक्षित गरेरै सक्षम पाइलटको खोजीमा रहनेछु। पाइलटको संख्या बढाउने, साहसिक पर्यटनमा आकर्षित गराउने र यसबाट रोजगारी सिर्जना गराउनेतर्फ लाग्ने योजनामा छु।
हट एयर बेलुन (बेलुन नेपाल)का लागि स्पेनी प्रशिक्षक पाइलट क्लेटोले सुनाएको अनुभव। क्यापिटल नेपाल बिजनेस म्यागजिन चैत अंकबाट