काठमाडौं। नेपाल राष्ट्र बैंकले यही साताभित्रै ६ वटा वाणिज्य बैंकमा सुपरिवेक्षण टोली पठाउने तयारी गरेको छ। केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले ग्लोबल आइएमई, प्रभु, हिमालयन, प्राइम कर्मसियल, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंकमा स्थलगत सुपरिवेक्षण टोली जान लागेको हो।
वाणिज्य बैंकहरुको समष्टिगत स्थलगत तथा लक्षित स्थलगत निरिक्षण गर्नका लागि सुपरिवेक्षण विभागले चालू वर्षमा बनाएको वार्षिक कार्य तालिकाअनुसार तेस्रो चरणमा सुपरिवेक्षण टोली जान लागेको हो। यसअघि पुर्वाधार विकास बैंकसहित १५ वटा वाणिज्य बैंकमा राष्ट्र बैंकले स्थलगत सुपरिवेक्षण गरिसकेको छ।
राष्ट्र बैंकले एनएमबि, सिटिजन्स, कुमारी, नबिल, सिद्धार्थ, नेपाल एसबिआइ, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, सानिमा, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, एनआइसी एशिया, लक्ष्मी सनराइज र कृषि विकास बैंकमा स्थलगत सुपरिवेक्षण गरिसकेको छ। यी बैंकहरुको स्थलगत सुपरिवेक्षणको रिपोर्ट प्रतिवेदनलाई राष्ट्र बैंक उच्च व्यवस्थापन कमिटी र सञ्चालक समितिले हेर्न बाँकी रहेको स्रोतले बताएको छ। ‘भइसकको निरिक्षणको रिपोर्ट कम्पाइल गरेर म्यानेजमेन्ट र बोर्डमा पठाउने क्रम जारी छ, बाँकी ६ बैंकमध्ये भोलीदेखि ग्लोबल आइएमइ, प्रभु र नेपाल बैंकमा निरिक्षण टोली जान्छन्,’ स्रोतले भन्यो।
तेस्रो चरणको स्थलगत सुपरिवेक्षणको पहिलो चरणमा ग्लोबल, प्रभु र नेपाल बैंकमा सुपरिवेक्षण भइसकेपछि दोस्रो चरणमा हिमालयन, प्राइम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा स्थलगत सुपरिवेक्षण टोली जानेछन्।
राष्ट्र बैंकबाट जाने निरिक्षण टोली सम्बन्धित बैंकहरुको उच्च व्यवस्थापन र अन्य व्यवस्थापकीय क्षेत्रहरु जस्तै– अन्तरनिहित जोखिम तथा जोखिम व्यवस्थापन, कोष व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि, कर्जा व्यवस्थापन, निक्षेप व्यवस्थापन, वित्त व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनलगायत क्षेत्रहरु समेटिने गरी समष्टिगत स्थलगत निरीक्षण कार्य गर्नेछ।
साथै, बैंक वा वित्तीय संस्थाको समग्र जोखिम विवरण (रिस्क प्रोफाइल)को आधारमा उच्च जोखिम देखिएका क्षेत्रहरू, गैरस्थलगत सुपरिवेक्षण इकाई, प्रतिवेदन कार्यान्वयन इकाईबाट पहिचान भएका विषयहरू वा विभागले मनासिव ठानेका कुनै विशेष क्षेत्र वा कारोबारका लागि विभागले लक्षित निरीक्षण गर्छ।
राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले बैंक तथा वित्तीय संस्थामा स्थलगतसँगै गैर–स्थलगत निरिक्षण, लक्षित निरिक्षण, विशेष निरिक्षण र अनुगमन निरिक्षण गर्छ। समष्टिगत, स्थलगत र लक्षित निरिक्षण वार्षिक कार्ययोजना अनुसार गरिन्छ भने गैरस्थलगत र विशेष निरिक्षण बैंक वा वित्तीय संस्थाहरुबाट प्राप्त सूचना, जानकारी एवं विवरणहरुको आधारमा वा सरोकारवाल पक्ष तथा ग्राहकहरुको गुनासोको आधारमा हुन्छ।