सिंगटी(दोलखा)। दोलखाको उत्तरी क्षेत्र जाने भन्नेबित्तिकै धेरैले खाना र खाजा खाने जक्सन सिंगटीको चिनारी होटल बनाएकै हुन्छन्। नयाँ वा पुराना व्यक्तिको रोजाइमा पर्ने सिंगटीको चिनारी होटल २० वर्षदेखि सञ्चालन हुँदै आएको छ।
दोलखाको नागदहका राजकुमार श्रेष्ठले २०६० देखि सिंगटीमा होटल चलाउँदै आएका छन्। खासगरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सुरु भएदेखि त्यहाँ आउनेलाई लक्षित गरी कच्ची घरबाट होटल व्यवसाय सुरु गरेका थिए। त्यतिबेला यस्तै, २/३ लाख रुपैयाँमा होटल सुरु गरेको बताउँछन्, राजकुमार।
राम्रो खाना र बस्ने ठाउँ अभाव भइरहेको सिंगटीमा उनले व्यवस्थित होटल खोलेका थिए। स्वादिलो खाना र तामाकोसीको ताजा माछा खान पाइने भएपछि धेरैको रोजाइ उनकै होटलमा पर्न थाल्यो। सबैसँग मिजासिलो व्यवहार गर्ने श्रेष्ठले लोकल माछा र लोकल चामलको खाना खुवाउने गरेका थिए।
त्यो बेला स्वदेशी एवं विदेशी धेरै आउने गरेका थिए। ‘२० वर्षअघि दोलखाको नागदह, गुमुखोला हुँदै सिंगटीमा बास बसेर विदेशी च्छोरोल्पा हिमतालमा ट्रेकिङका लागि आउने गर्थे,’ सञ्चालक श्रेष्ठले भने, ‘विस्तारै मुलुकमा द्वन्द्व चल्दै गएपछि ट्रेकिङ रुट बन्द हुँदै गए,विदेशीहरु पनि आउन छाडे।’
विदेशीहरु आउन छाडे पनि उनको होटलमा ग्राहक संख्या कहिल्यै कमी भएन। खासगरी माथिल्लो तामाकोसी आयोजना निर्माण सुरु भएसँगै धेरैको आउजाउ हुन थाल्यो र खाना, खाजा खाने पहिलो थलो नै चिनारी होटल हुन पुगेको उनी बताउँछन्। तामाकोसी आयोजना सँगै दर्जन भन्दा बढी साना तथा ठूला आयोजनाहरु निर्माण हुन थालेपछि त्यहाँ आउनेहरु पनि चिनारी होटलका प्रमुख ग्राहक हुन थाले।
चार पटक ठाउँ सरे
समयक्रममा चिनारी होटल चार ठाउँ सारिइसकेको बताउँछन्, श्रेष्ठ। सुरुमा ढुंगामाटोले बनेको घरबाट सुरु भएको चिनारीको यात्रा अहिले पक्की घरमा सरेको छ, जहाँ एट्याच बाथरुम व्यवस्था छ। पहिला भएका घरमा एट्याच बाथरुम नभएको र एउटा फ्लाटमा एउटा मात्र शौचालय हुँदा ग्राहकलाई समस्या भएकाले नयाँ ठाउँमा होटल सारेको उनले सुनाए।
अहिले भएको ठाउँ भूकम्पपछि सरेको हो। यो होटल सिंगटीकै पहिलो एट्याच बाथरुम भएको घर हो। ‘समय फेरिँदै गएपछि एट्याच बाथरुम, इन्टरनेट अनिवार्य चाहिने भएकाले पनि नयाँ ठाउँमा सरेको हुँ,’ सञ्चालक श्रेष्ठले भने, ‘जहाँ गए पनि ग्राहकको माया घटेको छैन।’
४० रुपैयाँको माछा–खाना अहिले पुग्यो ५००
२०६० मा होटल सुरु गर्दा माछा खानाको ४० रुपैयाँ लिने गरेको श्रेष्ठ सम्झिन्छन्। उनले भने, ‘त्यो बेला लोकल चामलको खाना, दाउरामा पकाएको माछाको स्वादै फरक हुन्थ्यो। अहिले त्यही खाना ५०० सम्म पुगिसक्यो।‘
पहिलाजस्तो अहिले तामाकोसी नदीमा माछासमेत पाइन छाडेको उनी बताउँछन्। खासरी तामाकोसी आयोजना निर्माणपछि बेलाबेलामा खोला थुनिने र खोल्ने गर्दा माछा हराउँदै गएको उनको बुझाइ छ। योसँगै बिजुली लगाएर माछा मार्ने क्रम बढेकाले पनि स–साना माछासमेत पर्दा समस्या भएको हुन सक्ने उनले औंल्याए।
होटलको आम्दानीले चरीकोटमा २ करोडको घर
सिंगटीमा होटल चलाएरै उनले दोलखा सदरमुकाम चरीकोटमा करिब २ करोड बराबरको पाँचतले घर बनाएका छन्। जग्गासहित त्यो घर निर्माणका लागि करिब २ करोड रुपैयाँ लागेको उनले बताए। छोराछोरीलाई पढाउन समेत सहज हुने भएकाले चरीकोटमा होटल सुरु गरिएको उनको भनाइ छ।
चोथाङमा रहेको उक्त घरमा पनि चिनारी नामकै होटल सञ्चालन गरिरहेका छन्। ७२ भूकम्पका बेला सिंगटीमा अधिकांश घर ढलेपछि उनले स्थायी बासका लागि चरीकोटमा घर बनाएका हुन्। अहिले सो होटल उनकी पत्नीले हेर्दै आएकी छन्।
सिंगटीमा लामो चिनजान भएकोले माछा खाना रुचाउनेहरु धेरैजसो उनको होटलमा पुग्छन्। त्यति मात्र हैन, विभिन्न जलविद्युत् आयोजनाका सञ्चालक एवं कर्मचारीसमेत अहिले सोही होटलमा बस्दै आएका छन्। ‘सिंगटीकै चिनजानले चरीकोटमा पनि होटल राम्रै चलेको छ’, सञ्चालक श्रेष्ठले भने।