म्याग्दी। दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्रे भएको छ।
भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्त्वपूर्ण मानिएको छ।
पर्वतको मालढुंगादेखि म्याग्दी हँुदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमि सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो।
१४ वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख धु्रवकुमार झाले बताए।
‘६ वटा खण्डमा ८५ किमि ग्राभेल र ४८ किमि सडक कालोपत्रे भएको छ’, उनले भने, ‘यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलीब्रिज निर्माण भएका छन्। ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्।’
मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमि, खन्ती–टुकुचे–मार्फा खण्डमा ९ किमि आक्सफाल्ट प्रविधिको कालोपत्रे भएको छ। मुस्ताङको घाँसा–कैकुखोला खण्डमा दुई किमि, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा ६ किमि, बेनी–गलेश्वर खण्डमा चार किमि र गलेश्वर–बेगखोला खण्डमा तीन किमि डिबिएसडी प्रविधिको कालोपत्रे भएको हो।
मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुंगा–बेनी खण्डको विभिन्न ठाउँमा तीन किमी बढी सडक ढलान भएको छ। मालढुंगा–बेनी सडकको मालढुंगा–लस्ती खण्डमा ६ किमि, बेगखोला–तिप्ल्याङ खण्डमा दुई किमि र पोखरेबगर–तातोपानी खण्डमा एक किमी कालोपत्रे तयारी भएको छ।
१३ किमि दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा ६ किमि, मार्फा–जोमसोम खण्डमा ६ किमि सडक पनि चालू आर्थिक वर्षभित्र नै कालोपत्रे गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए। कुल १० अर्ब लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब ७ अर्ब खर्च भएको जनाइएको छ।–रासस