काठमाडौं। राइड सेयरिङ कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ सहरमा उपलब्ध भएको छ। यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा विस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले जानकारी दिए।
‘स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउँदै काठमाडौं उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा हामी निकै उत्साही छौं’, बस्न्यातले भने।
कोसी प्रदेशका ९ सहर विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा विस्तार भएको छ। मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको राइड सेयरिङ सेवा सुरु भएको छ।
लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा विस्तार भइसकेको छ। यसअघि सेवा विस्तारको योजनामा समावेश नभए पनि स्थानीयको मागअनुसार सुदूरपश्चिम प्रदेशको वीरेन्द्रनगरमा समेत सेवा विस्तार गरिएको बस्न्यातले बताए। भविष्यमा अन्य नयाँ सहरमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ।
नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार भएको बताइएको छ।
नवीकरण गरिएको लाइसेन्स र बिलबुकसँगै इन्स्योरेन्स कागजातसहित पठाओमा आबद्ध हुन सकिन्छ। कागजी प्रक्रिया पूरा गरेर अनलाइनमार्फत तालिम लिएपछि राइडर बनेर सेवा दिन सकिने बस्न्यातको भनाइ छ।
हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन्। १ लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन्।
नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भए १० लाख रुपैयाँसम्म र उपचार लागि १ लाख रुपैयाँसम्मको बिमा दिने गरेको छ।
कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४सै घन्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ। सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्छन्।
एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा लिन सक्छन्। कम्पनीको एप ५० लाख बढी पटक डाउनलोड भइसकेको छ।