काठमाडौं। नयाँ वर्षको पहिलो दिन वैशाख १ देखि संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र २४सै घन्टा खुलाइँदै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरेर ठमेल र दरबारमार्ग क्षेत्रलाई आजदेखि २४सै घन्टा सञ्चालन गरिन लागेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए।
उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्न मिल्ने गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए।
‘जिल्ला सुरक्षा समितिले रात्रिकालीन समय मनोरञ्जनात्मक व्यवसायका लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहे पनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्ने गरी बजार खुला रहन्छ’, उनले भने।
ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्ने गरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीयको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्न अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ।
ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्न तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ। ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबास क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्ने गरी व्यवस्था मिलाइएको छ।
रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ। भ्गवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको उनले बताए।
ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घन्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ। यातायातका साधन अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाइन सवारी साधन व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताए। यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायत व्यवस्था मिलाइएको छ।
ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउन उक्त बजारलाई २४सै घन्टा खुला गर्न लागिएको बताए। उनले व्यवसायको पाटोबाट गर्नुपर्ने आन्तरिक तयारी पूरा भएको उल्लेख गरे।
दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४सै घन्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।
गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्यमा विभिन्न सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज अपराह्न कार्यक्रम आयोजना गरी दरबारमार्ग र ठमेल क्षेत्रलाई चौबीसै घन्टा खुला राख्ने घोषणा हुनेछ।